काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलमा एउटा एआईजी दरबन्दी थप्ने तयारी गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल संयुक्त राष्ट संघको कार्यक्रममा सहभागी हुन अमेरिका गएको बेला एआईजीको एउटा दरबन्दी थप्ने चलखेल भएको हो ।
सशस्त्र प्रहरीमा दुई ओटा एआईजीको दरबन्दी रहेकोमा संगठनको ओएण्डएमबिनै तीन ओटा पुर्याउन लागिएको हो । संगठनको ओएण्डएमबिनै सरकारले व्यक्तिलाई लक्षित गरेर दरबन्दी थप्न लागेपछि उच्चपदस्थ सशस्त्र प्रहरी अधिकृतहरु असन्तुष्ट बनेका छन् ।
सरकारले एआईजीको एउटा दरबन्दी थप्न लागेपनि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले भने एआईजीको मात्रै दरबन्दी थपका लागि औपचारिकरुपमा गृह मन्त्रालयमा कुनै पत्र पठाएको छैन । सशस्त्र प्रहरी महानिरीक्षक अर्याल एआईजीको मात्रै दरबन्दी थप्न नहुने पक्षमा छन् । निर्वाचन मिति नजिकिँदै जाँदा एआईजीको एउटा मात्रै दरबन्दी थप्ने गरी भएको चलखेललाई सशस्त्रका अधिकृतहरुले अर्थपूर्णरुपमा लिएका छन् ।
सशस्त्र प्रहरीमा सीमा सुरक्षा जस्तो अति नै संवेदनशील एवंं महत्वपूर्ण कुरामा हाल स्थापना भएका बीओपीहरु समेतमा जनशक्ति थप हुन सकेको छैन । सशस्त्र प्रहरीले बीओपीहरुमा संरचनाअनुरुपको जनशक्ति व्यवस्थापन गर्न नसकिरहेको अवस्था एक तिर बिद्यमान छ भने अर्को तर्फ सरकारी नीति अनुरुप नै थप बीओपी स्थापना गर्न झन् असम्भव जस्तै भइरहेको अवस्थामा संगठनका तल्लो तहदेखि मध्यम तहसम्मको जनशक्ति थपको सांगठनिक आवश्यकतालाई बेवास्ता गर्दै चुनावको मुखैमा आएर कुनै एक व्यक्तिको हित वा स्वार्थलाई मात्र केन्द्रित र अनुकूल हुने गरी चलखेल को आधारमा एआईजीको दरबन्दी थप गर्न लागेको बताइन्छ ।
त्यसो त निर्वाचन आयोगले सरुवा, बढुवा र नियुक्ति नगर्न सरकारलाई भनिसकेको छ । निर्वाचन आचारसंहिता लागेपछि सरुवा, बढुवा र नियुक्तिका लागि निर्वाचन आयोगको अनुमति लिनुपर्ने भएकाले त्यसअगावै नियुक्तिका लागि सरकारले हतारो गरेको हो ।
स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाँड र गृहसचिव टेकनारायण पाण्डे एआईजीको दरबन्दी थपको चलखेलमा लागेका छन् । सशस्त्रका डीआईजी बंशिराज दाहाललाई एआईजी बनाउने गरी उनीहरु दरबन्दी थप गर्न लागेको स्रोतको दाबी छ ।
सशस्त्र प्रहरी प्रधान कार्यालयबाट एआईजीको दरबन्दी थपका लागि औपचारिक रुपमा पत्र नआएको अवस्थामा अब बस्ने मन्त्रिपरिषद बैठकबाट विशेष प्रस्ताव लगेर दरबन्दी थप्नेसम्मको तयारी भएको स्रोतको दाबी छ । यसका लागि गृहमन्त्री खाँडले प्रधानमन्त्री शेरबहादुर देउवालाईसमेत मनाइसकेको बताइएको छ ।
स्रोतका अनुसार, दाहाललाई एआईजी बनाउने खेलमा बिचौलियाको भूमिका रामचन्द्र भट्टले गरेका हुन् ।