कक्षा १० अर्थात् माध्यमिक तहको शिक्षाको अन्तिम परीक्षा (एसइई)को परीक्षाफल प्रकाशित भएको छ । प्रकाशित परीक्षाफलमा शिक्षाको गुणस्तर निकै खस्किएको देखिएको छ । विगतका वर्ष र यो वर्ष आएको परीक्षाफलको गुणस्तर तुलना गर्दा धेरै फरक पाइएको छ । नतिजामा गत सालभन्दा यो साल गुणस्तर निकै खस्किएको छ । अघिल्ला वर्षको तुलनामा परीक्षाको नतिजामा उच्च ग्रेड ल्याउने विद्यार्थीको संख्यामा अहिले निकै कमी आएको देखिएको छ । २०७५ सालमा ३ दशमलव ६ देखि ४ दशमलव शून्य जीपीए ल्याउने विद्यार्थीको संख्या ३ दशमलव ८३ प्रतिशत रहेको थियो भने यो वर्ष ३ दशमलव ६ देखि ४ दशमलव शून्य जीपीए ल्याउने विद्यार्थीको संख्या १ दशमलव ९४ प्रतिशतमा सीमित बनेको छ । यो भनेको २०७५ सालको तुलनामा ५० प्रतिशतले कमी हो । गुणस्तरहीनताको अर्को परिणाम भनेको तल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्या अत्यधिक रहन पुगेको छ । हरेक वर्ष खस्किँदै गएको शैक्षिक गुणस्तर यो वर्षसम्म आइपुग्दा निकै तल्लो स्तरमा पुगेको छ । यसले शिक्षाप्रेमी, शिक्षाविद्, शिक्षक, अभिभावक तथा विद्यार्थीको मनोविज्ञानमा गहिरो असर पु¥याएको छ । साथै, शिक्षा आर्जनमा युवाको बेवास्ता चरमचुलीमा पु¥याएको पनि छ ।
शिक्षाविद् तथा सम्बन्धित सबैले यसको पछाडिको कारण खोजी गर्न थालेका छन् । यसको खोजीका कारणमध्ये कोभिड महामारी, अनलाइन कक्षा, मनोवैज्ञानिक त्रास, सामाजिक अराजकता, सामाजिक सञ्जालको बढ्दो प्रयोग, बेरोजगारीको समस्या, पढाइमा अनियमितता तथा अनलाइन कक्षाका लागि आवश्यक कम्प्युटर तथा एनरोइड मोबाइलको कमी पनि हुन् । कतिपयले हातहातमा आधुनिक मोबाइल बोकेर यसको दुरुपयोग गरे पनि अरू धेरैको हातमा न त कम्प्युटर छ न त मोबाइल नै । यसले पनि आलाइन कक्षा सबैको पब्लिक कक्षा हुन सकेन । शिक्षा अझै पनि हुनेखानेकै हात र पोल्टामा रहिराख्यो । अर्कोतिर बेरोजगारी निकै बढ्दो छ । जमाना आधुनिक आए, तर भनाइ नेपालमा पुरानै लागू होला जस्तो हुन गयो । ‘पढे गुने कौनै काम, विदेश गए मामै माम’ जस्तो अवस्था देखिन थाल्यो । मानिसको पढाइ लेखाइमा उत्ति साह्रो ध्यान र लगाव देखिँदैन । उनीहरूको सोच र चिन्तन अध्ययन अध्यापनमा केन्द्रित भएको पनि देखिँदैन । सामाजिक अस्तव्यस्तता, सरकारको लाहुरे पारा, रेमिटेन्सले देश धानिने फूर्ति, शिक्षामा बजेट कटौती तथा युवाको ‘पढेर के नै पो हुन्छ र ?’ भन्ने मनोविज्ञानले यसमा नकारात्मक प्रभाव पारिरहेको छ ।
शिक्षकमा पनि पढाइलाई निकै आकर्षक र ध्यान केन्द्रित हुने तरिकाले पढाउने कला र सीप छैन । जाँगर पनि यत्तिको चलेको देखिँदैन । पढाउन नसक्ने शिक्षकलाई घर फिर्ता गर भन्ने आवाज पनि ननिस्केको होइन । तर, पनि शैक्षिक क्षेत्र बेढंगले चलिरहेको छ । कोरोना महामारी देखाउनका लागि कारक हुन सक्छ र यसको नकारात्मक प्रभाव पनि छ । तर, सबै कुरा कोरोना महामारीका कारण हुन गयो भन्नु दोष पन्छाउने कुरा मात्र हो । शिक्षासँग सम्बद्ध संस्था र निकायले गम्भीरतापूर्वक यसको समीक्षा गर्नु जरुरी छ । नेपालमा शिक्षामा गुणस्तर हासिल गर्नका लागि एउटा ठूलो जनजागरणको खाँचो परिरहेको छ । यसले मात्र अहिलेसम्म उब्जिएका समस्याको चिरफार गर्न सक्छ । अब शिक्षाको गुणस्तर के गरी उकास्ने भन्ने कुरामा गम्भीरताका साथ ध्यान देऊ !






