प्रशासनमा ‘एसम्यान’ संस्कृति

संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल पार्न राजनीतिक नेतृत्वको साथसाथै प्रशासनिक नेतृत्वको पनि महत्वपूर्ण भूमिका रहन्छ । प्रशासनिक नेतृत्व राजनीतिक नेतृत्वको असल सल्लाहकारका रूपमा रहनुपर्छ । प्रशासनिक संयन्त्रमा रहेका सबै कर्मचारी निष्पक्ष र तटस्थ भएर काम गर्ने हो भने धेरै समस्या समाधान हुन सक्छ । तर, बिडम्वना हामीकहाँ प्रशासनिक संयन्त्र निष्पक्ष र तटस्थ बन्न सकेको छैन । प्रशासनिक संयन्त्रमा रहेका व्यक्तिले सही कुराको समर्थन र गलत कुराको विरोध गर्नुपर्छ । सत्यताप्रतिको प्रतिबद्धता नै निष्पक्षता हो । यसैगरी प्रशासक आफ्नो जिम्मेवारी र कामप्रति प्रतिबद्ध हुनु पनि निष्पक्षता हो । प्रशासनले कुनै वाद वा विचारको पक्षपोषण गर्नुहँुदैन । यी विषय सैद्धान्तिक भए पनि आमकर्मचारी संयन्त्रले यो सिद्धान्तलाई व्यवहारमा उतार्न सकिरहेको छैन । बरु यसको ठीक विपरीत हुने गरेको छ । अधिकांश प्रशासक सत्य कुराको विषयमा राजनीतिक नेतृत्वसँग अडान लिन सक्दैनन् । अडान लिनुको साटो प्रशासनिक नेतृत्वमा रहने उच्च पदस्थ मन्त्रीको एसम्यान बन्ने गरेका छन् ।

प्रशासक मन्त्रीको एसम्यान बन्न पुग्दा उनीहरूले आफ्नो स्वविवेकले काम गर्न सक्दैनन् । प्रशासनिक संयन्त्र आफंैले राजनीतिक हस्तक्षेपको आमन्त्रण गर्ने गरेका छन् । वास्तवमा प्रशासन स्थायी सरकार हो । त्यसैले यो व्यावसायिक हुन जरुरी छ ।

प्रशासनिक संयन्त्रमा रहेका कर्मचारीले चाहेमा धेरै हदसम्म सुधार ल्याउन सकिन्छ । जनतालाई सेवा दिने विषयमा पनि कर्मचारी संवेदनशील भएर लाग्न सके भने आमजनतामा उनीहरूकै साख बढ्न पुग्छ । त्यसैले प्रशासनिक संयन्त्रमा बसेकाले अब जिम्मेवारी वहन गर्दा राजनीतिक मान्यताको प्रभावमा पर्नुहँुदैन । त्यसैगरी राजनीतिक नेतृत्वलाई सल्लाह दिँदा वस्तुगत भएर दिनुपर्छ भने रानीतिक कार्यकारीलाई असल निर्णय गराउन उत्प्रेरित गर्नुपर्छ र त्यस्ता निर्णयको कार्यान्वयन सशक्त रूपमा गराउनुपर्छ । विगतमा प्रशासनलाई एउटा गम्भीर आरोप पनि लाग्न पुग्यो । प्रशासनिक संयन्त्रमा रहेका उच्च अधिकारी नेता जस्ता बन्न पुगेको आरोप उनीहरूमाथि छ । आगामी दिनमा त्यस्ता खाले आरोप आउन नदिन प्रशासनिक संयन्त्रमा रहेकाहरू संवेदनशील बन्न जरुरी छ ।

हामीकहाँ प्रशासनिक संयन्त्र किन तटस्थ बन्न सकेका छैन ? भन्ने’bout कहिल्यै पनि कारणको पहिचान गरी समाधानका प्रयासहरू हुन सकेनन् । विगतमा प्रशासन सुधारका लागि विभिन्न आयोगहरू बनाइयो तर ती आयोगले दिएका सुझावसहितका कैयांै प्रतिवेदन सिंहदरबारका घर्रामा थन्किएर बसे । प्रशासन सुधार समितिले दिएका प्रतिवेदनलाई कार्यान्वयनमा ल्याउन सकिएको भए हाम्रो प्रशासन एसम्यान नभएर सायद निकै शक्तिशाली र प्रभावकारी बन्न सक्थ्यो तर त्यस्तो हुन सकेन । हाम्रा राजनीतिक नेतृत्वले कहिल्यै पनि प्रशासनलाई शक्तिशाली बनाउने हिम्मत गर्न सकेनन् । उल्टो आफ्नै छत्रछायामा राख्न खोजे । ट्रेड युनियनको बढ्दो दादागिरिका कारण पनि प्रशासनिक संयन्त्र बलियो बन्न सकेन ।

विगतमा कर्मचारीलाई निर्देशित गर्नेगरी बनाइएको निजामती सेवा ऐनमा कर्मचारीको तटस्थतासम्बन्धी व्यवस्था गरिएको भए पनि कर्मचारीले ऐनमा भएअनुसार आफूहरूलाई तटस्थ रूपमा स्थापित गर्न सकेनन् । ट्रेड युनियनका नाममा कैयौं कर्मचारीले खुलेआम राजनीतिमा भाग लिएर ऐनलाई चुनौती दिँदा समेत उनीहरूमाथि कुनै प्रकारको कानुनी कारबाही हुन सकेन ।

प्रशासन यन्त्रलाई अब साँच्चै नै तटस्थ र आफ्नै स्वविकेकमा चल्ने बनाउनुपर्छ राजनीतिक नेतृत्वको एसम्यान होइन । यसैगरी सेवा प्रवाहका विविध पक्षलाई पारदर्शी र उद्देश्यमूलक बनाउनुपर्छ । कर्मचारी प्रशासनका हरेक पक्षमा मेरिटवेस प्रणाली लागू गर्नुपर्छ भने सुशासन ऐनको व्यावहारिक कार्यान्वय गर्नुपर्छ । यसैगरी राजनीति र प्रशासनबीच विश्वासको वातावरण सिर्जना गर्नुपर्छ । प्रशासनको कार्य सम्पादनको स्वतन्त्र परीक्षण गरिनुपर्छ भने आचरणसम्बन्धी कानुनको पूर्ण पारिपालना गरिनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 97 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी