काठमाडौं । नेपाली आख्यान साहित्यमा स्थापित अग्रज साहित्यकारको सम्मान र नवप्रतिभालाई प्रोत्साहित गर्ने उद्देश्यसहित बाह्रखरी बुक्सले खुला कथा प्रतियोगिता घोषणा गरेको छ । काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै सो घोषणा गरिएको हो ।
प्रतियोगितामा प्राप्त कथामध्येबाट बाह्रखरीको आन्तरिक निर्णायक मण्डलले ५० कथा चुनेर निर्णायक समूहलाई उपलब्ध गराउने जनाइएको छ । ती कथामध्येबाट निर्णायक समूहले ‘उत्कृष्ट कथा २०७९’ पुस्तकका लागि २५ वटा छान्ने र त्यसैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा हुने जानकारी गराइएको छ ।
यस वर्ष साहित्यकार तथा समालोचक प्राडा. कुमारप्रसाद कोइरालाको संयोजकत्वमा साहित्यकार सगुना शाह र उमा सुवेदी निर्णायक समूहमा रहने पनि आयोजक पक्षले जनाएको छ । कथा लेखनमा दिइने सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस कथा प्रतियोगितामा गत वर्ष पनि ५ सयभन्दा बढी कथाकारले भाग लिएको आयोजक पक्षले जनाएको छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षमा जस्तै क्रमशः १ लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने पनि आयोजक पक्षले जनाएको छ । अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिनेछ । संग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही ५ हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ ।
प्रतियोगितामा आगामी १४ भदौसम्म ‘बाह्रखरी कथा’ पठाउन आयोजक पक्षले जनाएको छ । कथा प्रतियोगिताको नतिजा आगामी ३० असोजमा सार्वजनिक गरिने आयोजक पक्षले जनाएको छ । सोही दिन ‘उत्कृष्ट कथा–२०७९’ को लोकार्पण गरिने पनि बाह्रखरीले जनाएको छ । आधुनिक नेपाली कथा क्षेत्रमा कलम चलाउने स्थापित लेखकदेखि नवप्रतिभासम्मले ‘बाह्रखरी कथा प्रतियोगितामा’मा भाग लिन सक्ने पनि आयोजक पक्षको भनाइ छ ।
बाह्रखरी कथा प्रतियोगिताको पहिलो संस्करण ‘उत्कृष्ट कथा २०७९’ हिन्दी भाषामा अनुवाद भई प्रकाशित हुने पनि आयोजक पक्षको कथन छ । यसरी प्रथम हुने कथाकारले १ लाख, द्वितीय र तृतीय हुनेले क्रमशः ६० हजार र ४० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र तथा अवार्ड प्राप्त गरेका थिए ।






