काठमाडौं । नेपालमा ७० प्रतिशत भन्दा बढी दृश्य छायांकन गरिएको बलिउड फिल्म ‘उचाई’ भोलीबाट बिदेशसँगै नेपालमा पनि रिलिज हुँदैछ । यो चलचित्रको वितरकहरुले नेपालमा उचाईलाई कर मिनाहा गरिनु पर्छ भनेका छन् ।
नेपालको सुन्दरतालाई विश्वभर प्रचार गरेको यो फिल्म नेपालको पर्यटन प्रवर्धनमा टेवा पुग्ने यसका वितरकहरुको दाबी छ । यो फिल्मलाई ट्राभलर्स क्रिउ फिल्मस्ले नेपालमा वितरण गर्दैछ । फिल्मलाई नेपालमा राजन पुरी, विराज कडरिया र सुनिल मानन्धरले मिलेर वितरण गर्दैछन् ।
तर उनीहरुको मागलाई चलचित्र विकाश बोर्डले वास्ता गरेको छैन । वितरकको नेपालमा केवल फिल्म वितरण गर्ने अधिकार रहेकाले उनीहरुको यो मागलाई बोर्डले अर्थ हिन मानेको छ । यसरी वितरकले माग्दैमा कर छुट दिन नमिल्ने बोर्डका एक पदाधिकारीले राजधानीलाई बताए ।
तथापि नेपालमा छायाँकन गरिएको यो चलचित्रमा नेपालका प्राविधिक, केही कलाकारले काम गरेका थिए । फिल्ममा क्यामेरा देखि अन्य उपकरण पनि नेपालकै प्रयोग गरिएको थियो । नेपालमा यो फिल्म छायांकन गर्दा करिब २० करोड खर्च भएको यसको नेपाल व्यबस्थापन हेरेका सुरज आचार्यले जिकिर गरेका छन् ।
४ साथीको मित्रता र नेपाल भ्रमणको कथामा यो फिल्मलाई निर्माण गरिएको छ । राजश्री प्रोडक्शनले यो फिल्मलाई निर्माण गरेको हो । सुरज बर्जात्याको निर्देशनमा तयार भएको फिल्ममा अमिताभ बच्चन, अनुप खेर, बोमन इरानी, डेनी, परिणिती चोपडा लगायतका कलाकारको अभिनय छ । पौढ अबस्थामा सगरमाथा हेर्ने सपना बोकेको एक व्यक्ति र उनका केही साथीको सगरमाथा भ्रमणको कथामा यो फिल्म केन्द्रित छ ।