वीरगन्ज । सेनासहित दलबल लिएर निर्वाचन भिड्न मैदानमा उत्रिएका बहालवाला मन्त्री तथा दलका नेताहरूसँग भिड्न पर्सामा स्वतन्त्र उम्मेदवारहरूको बाढी नै आएको छ । प्रतिनिधि सभा सदस्यको ४ र प्रदेश सभा सदस्यको ८ सिट रहेको पर्सामा दुवै गठबन्धन दलका नेता तथा बहालवाला मन्त्रीसँग आगामी निर्वाचनमा भिड्न स्वतन्त्रको बाढी नै आएको हो ।
पर्सामा दुवैतर्फ गरी कुल १२ सिट रहेको छ । यसका लागि आइतबार भएको निर्वाचनमा १ सय ६७ जनाको उम्मेदवारी परेको छ । जसमध्ये ८९ वटा त स्वतन्त्रको मात्र नाम मनोनयनमा परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्साले जनाएको छ । लोकतन्त्रको सुनौलो पक्ष दल–दलभित्रका व्यक्ति चुन्न निर्वाचन हुने गरे पनि व्यक्तिगत तवरले पनि निर्वाचन लड्न पाउने अवसरको पर्सामा खुबै सदुपयोग हुने मनोनयनमा परेको स्वतन्त्रको कुल संख्याले संकेत देखाएको छ ।
नेपाल सरकारका बहालवाला वनमन्त्री र मधेस प्रदेशका मुख्यमन्त्री मनोनयन दर्ताका एकदुई दिनअगाडि मात्र सत्ता गठबन्धनइतरको एमाले गठबन्धनमा जोडिए पनि स्वतन्त्रको तारो सत्तापक्ष र इत्तरका दुवै गठबन्धनका नेताहरूमाथि पर्ने प्रस्ट देखिएको पर्सावासीको आँकलन छ । पर्सामा यो पटकको पौठेजोरी दुवै गठबन्धन दलका नेताहरूकै बीचमा बढ िपर्ने आँकलन भइरहेका समयमा तीनै गठबन्धन दलले टिकट नदिएपछि उछिट्टिएर स्वतन्त्र बनी उम्मेदवारी दर्ता गराएकाहरूको भोट तानातानले परिणाम यसै आउँछ भन्नेमा आशंका बढाएको स्थानीय उमेश साह कानुले बताए ।
प्रदेश सभा सदस्यका लागि दलका नेता तथा मधेस प्रदेशका बहालवाला मुख्यमन्त्रीसँग लड्न पर्सा १ ‘ख’मा १४ जनाले त स्वतन्त्रमा नै उम्मेदवारी दर्ता गराएको तथ्यांकले देखाएको छ । सो एउटै पदका लागि दल र स्वतन्त्र गरी कुल २१ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालय पर्साले जनाएको छ । पर्साको क्षेत्र नम्बर १ मा एक प्रतिनिधि सभा सदस्य र २ प्रदेश सभा सदस्य पदका लागि कुल ६२ जनाको उम्मेदवारी परेकोमा २४ जना मात्र दलका नेता र बाँकी ३८ जना स्वतन्त्र रहेको पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसैगरी, निर्वाचन क्षेत्र नम्बर २ मा पनि कुल ३ पदकै लागि हुने निर्वाचनमा ३४ जनाको उम्मेदवारी परेका मध्ये १७ जनाको स्वतन्त्रमा नै उम्मेदवारी परेको छ ।
पर्साको निर्वाचन क्षेत्र नम्बर ३ मा पनि एक प्रतिनिधि सभा सदस्य र २ प्रदेश सभा सदस्य ३ पदकै लागि ३८ जनाको उम्मेदवारी दर्ता भएकोमा २१ जना स्वतन्त्रका उम्मेदवार छन् । त्यसैगरी, पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा पनि ३३ जनाको उम्मेदवारी परेकोमा १३ जना स्वतन्त्रका उम्मेदवार रहेको पर्सामा उम्मेदवारी दर्ता भएको तथ्यांकले देखाएको छ । चारवटै निर्वाचन क्षेत्रका कुल १ सय ६७ दर्तामध्ये ७८ जना मात्र राजनीतिक दलका नेता कार्यकर्ताको उम्मेदवारी परेको छ । बाँकी ८९ जना भने सबै स्वतन्त्रका उम्मेदवार छन् । ती पनि अधिकांश गठबन्धन र इतरको एमाले गठबन्धनले टिकट नदिने भएपछि रुष्ट भएका दलका पुराना नेताहरू यसपटक भने काठमाडांैका मेयर बालेन साहको निर्वाचन शैलीझैं गरी नेपालको झन्डा ढाडमा ओढेर मनोनयन दर्तामा आएका थिए ।
माउ पार्टीको कार्यबाट आजित भएर पार्टी पद्धति त्याग गरी स्वतन्त्रबाट मनोनयन दर्ता गराउनेमा नेपाली कांग्रेस पर्साका पूर्वसभापति तथा संविधान सभा सदस्य अजयकुमार द्विवेदी, फोरमका तर्फबाट पहिले पर्सा १ बाट निर्वाचत भई कृषि राज्यमन्त्रीसमेत बनेकी र तत्काल मधेस प्रदेश सभा सदस्यसमेत रहेकी करिमा वेगमसमेत यसपटक स्वतन्त्रमा होमिएका छन् । त्यसैगरी, नेपाली कांग्रेसको भातृ संगठन नेविसंघका केन्द्रीय सदस्य सुधीर पटेल, जसपाका युवा नेता मुकेश द्विवेदी र लोसपाका केन्द्रीय सदस्य शशिकपुर मियादेखि स्थानीय क्रियाशील युवा नेतासमेत स्वतन्त्रको आवरणमा उम्मेदवारी दर्तामा उत्रिएका छन् ।
पार्टीमा आबद्ध रही सक्रिय राजनीति गरेका सत्ता गठबन्धन र एमाले गठबन्धनका असन्तुष्ट नेताहरू स्वतन्त्र उम्मेदवारी दिनुपर्नाको कारण नै तत्काल माउ पार्टीको रवैया गलत भएको आरोप लगाउँछन् । यस्तो आरोप लगाउनेमा पर्साको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्रबाट मनोनयन दर्ता गराएका अजयकुमार द्विवेदी पनि छन् । स्थानीय निर्वाचनमा मात्र नभई आगामी निर्वाचनमा पनि पार्टीले पर्सामा नेपाली कांगे्रसलाई सखाप पार्ने प्रपञ्च गरेकोले आपूm सो पार्टीको कार्यशैलीमा सहमत रहन नसकेको संकेत गर्दै बाध्य भएर स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएको उनले तर्क गरे ।






