२ करोड २४ लाख मतपत्र छापिँद

काठमाडौं । निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत प्रदेश सभातर्फको समानुपातिक निर्वाचन प्रणालीका लागि मतपत्र छपाइ थालेको छ । आयोगले आइतबारबाट प्रदेशसभाअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेशसभा समानुपातिक निर्वाचन कार्यक्रमतर्फको मतपत्र छपाइ आइतबारबाटै सुरु गरिएको जानकारी दिए ।

‘प्रदेश सभातर्फको समानुपातिक निर्वाचन कार्यक्रमका लागि मतपत्र छपाइ सुरु भएको छ,’ उनले भने, ‘जनक शिक्षा सामग्री केन्द्रमार्फत मतपत्र छपाइ सुरु गरिएको हो ।’ राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबार बैठकमा समेत थपलियाले ‘प्रदेशसभा समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सुरु भइसकेको’ जानकारी दिएका थिए ।

प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन कार्यक्रमअन्तर्गत दर्ता गराएका दलको मात्रै चिह्न राखेर मतपत्र छपाइ सुरु गरिएको हो । बन्दसूची बुझाउँदा मतपत्र छाप्न समय अभाव हुने भएपछि आयोगले दलको दर्ताकै आधारमा मतपत्र छपाइ सुरु गरेको आयोग सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

आयोगले सातै प्रदेशका लागि आयोगमा समानुपातिक निर्वाचन कार्यक्रमअन्तर्गत भाग लिन दर्ता भएका दलको चिह्न राखेर मतपत्र छपाइ थालेको हो । ‘जुन प्रदेशमा जति दलले निर्वाचनमा सहभागिता जनाउने भनेर दर्ता भएका छन्, त्यति दलको मात्रै चुनाव चिह्न राखेर मतपत्र छपाइ सुरु गरिएको हो,’ अर्यालले भने ।

पहिलो चरणमा प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेश प्रदेशसभा समानुपातिकतर्फको मतपत्र छपाइ सुरु गरिएको हो । आयोगका अनुसार प्रदेश १ सभा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रमा ५५ दलका चिह्न हुनेछ ।

त्यस्तै, मधेस प्रदेश समानुपातिकतर्फको मतपत्रमा ५९ दलको चिह्न, बाग्मती प्रदेशको मतपत्रमा ५८ दलको चिह्न, गण्डकीमा ५२ दलका चिह्न, लुम्बिनीमा ५४ दलको चिह्न, कर्णालीमा ४९ र सुदूरपश्चिचम प्रदेश प्रदेशसभा समानुपातिक मतपत्रमा ५० राजनीतिक दलका चिह्न रहनेछन् । प्रदेश १ मा प्रदेशसभा समानुपातिकतर्फ भाग लिन ६३ दलले ५५ निवेदन दिएका थिए ।

यसैगरी, मधेस प्रदेशमा ६७ दलले ५९ र बाग्मती प्रदेशमा ६६ दलले ५८ निवेदन पेस गरेका थिए । त्यस्तै, गण्डकी प्रदेशमा ६० राजनीतिक दलले ५२ निवेदन, लुम्बिनीमा ६२ दलले ५४ निवेदन, कर्णालीमा ५७ दलले ४९ निवेदन तथा सुदूरपश्चिममा ५८ दलले ५५ वटा निवेदन आयोगमा बुझाएका थिए । यीमध्ये १२ विभिन्न दलले चार राजनीतिक दलको चिह्नबाटै निर्वाचनमा सहभागी हुनेगरी निवेदन दर्ता गराएका थिए ।

आयोगले दल दर्ताका लागि प्राप्त निवेदनका आधारमा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दल संख्या तय गरेर मतपत्र छपाइ थालेको हो । प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र भने उम्मेदवारको बन्दसूची पेस भएपछि मात्रै छापिनेछ ।

त्यस्तै, प्रत्यक्षतर्फका प्रतिनिधिसभा र प्रदेशसभाका लागि आवश्यक मतपत्र भने उम्मेदवारी दर्ता भएपछि मात्रै छापिनेछ । आयोगले समानुपातिक निर्वाचन कार्यक्रमअन्तर्गत २ र ३ असोजमा उम्मेदवारको बन्दसूची पेस गर्न समय तोकेको छ । प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताका लागि भने २३ असोजको समय निर्धारण गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 388 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौं प्रहरीको ‘स्वीप अपरेसन’: ९२ जना पक्राउ