पोखरामा पनि चल्यो डोजर

पोखरा । स्थानीय तह निर्वाचनसँगै काठमाडौंमा मेयर निर्वाचित बालेन साहको डोजर अभियानको तरंग तालनगरी पोखरासम्म आइपुगेको छ । बढ्दो सहरीकरणका कारण ट्राफिक जाम बरोबर भइरहेको अवस्थामा पोखराले पनि बालेनको सिको गर्दै माददण्डविपरीत सञ्चालित अन्डरग्राउन्ड पार्किङ खाली गराउन थालेको छ ।

पोखरा महानगरमा करिब २ सय ५० अन्डरग्राउन्ड पार्किङ छन् । तर, अधिकांश मापदण्डविपरीत सञ्चालित छन् । महानगरले पटकपटक सूचना जारी गर्दै त्यस्ता अन्डरग्राउन्ड खाली गराउन निर्देशन दिए पनि कतिपयले अटेर गरेकामा महानगरले मंगलबारदेखि डोजर चलाउन थालेको हो । त्यसको सुरुवात पोखराको मुख्यबजार महेन्द्रपुल–चिप्लेढुंगादेखि भएको छ ।

सेलवेज टावरको बेसमेन्टमा सञ्चालनमा रहेको विगबजार भने स्थानान्तरणको क्रममा रहेकाले सोका लागि ७२ घण्टाको अल्टिमेटम दिइएको छ ।

रातदिन काम गरेर भए पनि पार्किङ खाली गर्न मेयर धनराज आचार्यले सञ्चालकलाई निर्देशन दिएका छन् ।

महेन्द्रपुल गरिमा विकास बैंकको शाखालाई समेत तत्काल स्थानान्तरण गरी भूमिगत पार्किङ खाली गर्न महानगरपालिकाका प्रमुख आचार्यले निर्देशन दिए ।

सांकेतिक रूपमा बैंकका अगाडि रहेको फलामको रेलिङ बार भत्काइदिएको छ । महेन्द्रपुलमै रहेको हुलाक निर्देशनालयको कम्पाउन्डसमेत एक साताभित्र नहटाए महानगरपालिका आफैंले हटाउने जनाएको छ ।

‘हुलाक निर्देशनालयले आफ्नो भवन मापदण्डअनुसार नै निर्माण गरेको छ,’ पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले भने, ‘तर यसले निर्माण गरेको कम्पाउन्ड भने मापदण्डविपरीत छ, हुलाकलाई कम्पाउन्ड हटाउन एक साता पर्खन्छौं । एक सातामा पनि नहटाए महानगरपालिका आफैंले हटाउँछ ।’

महेन्द्रपुलस्थित सीता भवन र मोबाइल टावरको बेसमेन्ट भने खाली भइसकेको छ ।

लेकसाइड क्षेत्रका व्यवसायीले भने आफ्ना बेसमेन्टलाई पार्किङकै रूपमा प्रयोग गरिरहेका छन् । नयाँबजार क्षेत्रमा रहेका भूमिगत पार्किङमा अहिले पनि प्रेसदेखि गाडीका सोरुम तथा पार्टपुर्जा बिक्री र मर्मतसम्म सञ्चालनमा रहेको पाइएको छ । तिनीहरूलाई पनि महानगरपालिकाले क्रमशः हटाउँदै जाने जनाएको छ

महेन्द्रपुलदेखि सिद्धार्थचोकका भूमिगत पार्किङलाई दुईपांग्रे र न्युरोड क्षेत्रमा रहेका पार्किङमा कार पार्किङका रूपमा प्रयोग गर्ने योजना बनाइएको प्रमुख आचार्यले बताए । सडकको पार्किङलाई व्यवस्थापन गर्नेगरी काम थालिएको उनको भनाइ छ ।

महानगरका अन्डरग्राउन्ड पार्किङलाई पार्किङकै रूपमा प्रयोग गरिए सडकमा हुने अव्यवस्थित पार्किङ र ट्राफिक जामको समस्यामा कमी आउने महानगरको विश्वास छ ।

तपाइको प्रतिक्रिया
(Visited 350 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वीरगन्जका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ