काठमाडौं–२ : ओनसरी, मणिराम र कुन्तीबीच टक्कर

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार तीव्र प्रचारप्रसार दौडमा छन् । यो क्षेत्र २ बाट स्वतन्त्र र दल गरी ३० उम्मेदवार चुनावी मैदानमा छन् । आफूआबद्ध पार्टी तथा चुनावी एजेन्डासहित प्रसारप्रसार तथा घरदैलो गर्न उनीहरूलाई भ्याइनभ्याइ छ ।

काठमाडौं क्षेत्र २ का उम्मेदवार घरदैलो पुगेर मत मागिरहेका छन् । ‘आफू विजयी भए सो क्षेत्रमा विकासका काम गर्ने’ प्रतिबद्धतासहित उनीहरू ‘आफूलाई मत दिन’ मतदातासँग आग्रह गरिरहेका छन् । काठमाडौं २ मा गठबन्धनका तर्फबाट नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार नै मुख्य प्रतिस्पर्धा देखिन्छन् ।

माओवादी केन्द्रबाट पूर्वसभामुखको जिम्मेवारी निर्वाह गरिसकेकी नेत्री ओनसरी घर्ती र एमाले नेता मणिराम फुँयाल प्रतिस्पर्धामा छन् । ओनसरीलाई सत्तारूढ गठबन्धनको समर्थन र फँुयाल एक्लै भिडेका छन् । राप्रपासँग चुनावी तालमेल गरेको एमालेले काठमाडौं २ मा भने तालमेल गरेको छैन ।

राप्रपाले यहाँ छुट्टै उम्मेदवार उठाएको छ । राप्रपाको तर्फबाट कुन्तीदेवी पोखरेल चुनावी मैदानमा छिन् । यहीँबाट झापा गौरादहका कोषराज सुवेदीले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । दलीय प्रतिस्पर्धा दरिलो देखिने यस क्षेत्रमा आमजनता भने ‘फरक अनुहार’को खोजी देखिन्छन् । गत स्थानीय तहमा पाएको मतका आधारमा माओवादी केन्द्र चौथो स्थानमा छ ।

सो निर्वाचनमा यस क्षेत्रका आठवटा वडामध्ये कांग्रेसले ५, एकीकृत समाजवादीले १ वटा वडामा जित हासिल गरेका थिए । यो निर्वाचन क्षेत्रमा २०६४ को संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र २०७० सालमा भएको संविधानसभा दोस्रो निर्वाचनमा माधवकुमार नेपाल विजयी भएका थिए । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनअनुसार अन्तर्घात नभई इमानदारीसाथ सत्तारूढ गठबन्धनले मतदान गरे ओनसरीलाई सहज हुने देखिन्छ ।

एमालेका उम्मेदवार गठबन्धनका असन्तुष्टको मत पाए फुँयाललाई सहज हुन सक्छ । उनी असन्तुष्ट फकाउने प्रयास गरिरहेका छन् । २०७४ को निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका माधवकुमार नेपाल सो क्षेत्रमा विजयी भएका थिए । नेपालले १२ हजार ४ सय ६३ मतान्तरले कांग्रेसका उम्मेदवार दीपक कुइँकेललाई पराजित गर्दै २७ हजार ३ सय ६६ मत प्राप्त गरेका थिए । अहिले नेपाल एमालेबाट विद्रोह गरी गठन गरिएको नेकपा (एकीकृत समाजवादी) अध्यक्ष छन् ।

त्यतिबेला नेपाललाई वाम गठबन्धनको समर्थन थियो । गत स्थानीय तह निर्वाचनमा सो क्षेत्रका आठ वडामध्ये कांग्रेसले ५, एमालेले २ र एकीकृत समाजवादीले १ वडामा जित हासिल गरेका थिए । सोही क्षेत्रमा काठमाडौं महानगरपालिका–९ र ३२ तथा कागेश्वरी मनोहरा नगरपालिका–४, ५, ६, ७, ८ र ९ वडा पर्छन् । जसमध्ये कांग्रेस काठमाडौं महानगर ९ र सोही क्षेत्रमा पर्ने कागेश्वरी मनोहराको ५, ७, ८ र ९ वडामा विजयी भएको थियो ।

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं २ मा राप्रपाबाट कुन्तीदेवी पोखरेल (उपाध्याय), राप्रपा नेपालबाट महेश बाँस्तोला, नेमकिपाबाट अनिल श्रेष्ठ, जसपाबाट गोपालबहादुर तण्डुकार, विवेकशील साझाबाट धनेज थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम, नेपाली कांग्रेस (बिपी)बाट हेमविक्रम सिलवाललगायतको उम्मेदवारी रहेको छ ।

काठमाडौं–२ मा ४० मतदानस्थल र ९५ मतदान केन्द्र निर्धारण गरिएको छ । कुल मतदाता संख्या ८१ हजार ९ सय ७० रहेको छ । जसमध्ये महिला ४० हजार ९ र पुरुष ४१ हजार ९ सय ६१ मतदाता छन् ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दोलखा प्रदेश सभा (ख)मा एमालेका केसी विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९