डेंगुबाट बच्न उच्च सतर्कता जरुरी

देशका पाँच जिल्लालाई छाडेर ७२ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । देशभरमा डेंगु फैलिएपछि त्यसले सबैलाई त्रसित पारेको छ ।

। डेंगु संक्रमण बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुको सहकार्यमा काठमाडौं उपत्यकाभित्र लामखुट्टे खोज र नष्ट गर नामक अभियान सञ्चालन गरिए पनि देशका सबै ठाउँमा यस्ता अभियान चलाउन नसकिएका कारण आमजनतामा थप त्रास फैलिँदै गएको छ । पछिल्लो तथ्यांकअनुसार देशभर डेंगुबाट संक्रमित तीन जनाको मृत्यु भएपछि यसले मनोवैज्ञानिक तनाव देशभर फैलाएको छ ।

सरकारले यस’bout कमै मात्रामा मुख खोले पनि पत्रपत्रिकामार्फत सार्वजनिक भएका डेंगु रोगीको विवरण र प्रभावितको संख्या सुनेर डेंगु प्रभावित क्षेत्र र इलाकाका मानिस कसरी सतर्कता अपनाउने भनेर उपायको खोजीमा लागेका छन् । हालसम्मको विवरणअनुसार बाग्मती, लुम्बिनी र प्रदेश १ मा डेंगु संक्रमण सबैभन्दा बढी देखिएकोे छ । तथापि डेंगुको असर र फैलावटअनुसार सतर्कता तथा उपचारका लागि जुन रूपमा पहल हुनुपर्ने हो त्यस रूपमा हुन सकिरहेको छैन । आमजनताले सरकारले जनस्वास्थ्यमा कम चासो दिएको भनी आलोचना गरिरहेका पनि छन् ।

स्वास्थ्य मन्त्रालयले जोखिम, अति जोखिम गरी दुई भागमा विभाजन गरेर डेंगु नियन्त्रणका लागि साताव्यापी कार्यक्रम थालेको भने पनि सरकारी काम ललितपुर, काठमाडौं, मकवानपुर र रूपन्देहीमा बढी केन्द्रित भएको देखिएका छन् । देशमा कुल ६ हजार २ सय ७ जनामा संक्रमण देखिनु र तीन जनाको मृत्यु हुनु भनेको चानचुने कुरा पनि होइन । यसको नियन्त्रणका लागि स्थानीय सरकारहरूले स्थानीय तहमा २ करोड ३५ लाख रकम विनियोजन गरिसकेका छन् । सघन मानववस्ती रहेका सहरी इलाकाका साथै संखुवासभा, अर्घाखाँची, तेह्रथुम, धादिङ, सिन्धुली, गुल्मीलगायत जिल्लामा डेंगु संक्रमण सोचेको भन्दा तीव्र गतिमा फैलिइरहेको छ । राजधानी सहर उपत्यकामा रहेका अस्पतालमा चर्को ज्वरो आउने लक्षणसहितका बिरामी देखिएका छन् । डेंगु रोगको फैलँदो प्रभाव नियन्त्रणका लागि उपत्यकाका तीनै जिल्लामा डेंगु नियन्त्रण अभियानअन्तर्गत घरघर गएर सचेतना अपनाउने र पानी जम्ने ठाउँ सरसफाइ र खाल्टो पुर्ने कार्य अघि बढाए पनि डेंगु रोगीको चाप भने अस्पतालमा घटेको देखिँदैन । बाग्मती प्रदेशको तुलनामा लुम्बिनी प्रदेशमा कम देखिए पनि अन्य प्रदेशमा समेत डेंगु नियन्त्रण अभियान जारी राखिएको छ । यसलाई देशव्यापी बनाउनुपर्छ ।

सन् २००४ मा पहिलोपटक डेंगु संक्रमण नेपालको चितवनमा देखापरेको थियो । त्यसपछि बर्सेनी यो रोगका बिरामी बढ्दै जाँदा हाल यो महामारीका रूपमा देखापरिसकेको छ । विज्ञको दाबीअनुसार डेंगुको संक्रमण दर नेपालमा अझै बढ्दै गइरहेको छ । अझैं दुई महिना यसको जबर्जस्ती प्रभाव रहने अनुमान चिकित्सकले गरेका छन् । जसका कारण सबैमा चिन्ता बढाएको छ । त्यसैले लामखुट्टेको टोकाइबाट बच्न पानी जम्न सक्ने भाँडा गमला, फुलदान, खालीबट्टा, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायरलगायतमा पानी जम्न नदिएर सतर्कता अपनाउनुपर्छ । सबैले सर्तकता अपनाऔं र डेंगुबाट बचौं ।

तपाइको प्रतिक्रिया
(Visited 401 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन