एउटा चौर पार्कमा रूपान्तरित हुने काम झन्डै ९५ प्रतिशत सकिएको छ भने अर्को ८ करोड खर्च गरेर स्विमिङ पुललगायतका सुविधासहितको पार्कको निर्माण भइरहेको छ । बालबालिका वृद्धवृद्धा खेल्न, टहल्न, आवश्यकताबमोजिम खुला ठाउँमा जान बस्तीको बिचबिचमा अरू पनि खाली ठाउँ छुट्याइएको देखिन्छ । वरिपरि वर्षौंदेखि चलिरहेका साना, ठूला स्कुल, कलेजहरू छन् ।
देशकै पहिलोपटक प्लानिङ गरेर बसाइएको वस्ती हो–काठमाडौंमा रहेको नयाँ वस्ती । बौद्ध, गुहेश्वरी र कुमारीगालको बिचमा, एयरपोर्ट नजिकै रहेको यो वस्ती धेरैतिरबाट हेर्दा मिलेको देखिन्छ । सफा पिच गरेका चौडा सडकहरू, घरको चारैतिरबाट ठूलो बाटोले छोएको, सडककै कारण घरवरिपरि सूर्य उदाएदेखि नअस्ताउन्जेल उज्यालो भइरहने, वस्तीकै बिचमा दुई ठूला चौरहरू निर्माणाधीनसमेत रहेका छन् ।
नजिकै सय रुपैयाँमा उपचार प्रदान गर्दै आइरहेको समता अस्पताल तथा सय रुपैयाँमा नै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको समता स्कुल पनि छ । थोरै दूरीमा वस्तीको तीनतिर बौद्ध स्तुपा, गोठाटारको अति नै रमणीय कृष्ण मन्दिर तथा पशुपतिनाथ मन्दिर रहेका छन् । घरभित्रबाटै ठूला अन्तर्राष्ट्रिय जहाजहरू उडेको अनौठो दृश्यसमेत देखिन्छ । तर, पार्ककै नजिक ५÷६ जना भएको परिवार सडक छेउमा अर्कैले बनाएको टिनको छानामुनि बाहिरपट्टि रात बिताइरहेका छन् ।
झन्डै एक वर्षदेखि उनीहरू त्यो सडकमा रात बिताइरहेका छन् । पुसमाघको रातको चिसोमा समेत उनीहरूले कहिले टिनको छानामुनि, कहिले खुला आकासमुनि नै सुतेर रात कटाए । केही दिनपहिले उनीहरूमध्येकै एक जनाले दुईतीन दिन थला परेर काम्दै त्यहीँ प्राण त्याग गरे । कसैले उनलाई अस्पताल लग्नेसम्म कोसिस गरेनन् । चारपाँच तले घरको छतबाट चियाको चुस्की, लन्चको मिठो स्वादसँगै नजिककाहरूले उनीहरूको क्रियाकलाप नियालिरहेका हुन्छन् । तर, उनीहरूका लागि कसैले केही पहल गरेजस्तो देखिँदैन ।
उनीहरूले बाहिरै खुला आकासमुनि खाना पकाइरहेका छन् । हामीहरूको जस्तै उनीहरूको पनि घरबाट उत्पन्न फोहोर हुन्छ । तर, सडकवरिपरि फाल्दा जताततै फोहोर देखिन्छ । वर्षात्को समयमा खुला ठाउँमा मुसा, भ्यागुता, सर्पलगायत झुसिल्किरा, शंखेकिराहरू, लामखुट्टेको पनि उत्तिकै बिगबिगी रहेको छ । उनीहरू बस्नेवरिपरि जताततै फाहोर गन्हाउँछ । बाटो हिँड्नेलाई पनि अप्ठ्यारो हुन्छ । लामो समयसम्म काठमाडौंको फोहोर उठ्न नसकेर सडकमा जताततै फोहोर हुँदा बिरामी पर्नसक्ने सम्भावना पनि बढ्दै गएको छ । उनीहरूसँग वृद्ध आँखा नदेख्ने आमा पनि हुनुहुन्छ । एक जना अर्की अधबैंसे महिला सायद ती आमाकी बुहारी हुनुहुन्छ, ती पनि सँगै बस्ने गर्नुहुन्छ । सडकछेउमा बसेर उनले दिन कटाइराख्नु भएको छ ।
मेयर बालेन साहले काठमाडौंमा भिख माग्न नपाइने, गरिब, आफन्त नभएका वृद्धवृद्धाको हेरचाह सरकारले गर्ने जनाएका छन्
त्यो सटर भाडामा गएपछि उनलाई त्यहाँबाट हटाइयो । नजिकैको बन्दै गरेको घरको चिसो भुइँमा सुत्न उनीहरू बाध्य भएका छन् । आजभोलिको रातदिनै पानी परिरहेको बेला उनीहरू पानीले भिजेको चिसो भुइँमा सुतिरहेका छन् । उनीहरूसँग भएका तीनचार जना पुरुषहरू जहिले पनि रक्सीले टन्न भएका मात्र देखिन्छन् । तिनीहरूमध्ये एक जना वृद्ध पुरुष पनि छन् । बिहान उठ्दा पनि उनीहरू लरखराइरहेका हुन्छन् ।
भाडा तिरेर बस्न नसक्ने उनीहरूसँग चुरोट तान्न र रक्सी खान भने पैसा पुगिरहेको छ । सायद, उनीहरूलाई रक्सी र चुरोटको गहिरो लत लागिसकेको छ । खानपिनभन्दा पनि कुलतमा फस्दा उनीहरूको स्वास्थ्य अवस्था राम्रो देखिँदैन । नजिकै स्कुल पढ्न जाने विद्यार्थीहरूलाई दिनदिनै स्कुलमा अप्ठ्यारोमा परेकाहरूको मद्दत गर्नुपर्छ भनेर सिकाइन्छ ।
तर, बूढी आमा त्यसरी कहिले एक छाक त कहिले भोकै बसेर दिन काटिरहेको देख्दा कलिला मनहरूमा प्रश्न उठछ होला, ‘किन कसैले पनि यिनीहरूलाई हेर्दैन ?’ किन सरकारले यस्ता गरिबहरूलाई देख्दैन ? ती स्कुल जाने मुनाहरूले किन उनीहरूलाई कतै सुत्ने वासको व्यवस्था गर्दैन भनेर सोच्लान् । केही महिनाअगाडि पुलिसहरू पनि आएर केरकार गरेका थिए । सायद छिट्टै उनीहरूको समस्या समाधान हुन्छ जस्तो लागेको थियो ।
तर, अहिलेसम्म पनि पानीमा भिज्दै दिनभरि ती आँखा नदेख्ने आमाले कसैलाई कुरेर बसिरहेको देख्दा मन कुडिन्छ । यसभन्दा अगाडिको सरकारले सडक बालबालिका, पशुपतिमा मागेर दिन कटाउने, वृद्धवृद्धालाई सडकबाट हटाएर उचित गासवासको व्यवस्था गर्ने अभियान चलाएको थियो । त्यसपछि धेरै हदसम्म सडक बालबालिका, वृद्धवृद्धाको उचित व्यवस्थापन भएको थियो । सडकमा बालबालिका, वृद्धवृद्धाको संख्या उल्लेख्य रूपमा घटेको पनि थियो ।
काठमाडौंका मेयर बालेन साहले पनि अब काठमाडौंमा भिख माग्न नपाइने, गरिब, आफन्त नभएका वृद्धवृद्धाको हेरचाह सरकारले गर्ने जनाएका छन् । केही दिनअगाडि मात्रै प्रहरीको सक्रियतामा काठमाडौंका सडकबाट ५५ जना सडक बालबालिकाको उद्धार गरिएको थियो ।
देशका जुनसुकै ठाउँमा भए पनि सडकमा दिन बिताउने, मागी हिँड्ने बालबालिका वा वृद्धवृद्धाको उद्धार गर्नु स्थानीय सरकारको दायित्वभित्र पर्छ । बर्सेनि स्थानीय सरकारले विभिन्न शीर्षकमा करोडौंको बजेट छुट्याउने गर्छ । त्यही बजेटमध्ये केही प्रतिशत मानव हितमा प्रयोग गर्न हिचकिचाउनु हुँदैन । विभिन्न परिस्थिति तथा समस्यासँग जुभ्mदै मानिस सडकमा आइपुगेको हुन्छ । सकेसम्म सडकमा मागेर बस्ने कसैको पनि इच्छा हुँदैन ।
राजधानीभित्रै नसकिए पनि राजधानीबाहिर सहर पस्नेहरूका जमिन बाँझो छाडेका छन् । सानो टिनको टहरा बनाएर घरबार नहुने सुकुमबासीहरूलाई व्यवस्थित गर्न सकिन्छ । पानीमा भिज्दै हात फैलाई मागेर खानुभन्दा आप्mनो घरभित्र बसेर भान्छामा पकाई खाँदा उनीहरूलाई पनि आनन्द आउला । सरकारले वृद्धवृदाकै लागि वृद्धभत्तालगायत औषधि उपचारमा बर्सेनि अरबौं रकम खर्च गरिरहेको छ ।
हजारौं सुकुमबासीका लागि साना टहरा बनाइदिएर खेतीपातीको काममा लगाएमा खानपिनकै लागि अरूमाथि भर पर्नुपर्ने थिएन
तर पनि केही वृद्धवृद्धाहरूले त्यसको सही सदुपयोग गर्नै सकिरहेको देखिँदैन । हालै सन्तानले आप्mना वृद्ध आमाबुबाका लागि निश्चित रकम छुट्याउनुपर्ने विधेयक ल्याएको छ । तर, यो परिवारमा हेर्दा युवा सन्तानले पनि वृद्ध भत्ताबाट एक छाक खान पाएको जस्तो देखिन्छ । स्कुलकै छेउमा, मनोरञ्जनका लागि घुम्न आउने चौरको छेउमा, समता अस्पतालको नजिकै कसैको उपचार नपाई मृत्यु भइरहँदा, कुनै परिवार अलपत्र अवस्थामा जीवन निर्वाह गरिरहँदा सम्बन्धित पक्षको ध्यान जानु जरुरी देखिन्छ ।
सिंगो, सानो देशलाई सातवटा प्रदेशमा छुट्याएर छुट्टाछुट्टै स्थानीय तहमा समेत विभाजन गरिएको छ । आप्mनो क्षेत्रमा केकस्ता गतिविधि भइरहेका छन्, के कतिले खान पाइरहेका छन्, के कति भोकै छन्, बिरामीलाई उपचारको व्यवस्था छ कि छैन भनेर जानकारी राख्ने स्थानीय सरकारको कामभित्र पर्नुपर्ने हो ।
तर, धेरैजसो ठाउँमा त्यस्तो देखिँदैन । स्थानीयस्तरबाट चुनिएर आएका जनप्रतिनिधिहरू के गर्दै छन्, कहाँ छन् भन्नेसमेत पत्तो हुँदैन । वृद्धाश्रम, देशमा मानव अधिकारवादी, नागरिक समाजजस्ता मानव हकहितका लागि बोल्ने विभिन्न संघसंस्थासमेत खुलेका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पनि क्रियाशील नै छ । तर, लामो समयदेखि यस्ता संघसंस्थाको उपस्थिति न्यून देखिन्छ । लामो समयदेखि सडकछेउमा दिन बिताउने श्रीमान्, श्रीमतीसहित ६÷७ जनाको परिवारमा कसैका पनि आँखा परेका देखिँदैन ।
यस्ता सुकुमबासीहरूका लागि राज्यले नै उचित व्यवस्थापन गर्नुपर्ने हो । काठमाडौंको छेउछाउका जिल्लामा पनि वर्षौंदेखि जमिन बाँझा छोडिएका छन् । अन्य काम गरेर खान नसक्ने तर काम गर्ने उमेर भएका यस्ता हजारौं सुकुमबासीका लागि साना टहरा बनाइदिएर खेतीपातीको काममा लगाउँदा खानपिनकै लागि अरूमाथि भर पर्नुपर्ने थिएन । खुर्सानी पनि अन्य देशबाट आयात गर्नुपर्ने बाध्यता हट्ने थियो । काममा व्यस्त हँुदा घरबार नभएर सडकमा दिन कटाउनेहरूलाई रक्सी, चुरोटको कुलतबाट पनि टाढा रहन मद्दत पुग्ने थियो ।






