एमाले निष्कर्षः गठबन्धनसँग ‘सिंगल’ भिड्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पाँच दलीय गठबन्धनविरुद्ध चुनावमा ‘सिंगल’ भिड्ने निष्कर्ष निकालेको छ । ‘एमालेबाहेक कोही पनि वामपन्थी नभएको’ टिप्पणी गर्दै ‘कोही कसैसँग गठबन्धन नहुने’समेत एमालले स्पष्ट पारेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले ‘निर्वाचन तयारीमा जुटनुपर्ने’मा जोड दिँदै एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासलमा मंगलबार बसेको स्थायी कमिटी बैठकमा ओलीले ‘गठबन्धनसँग सिंगल भिड्ने’ बताएका ह्न् ।

आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पूर्वतयारीका लागि बसेको बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भुसालले ‘वामपन्थी गठबन्धन गर्न गरेको प्रस्ताव अस्वीकार’ गर्दै ओलीले ‘एमालेबाहेक यहाँ अरू कुनै वामपन्थी पार्टी नभएको’ दाबीसमेत गरे ।

एमालेबाहेक अरू वामपन्थी पार्टी छैन : ओली

‘एमालेबाहेक यहाँ अरू कुनै वामपन्थी पार्टी छैन, छ भने उनीहरूले आफू वामपन्थी भएको पुष्टि गर्नुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘हामी एक्लै प्रतिस्पर्धामा उत्रिने हो, उम्मेदवार’bout मापदण्ड तयार गरी त्यसअनुसार तयारीमा जुट्नुपर्छ ।’

एमाले उपमहासचिव एवं प्रवक्ता पृथ्वीसुब्बा गुरुङले वाम दलसँगको तालमेल सम्भावना सकिएको बताए ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहितका वामपन्थी दलसँग निर्वाचनमा वामगठबन्धन गरेर अघि बढ्नुपर्ने सुझाव आए पनि एमालेले त्यसलाई अस्वीकार गरेको छ ।

प्रवक्ता गुरुङले ‘चुनावी तालमेलका लागि एमालेको ढोका खुला नै रहेको’ बताउँदै थपे, ‘सुशासन समृद्धि अभियानमा लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको एजेन्डा मिल्नेसँग तालमेल हुन्छ । तर, माओवादी र अन्य वाम दलसँगको तालमेल सम्भावना सकिएको छ ।’

‘कोहीसँग मिल्ने जाने वा कसैलाई भित्र्याउनेभन्दा पनि एक्लै चुनाव सामना गर्नुपर्ने चुनौती एमालेसामु रहेको गुरुङले बताए । बाँकी केन्द्रीय कमिटी बैठकबाट विभिन्न निर्णय हुने उनले जानकारी दिए ।

बैठकमा स्थायी कमिटीका सदस्य रघुजी पन्त, खगराज अधिकारीसहितका नेताले ‘निर्वाचनमा विचार मिल्ने शक्तिसँग तालमेलको विकल्पमा खुला रहनुपर्ने’ धारणा राखे । वामपन्थी पार्टीसँग तत्काल वामगठबन्धन गर्न सम्भव नभएको अवस्थामा ‘अब वामपन्थी पार्टीमा रहेका नेता–कार्यकर्तालाई एमालेमा आकर्षित गर्ने किसिमले अघि बढ्नुपर्ने’ उनीहरूको जोड छ ।

बैठकमा नवप्रवेशीलाई भूमिका दिनेगरी कार्यविधि बनाउने विषयका साथै पार्टीले गर्ने उम्मेदवारी चयन मापदण्ड विषयमा समेत छलफल भएको छ ।

एमालेले हालका प्रतिनिधिसभा तथा प्रदेशसभा उम्मेदवारलाई त्यही क्षेत्रबाट निरन्तरता दिने वा नदिने, राष्ट्रिय सभामा रहेकाले चाहना गरे प्रतिनिधिसभामा टिकट दिने वा नदिने र स्थानीय तहमा उम्मेदवारी दिएकालाई प्रतिनिधिसभा वा प्रदेशसभाको टिकट दिने वा नदिने विषयमा स्थायी कमिटी सदस्यसँग राय माग गरिएको प्रवक्ता गुरुङले जानकारी दिए ।

उम्मेदवार चयन, चुनावी रणनीति र चुनावकेन्द्रित अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनलगायत विषयमा केन्द्रित भएर केन्द्रीय कमिटी बैठकमा छलफल हुने भएको छ । ९ भदौमा पोलिटब्युरो, १० र ११ मा केन्द्रीय कमिटी बैठक एमालेले काठमाडौंमा बोलाएको छ ।

त्यस्तै, १२ भदौमा केन्द्रीय निर्वाचन परिचालन कमिटी बैठक बसेर निर्वाचनका ठोस योजनासहित सिंगो पार्टीपंक्ति परिचालन गर्ने योजनामा एमाले रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजाल बताउँछन् ।

बैठकले अध्यक्ष ओलीको संयोजकत्वमा गठित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्र मस्यौदा कार्यदल र निर्वाचन परिचालन कमिटी गठन निर्णयका साथै सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गरेको छ ।

बैठकमा प्रदेश इन्चार्जहरू प्रदेश–१ का देवराज घिमिरे, मधेस प्रदेशका रघुवीर महासेठ, बाग्मती प्रदेशका काशीनाथ अधिकारी, लुम्बिनी प्रदेशका छविलाल विश्वकर्मा, कर्णाली प्रदेशका यमलाल कँडेल र सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले आआफ्नो प्रदेशको पछिल्लो राजनीतिक तथा सांगठनिक अवस्था’bout जानकारी गराएका छन् ।

बैठकमा उपाध्यक्ष सुवास नेम्वाङसहित स्थायी कमिटीका सदस्यहरू प्रभु साह, कर्ण थापा, गुरु बराल, मणिचन्द्र थापा, शेरबहादुर तामाङ, शेरधन राई, गोरखबहादुर बोगटी हिक्मत कार्कीलगायतकाले आगामी निर्वाचनकेन्द्रित सुझाव राखेका छन् ।

यसैगरी, एमालेले हालै एमाले प्रवेश गर्ने चार जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ । माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका धर्मदत्त देवकोटा र जीवन गौतम, झापाका अमृतलाल राजवंशी र कपिलवस्तुका बृजेश गुप्तालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन आज र भोलि मतदाता परिचयपत्र वितरण गर्ने