चुनाव आयो । अब सहरबजार, गाउँ, टोलमा दलका झन्डा बोकेर केही थान कार्यकर्ताको आवाज घन्कनेछ । मानौं, उनीहरूले भनेको दललाई मतदाताले भोट दिए भने देश स्वर्ग बन्छ, विकासको मुहान फुट्छ, सुशासन स्थापित हुन्छ, भ्रष्टाचारको अन्त्य हुन्छ र गाउँगाउँमा रोजगारी पाइन्छ । अर्थात् जहाँ जे समस्या छन्, ती समस्या समाधान गर्न उनीहरूले बोकेको झन्डावाला राजनीतिक दल वा नेता रामबाँड हो । यसैगरी, केही समयपछाडि वा अर्को दिन अर्को दलको झन्डावाला उसैगरी आउनेछन् । देश बनाउने दल हिजोको होइन, हाम्रो हो भन्न लाज मान्दैनन् । नेताले सिकाएका विषयवस्तु निर्लज्ज पस्कन्छन् । विपक्षी दलका कार्यकर्तासँग मुक्कामुक्की गर्न पनि यिनीहरू तम्सन्छन् । दलगत तन्त्रमन्त्रबाट प्रशिक्षित कार्यकर्ताका लागि निर्वाचन ठूलो चाड हो । केही रकम हात पार्ने अवसर हो ।
यस वर्ष निर्वाचनमा भाग लिँदै गरेका ८४ वटा राजनीतिक दल छन् । यी दलमध्ये कुनै दलका कार्यकर्ता वा समर्थक धेरै होलान्, कुनैका थोरै । अझै यो निर्वाचनमा त स्वतन्त्र उम्मेदवारहरू पनि सल्बलाइरहेका छन् । त्यसैले, सहरबजार, गाउँघर, चिया पसल, चौर, चौतारी, देवालय, शिक्षालय, वाचनालय, खेतखला, पानीपँधेरो आदि इत्यादि ठाउँमा चुनावी सरगर्मीको सुरुवात भइसकेको छ । निर्वाचन वा दल विशेषको विषयलाई लिएर समाजमा आपसी बेमेल, रिस, राग, असमझदारी वा झैंझगडा हुने गर्छ तर यसो गर्नु हँुदैन ।
त्यसो त, आवधिक निर्वाचन लोकतन्त्रको सौन्दर्य हो । नेपालको संविधान २०७२ ले १८ वर्ष पुगेका नागरिकलाई मतदान गर्ने अधिकार दिएको छ । लोकतन्त्रलाई जनताले, जनताद्वारा, जनताका लागि बनाइएको राजनीतिक व्यवस्था भन्ने गरिन्छ । हाम्रो देशको सन्दर्भमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भनिए तापनि जनताका लागि उपयोग हुन सकेको छैन । बरु राजनीतिले नेपाली समाजलाई बाँडेको छ, भाँडेको छ । समाजलाई दलगत आस्थामा कित्ताकाट गरेको छ । जात, जाति, धर्म, वर्ग, क्षेत्र वा स्वार्थको आधारमा मनोवैज्ञानिक विभाजन गरेको छ । समाजको आत्मीय एकीकरण भत्काएको छ । सांस्कृतिक हस्तक्षेप भएको छ । सामाजिक मेलमिलाप बिगार्नु हुँदैन, भत्काउनु हुँदैन ।
दलगत तन्त्रमन्त्रबाट प्रशिक्षित कार्यकर्ताका लागि निर्वाचन ठूलो चाड हो, रकम हात पार्ने अवसर पनि हो
आज राजनीतिका नाममा भाषा, धर्म, संस्कृति एवं पूर्वीय सभ्यतामाथि प्रहार भइरहेको छ । नेपाल, नेपाली समाज र आर्य सभ्यताअन्तर्गतका सामाजिक मूल्य, मान्यता, चिन्तन एवं अभ्यासहरू अतिक्रमण भइरहेको छ । यिनीहरू हाम्रा पहिचान हुन् । जीवनपद्धति हुन् । कुनै पनि राजनीतिक दल वा मतदानका चिह्नभन्दा ठूला छन् । सामाजिक एकीकरणका माध्यम हुन् । त्यसैले, यिनीहरू राजनीतिभन्दा धेरै माथि र महत्वका छन् । देश हामी सबै नागरिकको साझा घर हो । समाज हाम्रा पुर्खाले निर्माण गरेका सामूहिक बसोबास गर्ने आधार हो । समाजसँग जोडिएका भाषा, संस्कृति, संस्कार, धमर्, चाडपर्व, वेशभूषा, रहनसहन, चालचलन आदि निर्माणका लागि हाम्रा पुर्खाको ठूलो योगदान छ । सदियांैदेखि झाँगिँदै आएको सामाजिक सद्भाव एवं आपसी आत्मीयता सानो स्वार्थको खातिर टुटाउनु हुँदैन, फुटाउनु हुँदैन । सबैलाई हेक्का रहोस्, हरेक नागरिकले कुनै पनि राजनीतिक सिद्धान्त, आस्था, दलसँगको संलग्नताभन्दा अगाडि घरपरिवार, आफन्तजन, छरछिमेक, समाज एवं राष्ट्र ठूलो हो ।
यो देशको सुरक्षा, संरक्षण, प्रगति र विकास गर्ने काम हामी सबैको हो । देशको विकास हामी सबैको विकास हो । देश बिग्रिए हामीले दुःख पाउँछौं । दुःखले अशान्ति ल्याउँछ । अशान्तिले बैमनस्य बढाउँछ । समाजको अधोगति हुन्छ । त्यसैले, कुनै पनि राजनीतिक दल वा नेता विशेषको खातिर आपसी समझदारीमा दरार पैदा नगरांै । रिस र आवेग होइन, विवेकको प्रयोग गरौं । नेपाली समाजले विगत ३२ वर्षदेखि राजनीतिक दलहरूले नेपाल र नेपालीका लागि काम गरेको वा नगरेको ’boutमा राम्ररी बुझेको हुनु पर्छ । नेतागणका व्रिmयाकलापको मूल्यांकन गरेको हुनु पर्छ । देशमा शिक्षा र स्वास्थ्यको अवस्था कस्तो छ ? सार्वजनिक सेवाको डेलिभरी कस्तो छ ? बुझेको हुनु पर्छ । यदि, यसो हो भने सिद्धान्तविहीन राजनीति दल र भ्रष्ट नेताहरूका लागि सामाजिक आत्मीयता किन खण्डित गर्ने ?
देशमा भ्रष्टाचार, बेथिति, तस्करी, कालोबजारी, महंगी व्याप्त छ । अरबांैका घोटाला प्रकरणले हरेक नेपालीको भाग्य र भविष्यमा विकासको अभिलाशामा तुसारापात भएको छ । न्यायालयहरू यिनीहरूको कब्जामा छन् । सत्ता स्वार्थका लागि टुटफुट, जुट र भागबन्डामा मात्र राजनीतिक दलहरू व्यस्त छन् । यस्तो नेतृत्वका लागि कार्यकर्ता मरिहत्ते गरेर लागेको देख्दा सभ्य, विकसित एवं शिक्षित देशहरूले नेपाली मतदातालाई महामूर्खको संज्ञा दिएका छन् । केही समयअगाडि युरापियन टाइम्समा प्रकासित समाचार यसको एउटा दृष्टान्त हो । अझै पनि राजनीतिक दलका नेताका पछि लाग्ने कि समाज र देशको हितमा निर्णय गर्ने ? देश र समाजको हितमा काम गर्ने हो भने सामाजिक सद्भाव नबिगारांै । कुनै पनि दलमा अन्धभक्त नबनौं । निर्वाचनमा सज्जन र दुर्जनलाई केलाऔं । सज्जन नेतृत्वलाई भोट हालौं । दर्जनलाई पाखा लगाआंै ।
सबै नागरिक सक्षम, सबल र अधिकार सम्पन्न हुनका लागि देश सम्पन्न हुनु पर्छ । देश सम्पन्न बनाउन दूरदर्शी नेतृत्व चाहिन्छ । सामाजिक मेलमिलाप आवश्यक हुन्छ । नागरिकहरू फुटेर विकास हुुँदैन, जुटेर हुन्छ । अहिले मुलुक संगिन परिस्थितिबाट गुज्रिरहेको छ । हामी बाँडिने र भाँडिने लडाइमा व्यस्त छौं । जाति र जनजातिबीचमा बैमनस्य, पहाड र तराईबीचमा असझदारी, अन्तरदलीय कार्यकर्तामा ढुंगामुढा आदि अभ्यास हुने गरेका छन् । मुलुकलाई अस्तव्यस्त बनाउने, जातीय डरलाग्दो विभेदीकरणको बिउ रोप्ने राजनीतिले समाजको आपसी आत्मीयता टाढिएको छ । यसो हुनु नेपाली समाजको ऐँजेरु हो । समाजमा आत्मीय विभेदीकरणको वीजारोपण हो । सुनौलो भविष्यको क्यान्सर हो ।
हरेक नेपालीले अब जातीय र क्षेत्रीय पहिचानको होइन, नेता वा दल विशेषको होइन, समग्र देशको कुरा गरौं
हामी कुनै राजनीतिक दलको नेता वा कार्यकर्ता हुनुभन्दा पहिले स्वतन्त्र र सार्वभौम देशका नागरिक हौं, नेपाली हौं । नेतृत्वले राजनीतिक स्वार्थका लागि नागरिकलाई भाँड्नु हुँदैन । तर, भाँडिरहेका छन् । नागरिकहरू पनि राजनीतिक विश्वास र आस्थाका आधारमा नेपाली दाजुभाइ तथा दिदीबहिनीबीचमा झाँगिएको आपसी सम्बन्ध बिगार्नु हुँदैन । हाम्रो राजनीतिक लडाइँ सकिसकेको छ । अब आर्थिक विकास र नागरिक समृद्घिका लागि काम गर्ने बेला आएको छ । यसका लागि सक्षम नेतृत्वको चयन गर्न र सामूहिक हितमा जनता एकजुट हुनुपर्ने बेला आएको छ । यसै गरांै ।
यो देश हामी सबैको साझा भूमि हो । ‘भाइ फुटे गवार लुटे’ भन्ने लोकोक्ति माओवादीको दस बर्से जनयुद्घ कालमा हामीले राम्ररी भोग्यौं । एक नेपालीबाट अर्को नेपालीलाई मारिनु प¥यो । घाइते, अपांग, बेपत्ता हुनु प¥यो । विगतको सामाजिक झगडा र बैमनस्यको अनुभव गरी सक्यौं । रिस र प्रतिशोधले विनाश निम्त्याउँछ भन्ने बुझी सक्यांै । अझै पनि हामीले इतिहासबाट पाठ सिकेर देश र जनताका लागि काम गर्न अल्मलियौं भने ठूलो भुल हुनेछ । सहिदको रगतले सराप्नेछ । विश्व समुदायले गिज्याउनेछ । तसर्थ, अब हामी आपसमा लड्ने, भिड्ने काम बन्द गरौं । हाम्रा शत्रु भनेका अशिक्षा, गरिबी, भोक, रोग र पछौटेपन हुन् । यिनका विरुद्घमा एकजुट भएर लडौं । सबै सकारात्मक बनौं ।
सामाजिक सद्भावको अभावमा देशमा शान्ति सुरक्षा र प्रगति हुन सक्दैन । श्रीलंकाको २० बर्से जातीय दंगाको लडाइँमा श्रीलंकाले भोगेको आर्थिक अभाव र सामाजिक बेमेलले आज त्यहाँको अवस्था दयनीय भएको छ । नेपालमा पनि राजनीति गर्नेहरू अत्यन्त असक्षम देखिएका छन् । राजनीतिले नेपाल र नेपालीको भविष्यमाथि काम गर्न नसकेको अवस्था छ । माक्र्सवाद, लेनिनवाद, माओवाद वा समाजवादबाट शब्द सापटी लिएर अशिक्षित र गरिबीको रापले थङ्थिलिएका जनतालाई भोटबैंक बनाएर सत्तामा पुग्न पल्केका राजनीतिक दलहरूले सत्तास्वार्थका लागि समाजको आत्मीयता भत्काएका छन् । जनता पनि बुझी नबुझी ताली पड्काउँदै हिँडेका छन् । यसो नगरौं ।
हरेक नेपालीले अब जातीय र क्षेत्रीय पहिचानको होइन, नेता वा दल विशेषको होइन, समग्र देशको कुरा गरौं । थितिको कुरा गरांै । राष्ट्रिय एकताको कुरा गरौं । समान अवसरको कुरा गरांै । भाषा, जात र क्षेत्रको होइन, शिक्षा, स्वास्थ्य सबैको पहुँचको कुरा गरांै । सामाजिक सहिष्णुताको कुरा गरौं । सक्षम नेतृत्वलाई सत्तामा पु¥याउने भूमिका खेलौं । राजनीतिभन्दा माथि देश हुन्छ भन्ने कुरा बुझौं । र, सोही मुताबिक सामाजिक व्यवहार गरौं ।






