ओ ‘गाइने’ दाई ! तिमी आउन छाडेपछि गाउँमा दसैं आएन

‘ऊ खोले आए ।’ शमिभन्ज्याङ स्कुलको प्रांगणमा खेल्दै गर्दा कुनै साथीले देखाउँथ्यो । पुलामीको कुवामाथि नियालोले बुनेको चिटिक्क परेको थुन्सेभरी आलुको भारी बोकेर ‘खोले’हरू अमराइतिर लाग्थे । गाउँमा दसैं आएको छनक मिल्थ्यो ।

दसैं आउनु तीन साताअघि धादिङको उत्तरी क्षेत्रका तामाङहरू थुन्सेभरी आलु, निगालोको चोयाले बुनेको थुन्से, डाला बोकेर साट्न आउँथे । त्यसरी आउने तामाङहरूलाई ‘खोेले’ भन्थे गाउँमा । धादिङको मैदी उखुबारीमा अहिले बसाईं सरेर आएका छन् ५० घर जति तामाङ । उनीहरूको बस्ती भएको ठाउँलाई ‘खोले गाउँ’ भन्छन् । बृहत् नेपाली शब्दकोशमा ‘खोले’को अर्थ गाईवस्तु खुवाउन मकै चामल, भटमासको पिठो पकाइएको बाक्लो झोल, २ प्रायः गरिबहरूले खाने मकैको पिठो, कनिका, सागपात आदि मिसाएर पकाएको लेदो खाद्य पदार्थ, ३ सभ्यता नजानेको अशिष्ट गँवार (मानिस) ४ कष्टले जीवननिर्वाह गर्ने, दुःखी ।

लेखक : ध्रुव लम्साल

ती तामाङहरूको बसाइँ लेकमा थियो । चिसो ठाउँमा बसोबास गर्ने भएकाले उनीहरूको नुवाइ धुवाई कम गर्थे । आलु वा थुन्से बोकेर हाम्रो गाउँसम्म आउन सात दिनभन्दा बढी लाग्थ्यो । फर्किंदा त्यति नै समय । लगातार १५ दिनसम्म भारी बोकेर हिँड्ने मान्छको ज्यानमा सुकिलो लुगा कल्पनाभन्दा बाहिरको थियो । उनीहरूको छेउमा उभिँदा ठुस्स पसिना गन्हाउँथ्यो । श्रमबाहेक उनीहरूको जीवनमा अर्को विकल्प थिएन । सायद त्यही भएर उनीहरूलाई ‘खोले’ अर्थात् कष्टले जीवननिर्वाह गर्ने, दुःखी संकेत गरिएको रहेछ ।

अहिले तामाङ बस्तीमा पहिलाको दृश्य देखिँदैन । सिमेन्टड घर छ, बजारिया रंगले रंगिएको । रेमिट्यान्स झ्याप्पै भित्रिन्छ । सुकिला मुकिलाको कुरा छाडौं युवायुवती कपाल बनाउन सदरमुकामको पार्लर धाउँछन् । गाउँको नाम चाँहि अहिले पनि ‘खोले गाउँ’ नै छ ।
जतिसुकै मैला हुन् । हामी केटाकेटीलाई उनीहरूको लवाइ, खुवाइ र बोलीचाली खास लाग्यो ।

‘ओइ बाजे आलु लिन्छ ?’ उनीहरू गल्लीको बाटो हिँड्दा भारी बोकी बोकी ठूलो स्वरमा कराउँथे ?
‘कसरी हो ?’ बाजेहरू आँगनमा उभिएर सोध्थे ।

‘दुने ?’ उनीहरूको जवाफ हुन्थ्यो । दुनेको अर्थ थियो । एकपाथी आलुका लागि दुई पाथी धान ।
गच्छेअनुसार धान र आलु साटेपछि बल्ल दसैंको रौनक आउथ्यो गाउँमा ।

त्यसरी आलु बोकेर आएकाहरू गाउँमा बाँडिएर बास बस्थे । हरेक वर्ष हाम्रो घरमा १० देखि १५ जना बास बस्थे । उनीहरूको बसाइँ तीन/चार दिनसम्म हुन्थ्यो । गाउँ डुलेर सबैले आलु साटिसकेपछि सबै जना एकैपटक फर्किन्थे लाइन लागेर ।

उनीहरूको भान्सा सामूहिक हुन्थ्यो । आँगनमा चुलढुंगा लगाउँथे । मकैको पिठोको ढिँडो र आलुमा झोल हालेर तरकारी बनाउँथे । जब उनीहरू खाना खान सुरु गर्थे । हामी घेरा लागेर हेथ्र्यौं ।

‘ओइ बाजे ढिँडो खान्छ ?’ हामीलाई उनीहरू जिस्क्याउँथे । हामी ङिच्च हाँसेर बस्थ्यौं । उनीहरूले आलुको झोलमा ढिँडो चोपेर कुप्लुक्क खाएको दृश्य हामीलाई अचम्म लाग्थ्यो ।

आलु साट्नेहरू फर्किएलगत्तै -याइँ-याइँ सारंगी बजाउँदै गाइने दाइ आइपुग्थे । गोरखाका गाइने दाइहरू चार/पाँच जनाको टोली आउथं । बसाइँ प्रायः हाम्रै घरमा हुन्थ्यो । काँधमा सारंगी भिरेका दाइहरूको लवाइ अलि विशेष हुन्थ्यो । सुकिला लुगा लगाएका उनीहरूको बोली निकै मिठो हुन्थ्यो ।

जुन दिन तिनै तामाङसँग आलु साटिएको हुन्थ्यो । त्यसपछि मात्रै हामीले खाने तरकारीमा आलु मिसिन्थ्यो । अहिले झैं दोकानमा आलु किन्ने चलन थिएन । गाउँको दोकानमा आलु पाइँदै पाइँदैन थियो ।

हाम्रो घरमा त्यसरी जम्मा भएकाहरू चारदेखि पाँच दिन बस्थे । त्यति दिनमा एक टोलीले आलु साटेर सट्टामा धान बटुलिसकेका हुन्थे । उनीहरूको पनि दसैं त्यही धानसँगै आउँथ्यो । धानको गह्रांै भारी बोकेर गाउँ फर्किन्थे ।

भर्खर गोडेका कोदोको बोट पोटाउने सुरसारमा हुन्थ्यो । मकैको ढोड काटेपछि बारी उघारिन्थ्यो । पहेंलो हुन थालेका अम्बाका बास्ना चल्न थालेपछि दसैं आँगनमै आएजस्तो लाग्ने । जाडो पनि हैन गर्मी पनि होइन । ठिक्कको मौसम निकै घमाइलो ।

तीज सकिएलगत्तै दसैं आउन यति दिन बाँकी भनेर औंला भाँच्थ्यौं । सो-ह श्राद्ध सुरु भएपछि त दसैं आइ नै सक्योजस्तो लाग्थ्यो । सो-ह श्राद्धको निम्ता मान्न जाँदा छुट्टै मज्जा आउने । मावली गाउँको बसाइँ भएकाले मिठो परिकारसँगै टीका लगाएर दक्षिणासमेत पाइने हुँदा सो-ह श्राद्धप्रति विशेष मोह थियो मेरो ।

दसैंका लागि भनेर घोर्ले खसी हुन्थ्यो । साउने सक्रान्तिपछि लगभग खसीको मासु खान दसैं नै कुर्नुपर्ने भएकाले पनि घोर्ले खसी हेरेर मुख मिट्ठ्याइन्थ्यो ।

आलु साट्नेहरू फर्किएलगत्तै -याइँ-याइँ सारंगी बजाउँदै गन्दर्भ ‘गाइने दाइ’ आइपुग्थे । गोरखाका गाइने दाइहरू चार/पाँच जनाको टोली आउथे । बसाइँ प्रायः हाम्रै घरमा हुन्थ्यो । काँधमा सारंगी भिरेका दाइहरूको लवाइ अलि विशेष हुन्थ्यो । सुकिला लुगा लगाएका उनीहरूको बोली निकै मिठो हुन्थ्यो । ‘बाबु नमस्कार ।’ उनीहरू बास बस्न आएको पहिलो दिन सबैलाई नमस्कार भन्थे । सायद हामी भुराभुरीलाई नमस्कार ! गर्ने व्यक्ति ती मात्रै थिए । हामी ङिच्च हाँस्थ्यौं । नमस्कार ! भन्नेहरूलाई नमस्कार ! फर्काउनुपर्छ भन्नेसमेत थाहा थिएन ।

पिँढीको खाँबोमा सारंगी झुन्ड्याएर उनीहरू खानपिनको सुरसार गर्थे । उनीहरूको पकाउने ठाउँ त्यही आँगनको चुलढुंगा थियो । प्रायः चामलको भात र चना, केराउका तरकारी पकाउँथे ।

बिहान जुरुक्क उठेर सारंगी भिरेर गाउँ डुल्थे र बेलुका सबै जम्मा भएपछि सामूहिक खाना पकाउँथे । उनीहरूले गीत गाउँछन् भन्ने हामीलाई थाहा थियो तर, हाम्लाई गीत सुनाउनुस् न भन्ने आँट आउँदैनथ्यो । ‘हामीलाई गीत नसुनाउने ?’ उनीहरूले खाना खाइरहेको बेला छेउमा गएर सानो स्वरले सोध्थ्यौं । ‘भोलि बाबु ।’ हामी भोलिको प्रतीक्षामा हुन्थ्यौं ।

उनीहरू दिनभरि गाउँ डुलेर गीत गाउँथे । चामल, पैसा, धानलगायतका सामग्री बटुल्थे । थकाइ लागेको हुन्थ्यो सायद । बेलुकाको खानपिन सकिएपछि हामी पढ्नका लागि बार्दलीमा उक्लिन्थ्यौं । गाइने दाइहरू मामामाइजूलगायत घरका ठूला मान्छेसँग घरायसी गफ गरेर बस्थे । हाम्रो आँखा किताबमा भए पनि दिमाग उनीहरूकै कुराकानीमा हुन्थ्यो । तै पनि गीत गाई पो हाल्छन् कि ?

उनीहरू गाउँ सर्ने अघिल्लो साँझ विशेष हुन्थ्यो हाम्रा लागि । खानपिन सकेपछि सारंगी रेट्न थाल्थे -याइँ-याइँ । कतिबेला गीत सुन्न पाइन्छ भनेर कान ठाडा पारेर बसेका हामीहरू गाइने दाइकै ¥याइँ¥याइँ सुनेपछि छेउमा घेरा लाग्न पुगिहाल्थ्यौं ।

२०४३ साल असारको मैना
काका बाउको पेट बोक्नेको सुन्नुस् बइन् …

पालै पालो गीत सुनाउँथे । गीत प्रायः महिलाका पिडा केन्द्रित घटनाप्रधान हुन्थे । काका बाउको पेट बोकेसी बेपत्ता भएकी किशोरी । बिहे गरेकै वर्ष घाँस काट्न जाँदा भीरबाट लडेर मरेकी युवती, सासुको टोकसोले घर खान नसकेर माइत बसेकी बुहारीलगायतका विषयमा उनीहरू गीत सुनाउँथे । गीत सुन्दासुन्दै माइजू भाउजूहरूको आँखाबाट आँसु खसाल्थे ।

गाइने दाइ गएको दुई/चार दिनपछि दसैं डाँक्न भन्दै एउटा बाजा बजाउँदै दमाइ दाइ आइपुग्थे । ट्याक्को, सनाइ वा नर्सिंगा बजाउँथे । जतिबेला हामी घर रंग्याउन कमेरो र रातोमाटोको जोहो गरिसकेका हुन्थ्यौं । गाउँको चौतारोमा पिङ हाल्ने कुरा उस्तै रोचक लाग्थ्यो । घरघर बाबियो उठाउँदै हिँडेका कुरा अहिलेका बालबालिकाका लागि दन्त्य कथाजस्तै लाग्छ ।

सात दिन लगाएर आलुसँग धान साट्ने हिँड्ने गाउँमा अहिले मोटर पुग्छ । पाखोबारीमा आलु फलाउने हातहरू गाउँमा भेटिँदैनन् । खाडीमा रेमिट्यान्स बटुल्दै होलान् । सारंगी बोकेर गाउँ डुल्ने गाइने दाइहरूको भाकाभन्दा युट्युब प्रिय लागेपछि गाइने दाइहरूले भाउ पाउन छाडेका छन् । पुनर्निर्माण प्राधिकरणले रड र सिमेन्टबिना घर बनाउनै नपाउने नियम बनाइदिएपछि गाउँको माटो खन्ने मड्किलोमा भन्दा सदरमुकामको रंग पसलमा मान्छेको भिड सामान्य लाग्न थालेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 815 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुपन्देहीमा मात्रै ५ हजार उम्मेदवार