काभ्रे २ मा गोकुल बास्कोटा र शिव हुमागाईको भिडन्त


काभ्रेपलाञ्चोक । ४ मंसिरमा हुने चुनावमा काभ्रे–२ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका नेता गोकुल बाँस्कोटा र नेपाली कांग्रेस नेता शिवप्रसाद हुमागाईं बिच भिडन्त हुने भएको छ ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा आरामदायी ढंगले चुनाव जितेका नेकपा एमालेका नेता एवं पुर्व–सञ्चारमन्त्री गोकुल बाँस्कोटा पाँच वर्षपछि फेरि उम्मेदवार बन्दा भने पहिलेजस्तो सहज अवस्था छैन । विगतको निर्वाचनमा साथ दिएको नेकपा माओवादी केन्द्र र एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले अहिले बाँस्कोटाका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईंलाई साथ दिएका छन् ।

पाँच वर्ष अघि भएको निर्वाचनमा बाँस्कोटाले ५४ हजार ४२७ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका मधु आचार्यले ३६ हजार ५७९ मत पाएका थिए । अर्थात बाँस्कोटाले १७ हजार ८४८ मतान्तरले जितेका थिए । बास्कोटाले पाएको मत देशभरकै निर्वाचन क्षेत्रमा तेस्रो धेरै थियो । बाँस्कोटाका प्रतिस्पर्धी कांग्रेस नेता हुमागाईं पनि पूर्वसांसद हुन् । चार पटक कांग्रेसको जिल्ला सभापति र केन्द्रीय सदस्य बनेका हुमागाईं २०५६ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यसपछि २०६४ को संविधानसभा निर्वाचनमा एमालेका कृष्णप्रसाद सापकोटासँग र २०७० को संविधान सभा चुनावमा एमालेकै रामहरि सुवेदीसँग पराजित भएका थिए ।

बाँस्कोटा पनि २०४३ सालमा अनेरास्ववियुको जिल्ला सचिव भएका, त्यसपछि अध्यक्ष र २०५४ देखि पार्टीको जिल्ला सदस्य बनेका थिए । २०५९ देखि २०६३ सम्म एमालेको जिल्ला उपसचिव र २०६४ देखि २०६६ सम्म जिल्ला सचिव भएका थिए । २०६७ देखि २०७१ सम्म दुई कार्यकाल नेकपा एमाले जिल्ला अध्यक्ष बनेका बाँस्कोटा हाल पार्टीको पोलिट्ब्यूरो सदस्य छन । बाँस्कोटा २०७० को संविधान सभा सदस्य पदमा कांग्रेसका कञ्चनचन्द्र बादेसँग पराजित भएका थिए ।

खरो स्वभावका बाँस्कोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ठेकेदारका एजेन्टसँग ७० करोड रुपैयाँ रकम बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि विवादित बनेका थिए । सोही कारणले उनले मन्त्री पदबाट राजीनामा पनि दिएका थिए । चुनावी कार्यक्रमहरुमा उनले प्रमाण ल्याउन चुनौती दिँदा कसैले ल्याउन नसकेको बताउने गरेका छन् । आफू सरकारमा हुँदा गरेको कामको आधारमा आफूले चुनाव जित्ने बाँस्कोटाले बताए । ‘पार्टीप्रति प्रतिबद्ध मत, जनताले गरेको विश्वास र जनतासँग गरेको प्रतिवद्धताअनुसार गरेको काम नै मेरो जितको आधार हो’, बाँस्कोटाले भने, ।

कांग्रेस उम्मेदवार हुमागाईं आफूले जितेमा काभ्रेलीको शिर उच्च राख्ने बताए । ‘जनताले संविधानको रक्षा र सुशासन चाहेका छन्’, उनले भने, । काभ्रे–२ मा एमाले र कांग्रेसका सँगै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं, स्वतन्त्र उम्मेदवार मनोज पण्डितसहित १६ जना उम्मेदवार छन ।

तपाइको प्रतिक्रिया
(Visited 766 times, 1 visits today)

epaper

ताजा समाचार

सम्भव छ, सय अर्ब डलरको अर्थतन्त्र ?