भगवती लेमिनेट्स राजस्व छली प्रकरण: केन्द्रको अनुसन्धानमा ढिलाइ, दौडधुपमा सञ्चालक

काठमाडौं । राजस्व छली प्रकरणअन्तर्गत छानबिनमा रहेको भगवती लेमिनेट्स प्रालिका सञ्चालकमाथि राजस्व अनुसन्धान विभागले केन्द्रीयस्तरबाटै विस्तृत अनुसन्धान थालेको बताए पनि प्रक्रिया सुस्त पाइएको छ ।

सुस्तताको फाइदा उठाउँदै भगवतीका सञ्चालक उत्साहित बन्न थालेका छन् । उनीहरू निकटस्थसँग ‘आफूहरूले सबै मिलाइसकेकाले राजस्व अनुसन्धान विभागले समेत अब खास केही नगर्ने’ भन्दै हिँड्न थालेको स्रोतको दाबी छ ।

– शक्तिकेन्द्र प्रयोग गरी उम्कने योजना

यद्यपि, विभागले ‘भगवती लेमिनेट्सका सञ्चालकमाथिको अनुसन्धान प्रक्रिया जारी राखिएको’ जनाएको छ । छानबिन प्रक्रिया प्रभावित पार्न ‘राजनीतिक दौडधुप’मा सञ्चालक लागिरहेको बताइएको छ ।

भगवती लेमिनेट्स प्रालिले रावस्व छली गरेको पाइएपछि सुरुमा विभाग इटहरीस्थित कार्यालयले झापास्थित लेमिनेट्स केन्द्रीय कार्यालयमा छापा मारी अनुसन्धान थालेको थियो ।

सुरुमा अनुसन्धान कार्यालय इटहरीले छानबिन गर्दै आए पनि इटहरी कार्यालयको छानबिन चित्त बुझ्दो नभएपछि राजस्व अनुसन्धान विभागले भगवती लेमिनेट्सका सबै फाइल विभागमै तानेको थियो ।

तत्कालीन महानिर्देशक प्रकाश पौडेलले केन्द्रबाटै छानबिन गर्नेगरी सबै फाइल केन्द्रमै झिकाएका थिए । पौडेलले नयाँ अनुसन्धान अधिकृत तोकेर भगवती लेमिनेट्सको छानबिन प्रक्रिया अघि बढाइरहेकै अवस्थामा उनको सरुवा भएपछि छानबिन प्रक्रिया रोकिएको थियो ।

यद्यपि, पौडेलपछि विभाग महानिर्देशकका रूपमा आएका झलकराम अधिकारीले पनि आउनासाथ भगवती लेमिनेट्सका सञ्चालकमाथिको छानबिन प्रक्रियालाई नयाँ गतिमा अघि बढाउने बताएका थिए । तर, पछिल्ला दिन भगवती लेमिनेट्समाथिको अनुसन्धान प्रक्रियामा केही सुस्तता आएको हो ।

अनुसन्धान तीव्र बनाइने
विभागका महानिर्देशक अधिकारी भगवती लेमिनेट्सको राजस्व छली प्रकरण अनुसन्धानलाई ‘अब तीव्र’ बनाइने दाबी गर्छन् । ‘अब सो प्रकरणलाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाउछौं,’ उनले भने, ‘राजस्व छली गर्ने जोसुकै भए पनि कानुनी दायरामा ल्याउने छौं ।’

सुरुमा छानबिन प्रक्रिया थाल्दा विभागले सञ्चालकलाई समेत बयानका लागि बोलाउने निर्णय गरेको थियो । त्यतिखेर विभागले भगवती लेमिनेट्सका सञ्चालक रजनीश कर्नानी, सन्तोष आचार्य, रतनलाल अग्रवाल, निर्मला कर्नानी, निर्मला सरिया, दीपेन्द्रकुमार अग्रवाल र रतनकुमार अग्रवाललगायतलाई आवश्यकताअनुसार बोलाएर बयान लिने तयारीसमेत गरेको थियो । तर, तत्कालीन महानिर्देशक पौडेलको सरुवा भएपछि यी सबै प्रक्रिया रोकिँदै आएको हो ।

यसअघि, इटहरी कार्यालयमाथि छानबिन गर्नुको साटो उल्टो मिलिमतो गरेको आरोप लागेपछि केन्द्रले फाइल तानेको थियो । लेमिनेट्सका सञ्चालकले जिल्लास्तरमा विभिन्न शक्तिकेन्द्र प्रयोग गरी राजस्व कार्यालय इटहरीको अनुसन्धान प्रक्रिया नै कमजोर बनाउने प्रयास गरेका थिए ।

स्रोतका अनुसार भगवती लेमिनेट्सका सञ्चालकले अहिले पनि विभिन्न शक्तिकेन्द्रसँग ‘आफूहरूको सम्बन्ध रहेकाले जतिसुकै राजस्व छली गरे पनि उम्कन सक्ने’ अभिव्यक्ति निकटस्थसँग दिँदै आएका छन् । भगवती लेमिनेट्सले विभिन्न अवधिमा कच्चा बिलमार्फत करोडौंको कारोबार गरी ठूलो परिमाणमा राजस्व छली गरेको आधार भेटिएपछि झापास्थित केन्द्रीय कार्यालयमा छापा मारेर फाइल नियन्त्रणमा लिइएको थियो ।

लामो समयदेखि प्लाइउड व्यापार गर्दै आएको र एकपछि अर्कोगरी राजस्व छली गर्दै आएको भगवती लेमिनेट्स प्रालिले नक्कली बिल (कच्चा बिल)मार्फत करोडौंको कारोबार गरेको प्रमाण फेला परिसकेका छन् ।

सो कम्पनीले सबैजसो कारोबार ‘अन्डर इनभ्वाइस’मा गर्ने गरेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) र आयकरबाट बच्न ‘अन्डर इनभ्वाइस’मार्फत कारोबार गर्ने गरेको स्रोतको दाबी छ ।

भगवती लेमिनेट्सका कन्ट्री म्यानेजर विकास सिंहका नाममा करोडौंको चेक काट्ने गरेको प्रमाणसमेत फेला परिसकेका छन् । सो लेमिनेट्सले राजस्व छल्ने उद्देश्यले कारोबार गरिएका डिलरलाई संस्थाको नाममा नभई कन्ट्री म्यानेजर सिंहको नाममा चेक काट्न लगाउने गरेको हो । त्यसरी विभिन्न डिलरले भुक्तानी क्रममा भगवती लेमिनेट्सका नाममा चेक नकाटी सिंहको नाममा काट्ने गरेका कैयौं चेकको विवरण नै सार्वजनिक हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा चार पालिका प्रमुख जितेर ठूलो दल बन्दै रेशम चौधरीको उन्मुक्ति पार्टी