चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षको अवधिमा ३७ वटा गैंडा मरेका छन् । निकुञ्जका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा ३७ वटा गैंडा विभिन्न कारणले मरेका हुन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार संरक्षित वन्यजन्तुको सूचीमा सुचीकृत दुर्लभ एकसिंगे गैंडा ३७ वटा मरेका छन् । तीमध्ये ३३ गैंडा प्राकृतिक कारणले मरेका हुन् भने दुई गैंडा चोरीसिकारीले मारेका हुन् । एउटाको कारण खुलेको छैन । एउटा गैंडा भने मानवीय लापरबाहीका कारण खाडलमा परेर मरेको हो ।
छवटा बाघ प्राकृतिक कारणले मरेका तिवारीले बताए । छवटै बाघ उपचारका क्रममा मरेको उनले जानकारी दिएका छन् । १० वटा अर्ना पनि प्राकृतिक कारणले मरेका छन् । इन्क्लोजरमा राखिएका अर्ना बाघको आक्रमणबाट मर्ने गरेका छन् ।
एक वर्षको अवधिमा निकुञ्जमा २ सय ४ वन्यजन्तु मरेका छन् । तीमध्ये प्राकृतिक कारणले मात्रै १ सय ४ वन्यजन्तु मरेका छन् । कुकुरको आक्रमणबाट ५९, तारजालीमा परेर १६, सडक दुर्घटनाबाट ११, चोरी सिकारीबाट दुई र मानवीय लापरबाहीबाट एक वन्यजन्तुको मृत्यु भएको हो ।
निकुञ्जका अनुसार ८६ वटा चित्तल मरेका हुन् । तीमध्ये कुकुरको आक्रमणबाट मात्रै ५२, प्राकृतिक कारणले १५, तारजालीमा परेर १४ र सडक दुर्घटनाबाट चार चित्तलको मृत्यु भएको निकुञ्जको तथ्यांकमा उल्लेख छ ।
जरायो र बँदेल १०/१० र सरकारी घरपालुवा दुई हात्ती मरेका छन् भने भालु, चितुवा, गौरीगाई, निलगाई, गिद्धलगायतका वन्यजन्तु एक/एकवटा मरेका छन् । घडियाल गोही चार, लगुना पाँच, मगर गोही तीन, रतुवा पाँच, अजिंगर दुईलगायत साना प्रजातिका जनावर पनि मरेका छन् ।
निकुञ्जले गत आवमा तीन गैंडासहित १९ प्रजातिका २ सय २२ वन्यजन्तुको उद्धार गरेको छ । सात बाघ, १ सय ५४ अजिंगर, १४ चित्तल, नौ मगर गोही र आठ कछुवाको उद्धार गरिएको सूचना अधिकारी तिवारीले जानकारी दिएका छन् । एक किंग कोब्रासहित सात सर्पको उद्धार गरिएको छ ।
चितुवा, जरायो, उल्लु, गिद्ध, भुँडीफोर गरुड, मयुर, बँदेल एक÷एकवटा उद्धार गरिएको तिवारीले बताए । चार लगुना, तीन निर बिरालो, दुई निलगाई, दुई चिल र दुई रतुवाको पनि उद्धार गरिएको निकुञ्जको तथ्यांक रहेको छ ।
निकुञ्जले वन्यजन्तुको चोरीसिकारीको मुद्दामा गत आवमा ५ सय ४९ जनालाई पक्राउ गरेको छ । सात जना व्यक्ति संरक्षित वन्यजन्तुको चोरीसिकारीमा संलग्न थिए । चोरीसिकारीमा संलग्न सातमध्ये छजना गैंडासिकारी रहेको तिवारीले जानकारी दिए । गैंडा, बाघ, हात्तीलगायत २७ प्रजातिका वन्यजन्तुलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ।






