त्रिवि ३ सय दिनदेखि बन्धक

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा लामो समयदेखि तालाबन्दी गर्दा विश्वविद्यालय बन्धक बन्न पुगेको छ ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा विश्वविद्यालयका कुलपति हुन् । उनीनिकटको विद्यार्थी भ्रातृ संगठन नेविसंघले भने महिनौं दिनसम्म त्रिविमा तालाबन्दी गरेर बन्धक बनाइरहेको छ तर उनी भने मौनता साँधेर बसिरहेका छन् । नेविसंघसहित विभिन्न संघसंगठनले लगाएको तालाबन्दी जोड्ने हो भने विश्वविद्यालयमा ३ सय दिन तालाबन्दी भइसकेको छ । तालाबन्दी कहिले खुल्ने भन्ने अझै ठेगान छैन ।

मुख्य गरेर नेविसंघले भ्रष्टाचार, अनियमितताजस्ता मुद्दा उठाएर लामो समयदेखि त्रिविलाई बन्धक बनाएर प्रशासनिकलगायतका काममा अवरोध गर्दै आए पनि कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवा र सहकुलपतिसमेत रहेका शिक्षामन्त्री देवेन्द्र पौडेलले समस्या हल गर्न तत्परता देखाएको पाइएको छैन ।

विश्वविद्यालयमा ३ सय दिनसम्म तालाबन्दी हुँदासमेत कुलपति तथा सहकुलपतिको ध्यान नपुग्नु र समस्या समाधानका लागि आवश्यक पहल नगरेको भन्दै प्रधानमन्त्री र शिक्षामन्त्रीको आलोचनासमेत हुन थालेको छ । नेविसंघले आफ्ना माग सम्बोधनका लागि फरक तरिकाले संघर्षका कार्यक्रम गरेर जाने विकल्प हुँदाहुँदै प्रशासनिकलगायतका काम ठप्प हुनेगरी तालाबन्दी गर्दै आइरहेको हो ।

– कुलपति रहेका प्रधानमन्त्रीलाई छैन वास्ता

– नेविसंघद्वारा महिनौंदेखि विश्वविद्यायमा तालाबन्दी

– ताला खोल्ने विषयमा त्रिवि परिसरमै झडप

– त्रिवि परिसर रणमैदान

नेविसंघको तालाबन्दीको विषयलाई लिएर आइतबार विश्वविद्यालय परिसरमा झडपका हँुदा त्रिवि परिसर रणमैदानजस्तै बन्न पुग्यो । नेकपा एमालेनिकट अनेरास्ववियुले नेविसंघले लगाएको तालाबन्दी तोडेको थियो । त्यसक्रममा दुई विद्यार्थी संगठनबीच झडप भएको होे । झडपका क्रममा दुवै पक्षका केही विद्यार्थी नेता कार्यकर्ता घाइतेसमेत भएका छन् । ताला खोल्ने विषयमा यसअघि पनि नेविसंघ र अन्य संघ संगठनबीच झडप हुँदै आएको छ । अनेरास्ववियुले तोडेको ताला नेविसंघले पुनः लगाएको छ ।

नेविसंघले उपकुलपति, रजिस्ट्रार र त्रिवि लेखा शाखामा तालाबन्दी गरेपछि शुक्रबार त्रिवि कार्यकारी परिषद्को बैठक जमलस्थित एल्लो प्यागोडा होटलमा बसेको थियो । सोही बैठकमा नेविसंघको एक समूहले कार्यकारी परिषद्का विगतका निर्णयसहितको पुस्तिका र अन्य महत्वपूर्ण कागजपत्र र फाइल कब्जासमेत गरेको थियो । सो समूहले कब्जा गरेको कागजात शिक्षामन्त्रीलाई बुझाएको जनाएको छ ।

त्रिविले आइतबार पत्रकार सम्मेलन गरेर उपकुलपतिको कार्यालयमा तोडफोड गरेको, उपकुलपतिको कार्यालय करिब डेढ महिना तालाबन्दी गरेको, वरिष्ठताका आधारमा समाजशास्त्र केन्द्रीय विभागमा विभागीय प्रमुख नियुक्त नगरेको विरोधमा दुई महिनाभन्दा बढी तालाबन्दी गरेको र सोही ताला खोल्नुपर्छ भनेको आधारमा उपप्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुनेगरी कुटपिट गरेको जनाएको छ ।

त्रिविले अन्य निकायमा पनि तालाबन्दी गरिनुका साथै गएको ७ माघदेखि लगातार पाँच महिनाभन्दा बढी समय तालाबन्दी गरेको र अन्य विभिन्न समूहले गरेको तालाबन्दी जोड्दा विश्वविद्यालयमा ३ सय दिनभन्दा बढी समय तालाबन्दी भइसकेको जनाएको छ ।

‘यस्तो अवस्थामा विश्वविद्यालयमा बसेर काम गर्ने वातावरण छैन, शिक्षक कर्मचारीमा एक किसिमको त्रास छ,’ प्रेस नोटमा भनिएको छ ।

नेविसंघले प्रश्नपत्र हुबहु छाप्ने दोषीलाई कारबाही हुनुपर्ने माग राखेर दोस्रो चरणको आन्दोलनअन्तर्गत पुनः विश्वविद्यालयमा तालाबन्दी गरेको हो । विश्वविद्यालयले भने प्रश्नपत्रमा हुबहु गर्नेलाई तीन वर्षसम्म परीक्षा र पठनपाठनमा सहभागी हुन नपाउने कारबाही गरिसकेको जनाएको छ । विश्वविद्यालयले दोषीको नाम सार्वजनिक गर्दा सुरक्षामा खतरा हुने भन्दै नाम गोप्य राखेको छ । नेविसंघ भने यसै विषयलाई आक्रमक बनेको पाइएको छ ।

नेविसंघले आतंक सिर्जना ग-यो : उपकुलपति
त्रिभुवन विश्वविद्यालयले नेविसंघले विश्व विद्यालयमा आतंक सिर्जना गरेको भन्दै शान्ति सुरक्षाको माग गरेको छ । विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाले आइतबार पत्रकार सम्मेलन गरेर शान्ति सुरक्षाको अभावमा विश्वविद्यालय सञ्चालन गर्न कठिनाइ भएको भन्दै विश्वविद्यालका पदाधिकारी, प्राध्यापक र कर्मचारीलाई भरपर्दो सुरक्षाको प्रबन्ध गर्न माग गरेका छन् ।

‘नेविसंघको नाममा एक जत्थाले विश्वविद्यालयमा तालाबन्दी गर्ने, धम्की दिने, प्राध्यापकमाथि कुटपिट गर्ने, तोडफोड गरेर आतंक सिर्जना गर्ने गर्दै आएको छ,’ उपकुलपति बाँस्कोटाले भने, ‘आजदेखि हाम्रो शान्तिपूर्ण आन्दोलन अशान्तिपूर्ण हुँदै छ विश्वविद्यालय नआउनू भनेर एसएमएस आउँछ, कुलपतिले विश्वविद्यालयमा काम गर्नू भनेर नियुक्ति दिनुभएको हो, अब हामी कहाँ जाने ?’

पत्रकार सम्मेलनमा सहभागी प्राध्यापक कर्मचारीले नेविसंघका कारण विश्वविद्यालय दर्दनाक अवस्थामा पुगेको उल्लेख गरेका छन् । ‘तालाबन्दी हुन्छ, त्यसको विरुद्ध बोल्यो भने ज्यान नै जोखिममा पर्छ,’ कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका डिन भार्गभ धितालले भने । एक महिनादेखि रजिस्ट्रार, व्यवस्थापन र मानविकी डिन कार्यालयमा नेविसंघको तालाबन्दी कायमै रहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 336 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं र भरतपुर महानगरपालिकामा बिहान ८ बजेदेखि मतगणना