काठमाडौं । समृद्ध नेपालको लक्ष्यलाई जोड दिँदै चौथो पूर्वाधार सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले आगामी निर्वाचनबाट आउने सरकारको प्राथमिकता आर्थिक विकासमा हुनुपर्ने निचोडसमेत निकालेको छ ।
दोस्रोपटक निर्वाचन सम्पन्न भएर तिनै तहका सरकार निर्वाचित भएसँगै राजनीतिक समस्या समाधान हुने र ती सरकारको ध्यान पूर्वाधार निर्माणमा हुनुपर्नेमा सरकारी निकायले जोड दिएका छन् ।
नेपाल उद्योग परिसंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संयुक्त रूपमा आयोजना गरेको पूर्वाधार सम्मेलनको समापन समारोहमा सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० वर्षमा समृद्ध नेपाल बनाउनेगरी काम गर्नुपर्नेमा जोड दिए ।
मन्त्री कार्कीले निजी क्षेत्रको सक्रिय सहभागिताबिना नेपालमा पूर्वाधार विकास हुन नसक्नेसमेत बताएका छन् ।
‘१० वर्षपछि सम्पन्न देशका नागरिक हुने गरी सबैले आआफ्नो ठाउँबाट काम गर्नुपर्छ । हामीले पूर्वाधार निर्माण गर्न कुल ग्रार्हस्थ उत्पादनको ९ प्रतिशतसम्म लगानी गर्नुपर्नेछ’ कार्कीले भने, ‘सरकार एक्लैले पूर्वाधारका क्षेत्रमा लगानी गर्न सक्दैन । निजी क्षेत्रलाई पूर्वाधारमा लगानी गर्न वातावरण बनाउन हामी तयार छौं ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले देशभित्र रोजगारी सिर्जना गर्न पूर्वाधार र उद्योगका क्षेत्रमा लगानी बढाउन आवश्यक भएको रहेको जनाउँदै कर्मचारी र राजनीतिक नेतृत्वको सोच परिर्वतन भए देश सजिलै विकास हुन सक्ने धारणा राखे ।
समापन कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले ठूला पूर्वाधार कसरी निर्माण गर्ने, औद्योगिक पूर्वाधार निर्माण गरेर व्यवसाय सञ्चालनको लागत कसरी घटाउने भन्ने विषयमा सघन छलफल भएको बताएका छन् ।
‘यस सम्मेलनमा कोरोना महामारीपछि बदलिएको अवस्थामा कस्ता पूर्वाधार निर्माण गर्ने भन्ने विषयमा कयौं सुझाव आएका छन् । हामीहरू ती सम्पूर्ण सुझाव नियामक निकायसम्म लैजान र निजी क्षेत्रको तर्फबाट गर्नुपर्ने काम पूरा गर्न प्रतिबद्ध छौं,’ उनले भने ।
पीडब्लूसी इन्डियाका कार्यकारी निर्देशक निदिस नायरले दुईदिने सम्मेलनमा भएका छलफलको विषयमा प्रस्तुति दिएका थिए । ‘पूर्वाधार निर्माणका गर्न दीर्घकालीन वित्तीय स्रोत कसरी जुटाउने भन्ने विषयमा समेत विभिन्न दृष्टिकोण आएका छन्,’ नायरले भने, ‘यो कार्यक्रमले नेपालमा कस्तो पूर्वाधार आवश्यक छ र वित्तीय स्रोत कसरी जुटाउने भन्ने विषयमा कयौं सुझाव दिएको छ ।
समापन समारोहमा परिसंघका प्रेसिडेन्ट एम्रेटस् सांसद विनोद चौधरीले पछिल्लो समय पूर्वाधार निर्माणका क्षेत्रमा कयौं काम हुनु सकारात्मक भए पनि पर्याप्त पूर्वाधार निर्माण हुन नसकेको धारणा राखेका छन् ।
सम्मेलनमा ठूला पूर्वाधार निर्माण, अन्तरप्रदेश पूर्वाधार निर्माण, सहरी पूर्वाधार निर्माण, रिजनल कनेक्टिभिटी, डिजिटल पूर्वाधार निर्माण, हरित पूर्वाधारलगायतका विषयमा विभिन्न कोणबाट छलफल भएको थियो ।






