काठमाडौं । आसन्न निर्वाचनअघि ४८ घण्टाको ‘स्थिर समय’मा प्रचारप्रसारलगायत कुनै पनि गतिविधि गर्न नपाइने भएको छ । अघिल्ला निर्वाचनमा भने आयोगले सो समयलाई ‘मौन अवधि’ भन्ने गरेको थियो । यसपटक ‘स्थिर समय’को संज्ञा दिइएको छ ।
निर्वाचन आयोग आयुक्त रामप्रसार भण्डारीका अनुसार आगामी ४ मंसिरको ४८ घण्टाअघिको समय ‘स्थिर’ मानिनेछ । सो समय राजनीतिक दल तथा उम्मेदवारले कुनै पनि प्रकारका ‘चुनावी प्रचारप्रसार’लगायत गतिविधि गर्न पाउनेछैनन् ।
१ मंसिर राति १२ बजेपछि कुनै पनि उम्मेदवार र राजनीतिक पार्टीलाई निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधिमा रोक लगाइएको छ । ‘निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सम्बन्धित कुनै पनि कार्यक्रम गर्न पाइँदैन, सम्पूर्ण कार्यक्रम निषेध गर्दछ,’ आयुक्त भण्डारीले भने ।
चुनाव प्रचारप्रसारमा रोक
सो समयलाई विगतमा ‘मौन अवधि’ भन्ने गरिए पनि त्यसको सट्टा ‘शून्य समय’ भन्नु उपयुक्त हुने भएकाले ४८ घण्टालाई ‘स्थिर समय’ सम्बोधन गर्न उचित हुने आयुक्त भण्डारी बताउँछन् । उनका अनुसार १ मंसिर राति १२ बजेबाट निर्वाचन प्रचारप्रसारसम्बन्धी सम्पूर्ण काम निषेध हुन्छ । त्यो समय कुनै पनि प्रकारको ‘प्रचारप्रसार वा यसलाई मत देऊ, यसलाई नदेऊ भन्न’ पाइँदैन ।
सो समयभित्र कसैले प्रचारप्रसार गरेको पाइए ‘निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय गरिने’ आयोगले जनाएको छ ।
मोबाइल र क्यामेरा निषेध
निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदान केन्द्रभित्र मोबाइल तथा क्यामेरा लैजान निषेध गरेको छ ।
आयोगको मंगलबारको बैठकले मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चारबुँदे निर्देशन गरेको हो ।
आयोगका अनुसार मतदानका दिन केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिले सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा निषेधित वस्तु लैजान पाउने छैनन् । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ बमोजिम निर्देशन गरिएको छ ।
मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिइआएको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गर्ने र सलाई, लाइटर, क्यामेरा, मोबाइलजस्ता वस्तु लिइआएमा मतदान केन्द्र प्रवेश बिन्दुमा राख्ने व्यवस्था मिलाउने वा मतदान केन्द्रबाहिर ‘निज’लाई उपयुक्त लागेको स्थानमा राख्न लगाएर मतदान केन्द्रमा प्रवेश गर्न अनुमति दिइने भएको छ ।
यसैगरी, कसैले फोटो खिच्ने क्यामेरा वा मोबाइल साथमा लगि मत संकेत गर्ने स्थान मतदान कक्षमा गएमा तत्काल त्यस्तो क्यामेरा वा मोबाइल जफत हुने आयोगले निर्देशनमा भनेको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९, निर्वाचन आचारसंहिता, २०७९ विपरीत उल्लिखित कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमार्फत मतदान केन्द्रमा खटिने सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सुरक्षाकर्मीलाई सो’bout जानकारी गराउन आयोगले निर्देशन गरेको हो ।