स्थायी बसोबास, अध्ययन, अध्यापन र खेतीपातीले आप्mनो सभ्यता नष्ट हुन्छ भन्ने र फिरन्ते जीवन बिताउने राउटे अहिले बदलिँदो परिवेशमा प्रवेश गरिरहेका छन् । वनको राजा भन्न रुचाउने र भ्रमणशील जीवनयापन गर्दै आइरहेका राउटेले अहिलेसम्म नेपाली नागरिकता स्वीकार गरिरहेका छैनन् । तर पनि, आफूहरू नेपाली हुन पाएकोमा गर्व गर्छन् । पछिल्लो समयमा सरकार, सरकारी निकाय तथा विभिन्न संघ÷संस्थाको प्रत्यक्ष सम्पर्कमा रहेका उनीहरू सापेक्ष स्थायी बसोबासमा रमाउन थालिसकेका छन् । उनीहरूको दैनिकी पनि फेरिएको छ । भत्ता लिने र त्यसैमा रमाउने गर्न थालिसकेका छन् । पेय पदार्थमा रक्सीको लत निकै बसिसकेको छ । उनीहरूको उत्पादनका रूपमा रहेका कोसी, मदुस, पिर्का, बाकस बनाउने र बेच्ने काम कम हुँदै गएको छ । आप्mनो समुदायभन्दा बाहिरका मानिससँग बोल्न नरुचाउने उनीहरू अहिले सरकार तथा विभिन्न संघ÷संस्थाका मानिससँग घण्टौं गफिन थालेका छन् । उनीहरूको आनीबानी पनि फेरिँदै गएको छ । आप्mनो परम्परागत उत्पादन पेसा छोडेर परनिर्भर हुँदै जान थालेपछि उनीहरूको जीवनशैलीमा फरकपना देखापर्नु अनौठो कुरा होइन ।
दक्षिण एसियामा प्राचीन फिरन्ते जातिका रूपमा रहेका राउटे अब स्थायी बसोबास गर्ने नेपालीसँग घुलमिल हुन थालिसकेका छन् । यद्यपि, राउटे मुखियाहरू भने आप्mनो संस्कार र संस्कृति नासिँदै र मासिँदै गएप्रति हरसमय पश्चाताप गरिरहन्छन् । तर, उनीहरूभित्र आप्mनै संस्कार नासिँदै गएको र आप्mनो अगाडि अन्य विकल्प पनि नभएको विरोधाभाषपूर्ण अन्तरविरोध पनि सँगसँगै रहने गरेको छ । यसले उनीहरूको मनमा द्विविधा उत्पन्न गरिरहेको छ । तर, राउटे समुदायभित्रका युवा पुस्तामा भने नयाँ दुनियाँमा प्रवेश गर्ने लहड र तृष्णा जागिसकेको छ । उनीहरूको वेशभूषा, भाषा, इच्छा तथा व्यवहारबाट यो कुराको सहज अनुमान गर्न सकिन्छ । यसका पछाडि मूलतः खानपान र यसका स्रोतले काम गरेको छ । उनीहरू कन्दमूल तथा जंगली जनावरजस्ता खानाको स्रोतमा निर्भर रहनुभन्दा सरकार र संघसंस्थाको सहयोगमा परनिर्भर हुँदै आएका छन् । एक दशक जति उनीहरूले यस्तो जीवनयापन गर्दा उनीहरूमा परनिर्भरता नै खाना र रहनसहनको मूल स्रोत बनिसकेको छ । उनीहरू यसैमा बानी पर्दै र अभ्यस्त हुँदै गइरहेका छन् ।
परम्परागत रूपमा गरिँदै आएको बाँदरको सिकार तथा जंगली कन्दमूल संकलनबाट मात्र जीवननिर्वाह असम्भव हुँदै गएपछि कृषिमा निर्भर रहेका र स्थायी बसोबास भएका मानिसलाई आफुहरूले बनाएका काठका भाँडाकुँडा दिएर अन्न साट्न थालेका थिए । यो चरण उनीहरूका लागि स्थायी बसोबास र परनिर्भरतातर्फको नौलो तर एक अनिवार्य काल खण्ड बनेर आएको थियो । तापनि, राउटेहरूले अन्नबाहेक अरू खानेकुरा र पैसा छोए पाप लाग्छ भनेर आप्mनो जंगली जीवनलाई निरन्तरता दिन प्रयास भने जारी नै राखेका थिए । अहिले, समयले कोल्टो फेरेपछि उनीहरू सरकार र संघसंस्थाबाट मासिक भत्ताका रूपमा पैसा लिएर जीवन गुजारा गरिरहेका छन् । त्योभन्दा पनि बढी त उनीहरू मदिरा पिएर लट्ठ हुने गरेका छन् । कतिपय जानकारले त महाभारतमा श्रीकृष्णको द्वारका मदराले नष्ट भएझैं राउटेको संस्कार र सभ्यता पनि मदिरा र भत्ताले विलोप गरिदिनेछ भनी ठोकुवा गरिरहेका छन् । राउटे स्वयंलाई आप्mनो संस्कृति मासिने डर भए पनि उनीहरू स्थायी बसोबास भएका मानिससँग छोटो समयमै घुलमिल हुने उनीहरूको बदलिँदो जीवनपद्धति र परिवेशले स्पष्ट संकेत गरिसकेको छ ।






