धनगढी । आसन्न निर्वाचनमा कैलालीका ३४ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । जिल्ला कारागार कैलालीमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका ६१५ कैदीबन्दीमध्ये ३४ जनाले मंसिर ४ गतेको निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् ।
कैलाली कारागारमा रहेका ३४ जनाको मात्र मतदाता नामावलीमा नाम छ । ती कैदीबन्दीले अस्थायी मतदान केन्द्रबाट सामानुपातिक मतदानको अधिकार पाउने भएका छन् । जिल्ला कारागार कैलालीका जेलर बीरेन्द्र बोहराले कैदीहरुको मतदाता नामावलीमा एक महिलासहित ३४ जनाले मात्र मतदान गर्न पाउने भएको बताए ।
उनका अनुसार ३४ जना कैदीहरुले कारागारकै अस्थायी मतदान केन्द्रमा मतदान गर्नेछन् । जिल्ला कारागारमा बच्चासहित ४० महिला र ५७५ पुरुष कैदी छन् । लामो समयदेखि कारागारमा रहेकाहरुले मतदाता नामावलीमा नाम दर्ता गर्न नपाएको उहाँले जानकारी दिए ।
प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेम भट्टले जिल्लाका विभिन्न स्थानमा गरी ८ स्थानमा अस्थायी मतदान केन्द्र स्थापना गरिएको बताए । ती ८ अस्थायी मतदान केन्द्रबाट चार हजार ५०० ले मतदान गर्ने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
सो कार्यालयले दिएको जानकारी अनुसार धनगढी उपमहानगरपालिकाको कार्यालय एक हजार ८५०, वनदेवी मन्दिरमा १०६, गोदावरी नगरपालिका २ र ४ को महादेव मन्दिरमा २२०, गौरीगंगा–६ मा १५५, गौरीगंगा–८ मा ६७३, लम्कीचुहा–३ मा २९०, टीकापुर–१ मा एक हजार १७२ र कारागारमा ३४ जनाले अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् ।