टीकापुर । कैलालीको भजनी नगरपालिका–९ भजनीस्थित भुरुवा गाउँमा बसोबास गर्दै आएका लोपोन्मुख राजी समुदायमा खुशियाली छाएको छ । वर्षौँदेखि खरको छानामा बस्न बाध्य भएका राजी समुदायले सुरक्षित आवास गृह पाएपछि सो समुदायमा खुसीयाली छाएको हो ।
राजी समुदायको परम्परागत मुख्य पेशा भनेको माछा मार्ने, डुङ्गा तार्ने र जंगली तथा भीर मौरीको मह काढ्ने र बेच्ने हो । उनीहरु जंगल, नदी किनारमा वर्षौदेखि बस्दै आएका छन् । पछिल्लोपटक राजी जातीको परम्परागत पेशा संकटमा पर्न थालेपछि बैकल्पिक पेशाको खोजीमा रहेको राजी समुदायका अगुवा डम्बर राजीले बताए । उनले वर्षौँदेखि खरको छानामा बस्न बाध्य भएकोमा अहिले सुरक्षित आवास पाएपछि राजी समुदायमा खुसीयाली छाएको बताए ।
सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले लोपोन्मुख राजी समुदायका लागि निर्माण गरिएका सुरक्षित आवास गृह हस्तान्तरण गरेको हो । प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत सो वडाका २५ घरधुरीका राजी परिवारलाई सुरक्षित आवास गृह हस्तान्तरण गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनीता चौधरीले सुरक्षित आवास हस्तान्तरण गरेकी हुन् ।
मन्त्रालयको आर्थिक वर्ष २०७७/७८ को स्वीकृत वार्षिक मुख्यमन्त्री एकीकृत नमुना बस्ती कार्यक्रम अन्तर्गत उक्त राजी बस्तीमा नमुना घर निर्माण गरिएका हुन् । घर निर्माण भएर हस्तान्तरण गरिएपछि मन्त्री विनीता चौधरीले अति विपन्न, पछाडि परेको समुदाय, प्राकृतिक प्रकोपबाट घर पूर्ण क्षति भएका परिवारको घर मुख्य प्राथमिकतामा राखेर निर्माण गरिएको बताइन् ।
प्रदेश सरकारले घर नभएर बढी समस्यामा परेका परिवारलाई प्राथमिकतामा राखेर घर निर्माण गरिने उनले बताइन् । राजीका लागि सुरक्षित आवासको व्यवस्था प्रदेश सरकारले गरेको बताउँदै उनले भनिन्, ‘विपन्न राजीका घर निर्माण गर्न मुख्यमन्त्री एकीकृत नमुना बस्ती निर्माण कार्यक्रमको अवधारणा प्रदेश सरकारले ल्याएको हो ।’
मन्त्री चौधरीले नमुना बस्तीसँगै स्थानीयका मागका आधारमा उद्योग सञ्चालनमा ल्याउने प्रदेश सरकारको सरकारको योजना रहेको बताइन् । कृषि मन्त्री चौधरीले भनिन्, ‘कामका लागि भारत जानु नपरोस भनेर प्रदेश सरकारले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको छ ।’ कैलाली, कञ्चनपुर, बर्दिया, बाँके, सुर्खेत र दाङ जिल्लामा मात्रै बसोबास गर्ने राजी समुदायको कूल जनसंख्या ४ हजार ४ सय ३६ रहेको तथ्यांकले देखाएको छ ।