ललितपुर । गोदावरी नगरपालिका–९ छम्पीमा घरदैलो कार्यक्रम सुरु भएको केही मिनेटमै एमाले अध्यक्ष केपी शर्मा ओली आउने खबर फैलिएपछि माहोल बेग्लै बन्यो । हल्ला चलेको १० मिनेटमै ओली टुप्लुक्क आइपुगे ।
घरदैलो गर्दै मत माग्दै गरेको एमाले उम्मेदवार नवराज सिलवाल र चेतनाथ सञ्जेल छक्क परे । ओली आएको खबर एकछिनमै फैलिँदा स्थानीय झुम्मिहाले । १५ मिनेट समय बिताएका ओलीले ७ मिनेट सम्बोधन गरे ।
पूर्वप्रधानमन्त्रीसमेत ओलीले ‘ललितपुर १ मा एमालेबाहेक अन्य कुनै दलले जित्नुपर्ने कुनै आधार नभएको’ दाबीसमेत गरे । ‘देश–प्रदेशका लागि अरूले विगतमा केके गरे, त्यो सबैले देखेका छन्,’ उनले भने, ‘एमाले सरकार हटाएर गठबन्धनको परमादेशी सरकार बनाएको १६÷१७ महिनाभित्र देशलाई बरबाद बनाउने काम मात्र छ ।’
अबका दिन लोकतन्त्र रक्षा र विकास, जनताका जीवनमा सकारात्मक परिवर्तन ल्याउन तथा दिगो विकासका लागि एमालेले जित्नुपर्ने ओलीको भनाइ छ । देश विकास, लोकतन्त्र रक्षा र जनताका जीवनमा सकारात्मक परिवर्तन ल्याउन आगामी निर्वाचनमा एमालेले जित्नुपर्ने उनको जोड छ ।
यसअघि, ललितपुर निर्वाचन क्षेत्र ३ मा पर्ने भैंसेपाटीमा संक्षिप्त भेटघाट र पैदलयात्राका लागि पुगेका ओलीलाई सो क्षेत्रमा पार्टीले युवा, योग्य र अनुभवी उम्मेदवार बनाएकामा नागरिक समाज र स्थानीयका तर्फबाट आभार प्रकट गरिएको थियो ।
ललितपुर क्षेत्र ३ मा प्रतिनिधिसभामा एमालेका तर्फबाट व्यवसायी तथा निर्यातकर्ता अमृत खड्का उम्मेदवार छन् । उनी २०५४ मा तत्कालीन सैंबु गाविस अध्यक्षसमेत बने ।
त्यस्तै, प्रदेश ‘क’मा पुस्तक व्यवसायी तथा पुराना राजनीतिकर्मी रघुनाथ महर्जन तथा ‘ख’मा खोकनाका पूर्वगाविस अध्यक्ष तथा एमाले ललितपुर उपाध्यक्ष प्रेमभक्त महर्जन छन् ।
कार्यक्रममा पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज सुशीला नेपाल, केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार तथा बाबुराम थापा, प्रदेश कमिटी सदस्य बाबुकाजी प्रधान, ललितपुर जिल्ला कमिटी अध्यक्ष पुरुषोतम आचार्य तथा नागरिक समाजका अगुवासहित एमाले नेता तथा कार्यकर्ता सहभागी थिए ।






