काठमाडौं । उपविजेताको छवि बनाएको नेपालले मंगलबारदेखि घरेलु मैदान दशरथ रंगशालामा सुरु हुने महिला साफ च्याम्पियनसिपका छैटौं संस्करणमा नयाँ कप्तान एन्जिा तुम्बाप्पो सुब्बाको कप्तानीमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दै छ ।
नियमित कप्तान रेनुका नगरकोटे घाइते भएपछि कप्तानबिनै नेपालले ७ साताको प्रशिक्षणपछि प्रतियोगिताको एक दिनअघि मात्रै नयाँ कप्तानका रूपमा गोलरक्षक एन्जिलालाई घोषणा गरेको हो ।
टोलीका प्रशिक्षककुमार थापाले टोलीमा रहेका सबै २३ खेलाडी नै कप्तान रहे पनि अनुभवको आधारमा एन्जिलालाई कप्तानको तथा अमृता जैशीलाई उपकप्तानको जिम्मेवारी दिइएको बताए । नेपाल र भुटानबीचको खेल नेपाली समयअनुसार साँझ ५ः३० बजे त्रिपुरेश्वरीस्थित दशरथ रंगशालामा हुनेछ ।
नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले विगतलाई बिर्सेर राम्रो गर्ने लक्ष्य रहेको बताए । ‘सात हप्ताको तयारीले टिम राम्रो अवस्थामा छ । सिनियर र जुनियर खेलाडीको मिश्रण छ । हामीसँग पहिलोपटक तीन जना राष्ट्रिय टिममा परेका छन् । तीन जनाले पुनरागमन गरेका छन् ।’ खेल अघि प्रशिक्षक थापाले भने, ‘मैले तयारीका लागि ७÷८ हप्ता पाए । म खुसी छु । पहिलेको नतिजा हेरेर अनुमान गर्न सकिँदैन । च्याम्पियन को बन्छ ? भनेर हामी पनि अनुमान गर्न सक्दैनौं । आपूmले दोस्रोपटक पाएको मौकालाई खेर जान नदिने उनले थपे ।
‘सिनियर खेलाडीले साफपछि सन्यास लिन्छन् होला । उनीहरूका लागि जित्नु छ । हामीले कसैलाई कमजोर आँकेका छैनौं । पहिला लिग चरणमा केन्द्रित रहन्छौं त्यसपछि नकआउटमा ध्यान दिनेछौं,’ प्रशिक्षक थापाले भने, ‘तयारीको हिसाबमा हामी तयार छौं । रंगशालामा पहिलोपटक आधिकारिक च्याम्पियनसिप खेल्दा सबै खेलाडीको मानसिकतालाई सामान्य गराउनेछौं । भुटानलाई ससम्मानपूर्वक च्यालेन्ज दिनेछौं ।’
गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले आपूmलाई विश्वास गरेर कप्तानको जिम्मेवारी दिएकोमा बधाई दिँदै त्यो विश्वासलाई गुम्न नदिने बताइन् । ‘अन्तिमसम्म मैदानमा लड्ने छौं । हामी गोर्खाली हौं । पहिलोपटक उपाधि जित्न सबै प्रयास गर्नेछौं । ‘कप्तान हुने इच्छा सबैमा हुन्छ । मलाई पनि आफ्नो कप्तानीमा उपाधि जित्ने मन छ । योपटक मलाई टिमप्रति विश्वास छ । अहिले बोल्नुभन्दा मैदानमा देखाउनेछौं,’ एन्जिलाले थपिन् ।
जहिल्यै भारत तगारो
इतिहास हेर्दा नेपाललाई च्याम्पियन बन्न भारतलाई हराउनुपर्नेहुन्छ । सेमिफाइनल होस् वा फाइनल जहाँ भेटे पनि भारतलाई हराउन नसक्दासम्म च्याम्पियन बन्ने सम्भावना छैन । साफको पाँच संस्करण सकिँदा नेपाल सबै संस्करणमा भारतसँग मात्रै पराजित भएको छ ।
जसमा चौथो साफमा सेमिफाइनलबाहेक सबै चार संस्करणमा नेपाल फाइनलमा भारतसँग नै पराजित भएको इतिहास छ । यसमध्ये सन् २०१४ को संस्करणमा नेपाल भारतसँग ६–० ले पराजित भएको थियो । साफको इतिहासमै यो नेपालको सबैभन्दा खराब प्रदर्शन थियो । पहिलो संस्करणमा नेपाल १–० ले पराजित भएको थियो । दोस्रोमा ३–१, चौथो र पाँचांैमा समान ३–१ ले पराजित भएको थियो ।
महिला साफ च्याम्पियनसिपको पाँच संस्करण सकिँदा नेपालले हालसम्म २३ खेल खेलेको छ । पाँच खेलमा भारतसँग मात्रै हार बेहोर्दा १८ खेलमा जित निकाल्दा गोलको वर्षात नै गरेको छ । यही २३ खेलबाट नेपालले गोलको शतक पूरा गरेको छ । नेपालले १०२ गोल गर्दा १७ गोल खाएको छ । १०२ गोलमा २ आत्मघाती पनि समावेश छ । नेपालले खाएको १७ गोलमध्ये १६ गोल भारतले तथा १ गोल अफगानिस्तानले गरेको छ । महिला साफमा हालसम्म २१ खेलाडीले गोल गरेका छन् ।
बिरानो रंगशाला
घरेलु मैदानमा खेल्नुको मजा अर्के हुन्छ । तर, नेपाली महिला टोलीका केही खेलाडीले पहिलोपटक दशरथ रंगशालामा खेल्दै छ । नेपाली महिला टोलीले घरेलु मैदान एन्फा कम्प्लेक्स, विराटनगर र पोखरामा प्रतियोगिता खेले पनि लामो समयपछि दशरथ रंगशालामा पहिलोपटक आधिकारिक प्रतियोगिता खेल्दै छ । नेपालले गत वर्ष बंगलादेशसँग रंगशालामा २ मैत्रीपूर्ण खेल खेलेको थियो ।
प्रशिक्षक थापाकै भनाइलाई आधार मान्ने हो भने पनि नेपालले भोलि खेल्दा घरेलु मैदानमै डेब्यु गर्ने खेलाडीको संख्या ठूलो हुन आउँछ । मैत्रीपूर्ण खेल खेले पनि नेपाली टोलीले घरेलु मैदानमा प्रतियोगिता भने खेलेको छैन । ‘घरेलु मैदान भने पनि तीनवटा सेसन मात्र दशरथ रंगशालामा भएको छ । बंगलादेशसँगको मैत्रीपूर्ण खेलयता रंगशालामा खेलेको छैन । टोलीलाई रंगशाला नौलो हुनेछ । तर, त्यस्तो आभास हामी गराउनेछैनौं,’ प्रशिक्षक थापाले भने ।
पाकिस्तानलाई स्वागत
यही महिला साफ च्याम्पियनसिपबाट पाकिस्तानले आठ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा पुनरागमन गर्दै छ । खेलअघिको पत्रकार सम्मेलनमा अन्य देशका प्रशिक्षकले पाकिस्तानलाई फुटबलमा स्वागत गरे । पाकिस्तानका मुख्य प्रशिक्षक आदिल रिज्कले छोटो समयमा टोली तयार गर्नु चुनौती रहेको र आठ वर्षपछि फुटबलमा फर्कंदा खुसी लागेको बताए । कप्तान मारिया खानले आठ वर्षपछिको पहिलो खेलको व्यग्र प्रतीक्षामा रहेको बताइन् । ‘यो टोली प्रतिस्पर्धात्मक छ ।
हामीसँग यूएई र बेलायतमा खेलिरहेका खेलाडी छन् । पहिलो खेल भारतसँग छ । भारत एउटा प्रतिस्पर्धी हो, सबै जना उत्साहित छन् ।’ पाकिस्तान प्रतिबन्धबाट फुकुवा भएपछि दोहोरो नागरिकता भएका खेलाडीलाई पनि राष्ट्रिय टिमबाट खेल्न दिने नियम लागू ग¥यो । जसका कारण यूएई, इंग्ल्यान्डलगायतका देशका लिगमा खेलिरहेका खेलाडी अहिले पाकिस्तानी टोलीमा छन् । ‘खेलाडी भेला गरेर टिम बनाउन चुनौती पूर्ण थियो । फेडेरेसनले यसमा राम्ररी समन्वय ग¥यो । त्यसैले छोटो समयमै यति धेरै काम हुन सक्यो,’ पाकिस्तानी टोलीका प्रशिक्षक अदिल रिजकीले बताए ।
भारत प्रतिबन्ध बिर्सन चाहन्छ
भारतीय टोलीका प्रशिक्षक सुरेन क्षत्रीले फिफाले लगाएको प्रतिबन्ध’bout बिर्सन चाहेको बताए । आफूहरू प्रतियोगिताका लागि तयार भएको भन्दै उनले भने, ‘हामी यहाँ छौं, खुसी छौं । भारतीय टोलीका केही सदस्यबाहिर लिगमै छन् । यसले टिमको प्रदर्शनलाई केही प्रभाव पार्ने भए पनि आफूहरू तयारी रहेको उनले बताए । महिला साफ च्याम्पियनसिपको सबै संस्करणको भारत विजेता हो ।
हालसम्म एउटा खेलमा बराबरीबाहेक बाँकी सबै खेलमा भारतले जित निकालेको छ । च्याम्पियनको उपाधिलाई कायम गरिरहन कठिन छ तर हामी तयार छौं,’ उनले भने । त्यस्तै, भारतीय टोलीकी कप्तान असलता देवीले छोटो तयारी भए पनि आफूहरू तयार भएको बताइन् । ‘जे भयो (प्रतिबन्ध) बिर्सिएर अघि बढेका छौं । हामी तयार छौं,’ उनले भनिन्, ‘हामीसँग समय थिएन । फोकस भने थियो । दक्षिण एसियामा यो प्रतियोगितालाई ठूलो मानिन्छ । चुनौतीका लागि तयार छौं ।’
अन्य टोली के भन्छ ?
बंगलादेशका मुख्य प्रशिक्षक रब्बानीले विराटनगरको साफ खेल्दा सबै खेलाडी यू–१७ का खेलाडी रहेको र अहिले परिपक्व भइसकेको बताउँदै प्रतियोगिताभन्दा पनि पहिलो खेललाई ध्यान दिने बताए । भुटानकी प्रशिक्षक क्युङ सुक होङले प्रतियोगिताका लागि राम्रो तयारी गरेर आएको बताइन् । टोलीकी कप्तान पेमा छोदेन छिरिङले घरेलु मैदानमा नेपालको सामना गर्न सहज नहुने बताइन् ।
प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली समर्थकमाझ खेल्न मानसिक रूपमा पनि कठिन हुने अभिव्यक्ति दिइन् । ‘हाम्रो टोलीमा युवा खेलाडीको बाहुल्यता छ । नेपाल निकै बलियो टोली हो । घरेलु टोलीविरुद्ध खेल्न सहज हुनेछैन,’ उनले भनिन्, ‘घरेलु समर्थकको अगाडि खेल्नु मानसिक रूपमा पनि सहज हुँदैन ।’ ‘हामी लामो समय देशबाहिर गएर खेल्न पाएका छैनौं । त्यसैले नेपालमा चाँडै आएर मैत्रीपूर्ण खेल पनि खेलेका छौं । यहाँको वातावरणसँग भिजेका छौं,’ उनले भनिन्, ‘घरेलु लिगको भरमा हामीले टोली निर्माण गरेका छौं । आशा छ राम्रो नतिजा आउनेछ ।’ श्रीलंकाका प्रशिक्षक चामिन्दा निल स्टेनवालले देशमा आर्थिक अवस्थाकाले तयारीमा प्रतिकूल असर परेको बताए ।
श्रीलंकाकी कप्तान पूर्णिमाले साफ खेल्न नेपाल आउँदा खुसी लागेको र प्रतियोगितामा खेल्न उत्साहित रहेको बताइन् । माल्दिभ्सकी कप्तान लिजाले हामी ग्रुप अफ डेथमा रहे पनि राम्रो प्रतिस्पर्धा दिने बताइन् । मुख्य प्रशिक्षक अहमद सरिफले प्रतियोगितामा केही सरप्राइज दिने बताए ।
एन्जिला महिला टोलीको नवौं कप्तान
गोलरक्षक एन्जिला तुम्बापो सुब्बा महिला राष्ट्रिय टोलीको नयाँ कप्तान नियुक्त भएकी छन् । साफ च्याम्पिनसिप सुरु हुन एक दिनअघि सोमबार मुख्य प्रशिक्षक कुमार थापाले एन्जिलालाई कप्तान र अर्की सिनियर खेलाडी अमृता जैसीलाई उपकप्तानको जिम्मेवारी दिएको जानकारी गराए । यससँगै एन्जिला राष्ट्रिय टोलीको नवौं कप्तान बनेकी छन् ।
यसअघि रमा सिंह, कमला हिराचन, मीरा चौधरी, जमुना गुरुङ, चन्द्रा भण्डारी, अनु लामा, निरु थापा र रेनुकाले राष्ट्रिय टोलीको कप्तानी गरिसकेका छन् । थापाले सिनियर खेलाडीलाई कप्तानको जिम्मेवारी दिने यसअघि नै प्रस्ट पारिसकेका थिए । साफ च्याम्पियनसिपको प्रशिक्षणका क्रममा नियमित कप्तान रेनुका नगरकोटे घाइते भएपछि उनी राष्ट्रिय टोलीबाट बाहिरिसँगै नयाँ कप्तान नियुक्त गर्नुपरेको हो ।
एन्जिला र अमृता सन् २०१४ देखि राष्ट्रिय टोलीको सदस्य रहँदै आएकी छन् । एन्जिलाले सन् २०१६ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेकी थिइन् । एन्जिला राष्ट्रिय टोली र एपीएफकी पहिलो रोजाइकी गोलरक्षक हुन् । रक्षक अमृता नेपाल पुलिस क्लब तथा टोलीका भरपर्दा डिफेन्डर हुन् । एन्जिलाले चार वर्षअघि हिरो कपमा कार्यवाहक कप्तानको जिम्मेवारी निर्वाह गरिसकेकी थिइन् । अब नेपालले एन्जिलाकै कप्तानीमा नेपालमा मंगलबारदेखि सुरु हुने छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप खेल्नेछ ।
नेपाली टोली
एन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ, हीराकुमारी भुजेल, अमृता जैसी (उपकप्तान), गीता राना, पुनम जर्घा मगर, निशा थोकर, समीक्षा घिमिरे, विमला विक, विमला चौधरी, मन्जली कुमारी योन्जन, प्रीति राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी, अमिशा कार्की, रेखा कुमारी पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ






