काठमाडाैं । पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)को नवनिर्वाचित कार्यसमितिले शपथ तथा पदभार ग्रहण गरेका छन् ।
गत साउन ३० गते सम्पन्न टानको ४४औं वार्षिक साधारण सभा तथा निर्वाचनबाट निर्वाचित कार्यसमितिलाई निवर्तमान कार्यसमितिद्वारा एक कार्यक्रमबीच नेतृत्व हस्तान्तरण गरेका हुन् ।
बस्नेतसहितका पत्रकार सम्मानित
टानको निवर्तमान अध्यक्ष खुमबहादुर सुवेदीले नवनिर्वाचित अध्यक्ष निलहरि बास्तोलालाई कार्यालयको चाबी बुझाउँदै जिम्मेवारी हस्तान्तरण गरे । नवनिर्वाचित अध्यक्ष बास्तोलालाई कार्यकालको सफलताको शुभकामना दिँदै सुवेदीले टानले आगामी दिनमा गर्ने गतिविधिमा आफ्नो निरन्तर सहभागिता रहने बताए ।
बास्तोला आफ्नो प्यानलसहित निर्वाचित भएका थिए । विगत २६ वर्षदेखि नेपालको पर्वतीय पर्यटनमा समर्पित बास्तोला सन् २००२ मा टानको साधारण सदस्य बनेका थिए । सोलुखुम्बु घर भएका उनले पर्वतीय पर्यटनको विस्तारका लागि विभिन्न समितिमा बसेर काम गरेका छन् । बास्तोला सन् २०१३–२०१५ मा टानको कार्यसमिति सदस्य तथा सन् २०१७–२०१९ मा द्वितीय उपाध्यक्षमा निर्वाचित भएका थिए ।
यस्तै, टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रतीत पण्डित, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, कोषाध्यक्षमा पुरुषोत्तम तिमल्सिना, सहकोषाध्यक्षमा छिरिङ दोर्जे शेर्पा र सचिवमा होमनाथ खड्का निर्वाचित भएका थिए । सो कार्यक्रममा राष्ट्रिय आर्थिक मासिकका प्रकाशक सम्पादक पुस्कर बस्नेतलगायतका पत्रकार तथा अन्य समाजसेवीलाई सम्मान गरिएको थियो ।






