अर्थतन्त्रलाई संकटबाट जोगाउन सुशासन र उत्पादनमा जोड

काठमाडौं । मुलुकको अर्थतन्त्र संकटबाट जोगाउन उत्पादन र सुशासनमा जोड दिनुपर्नेमा अर्थविद्हरूले सुझाएका छन् ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा बिहीबार राजधानीमा आयोजित ‘नेपालको वर्तमान आर्थिक अवस्था र सुधारका लागि सञ्चारकर्मीले खेल्नुपर्ने भूमिका’ विषयक कार्यक्रममा उनीहरूले सो सुझाव दिएका हुन् ।

कोरोना महामारीका कारण विश्वका अधिकांश राष्ट्र आर्थिक संकटमा फसिरहेको अवस्थामा नेपाल पनि त्यसबाट अछुतो रहन नसकेको उनीहरूले बताए । आर्थिक अवस्था सुधार गर्न सरकार, नीजि क्षेत्र, नागरिक समाज र सञ्चार क्षेत्रले समन्वयात्मक भुमिकासाथ अघि बढ्नुपर्ने अर्थविद्को जोड छ ।

अर्थ मन्त्रालयका राजश्व सचिव रामेश्वर दंगालले राजश्व वृद्धिका लागि सरकारले विभिन्न उपाय खोजी गरिरहेको बताए । हाल केही वस्तुमा गरिएको आयात प्रतिबन्धका कारण राजस्व संकलन प्रभावित बनेको उनको कथन छ ।

राजस्व सचिव दंगालले भारतले निर्यातमा लगाएको प्रतिबन्धका कारण नेपालमा चिनी तस्करी बढेको र यसले केही समस्या ल्याएको सुनाए । आर्थिक अवस्था सुधारका लागि सुशासन आवश्यक रहेकोसमेत उनले स्पष्ट पारे ।

‘भारतले लगाएको प्रतिबन्धले नेपालमा चिनी चोरी पैठारी बढेको हो कि भन्ने हाम्रो तथ्यांक, बजारमा चिनीको उपलब्धता हेरेर त्यस्तो देखिन्छ,’ उनले भने, ‘बजारमा चिनीसँगै लत्ता कपडा पनि चोरीपैठारी बढेको पाइएको छ ।’ खुला सीमानाका कारण यो समस्या देखिएको उनले औंल्याए । यसबाट राजस्वमा प्रत्यक्ष असर पारेको दंगालले बताए ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले तरलता अभाव नभएको तर लगानी योग्य रकम अभाव भने रहेको सुनाए । नेपालमा आयातका लागि पैसा बाहिर जाँदा तरलता अभावजस्तो देखिएको उनको भनाइ छ । विश्व अर्थतन्त्रमा परेको प्रभाव, कोरोना महामारीलगायतले यस्तो स्थिति आएको उनले स्पष्ट पारे ।

बैंकर्स संघ अध्यक्ष अनिलकुमार उपाध्यायले आगामी दिन पुँजीबजार, ऋण पत्र स्थिर बनाउनुपर्ने, भेन्चर क्यापिटल बजारमा ल्याउनुपर्ने आवश्यकता औंल्याए । यी क्षेत्रबाट पैसा संकलन गरेर सरकारलाई चाहिने स्रोत बलियो बनाउनुपर्ने उनले सुझाव दिए ।

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव हटाउन राष्ट्र बैंकले विदेशबाट ‘फन्ड’ ल्याउन सहयोग गर्नुपर्नेमा जोड दिए ।

राष्ट्र बैंकले बाहिरबाट ‘फन्ड’ ल्याउन सहयोग गरे क्रमिक रूपमा तरलता सहज बन्दै जाने उनको विश्वास छ । अध्यक्ष पौडेलले वैदेशिक मुद्रा बढाउन विप्रेषणमा मात्रै भर पर्नुभन्दा पनि निर्यातमा जोड दिनुपर्ने बताए ।

अर्थविद् डा. चन्द्रमणि अधिकारीले पत्रकारले सरकारले ल्याउने बजेटसम्बन्धी पूर्ण रिपोर्टिङ गर्नुपर्ने औंल्याए । ‘बजेट भाषणको सुरुका दिन रिपोर्टिङ र अन्तरक्रिया गर्ने गरे पनि बजेट लागू भए वा नभएको विषयमा भने नहुने समस्या छ,’ उनले भने, ‘त्यसले गर्दा बजेट तर्जुमा, प्रस्तुति र कार्यान्वयन अवस्था बाहिर ल्याउन सकेमात्र पारदर्शी हुन्छ ।’

त्यस्तै, राजधानी दैनिकका सम्पादक सागर पण्डितले नीतिगत भ्रष्टाचार रोक्न सकेमात्र मुलुकले आर्थिक विकास र समृद्धि हासिल गर्ने बताए । नेपाल आर्थिक संकटमा फस्नुको मुख्य कारण भ्रष्टाचार, अनियमितता र सेटिङ नै भएको उनले टिप्पणी गरे ।

नेपालको वैदेशिक ऋण २० खर्बभन्दा बढी रहे पनि त्यसको उपलब्धी भने सन्तोषजनक नभएको उनले स्पष्ट पारे । सम्पादक पण्डितले पछिल्लो समय राजनीतिक व्यक्तित्व भ्रष्टाचारमा लिप्त भएकै कारण त्यसलाई रोक्न व्यूरोक्रेसीले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

तराई विकास तथा सञ्चार केन्द्र नेपालका सभापति गोविन्दप्रसाद चौलागाईंले मुलुकको अर्थतन्त्र संकटतर्फ धकेलिइरहेकाले दुर्घटना हुनबाट जोगाउनुपर्ने आवश्यकता औंल्याए ।

तपाइको प्रतिक्रिया
(Visited 271 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आंशिक स्वस्तिक छाप बदर गर्ने सहमतिपछि भरतपुरमा मतगणना पुनः सुरू