रौतहट ३ मा स्वतन्त्र उम्मेदवार नै हावी

काठमाडौं । देशभर सत्तारूढ पाँच दलीय गठबन्धन र प्रतिपक्षी नेकपा एमाले गठबन्धनबीच प्रतिस्पर्धा भइराख्दा मधेस प्रदेश रौतहट ३ मा भने स्वतन्त्र उम्मेदवारबीचमै टक्कर देखिएको छ ।

राष्ट्रिय दलको मान्यता पाएका ६ मध्ये कुनै पनि दलको उम्मेदवार यहाँ छैन । कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र लोसपाको उम्मेदवार यो क्षेत्रमा शून्य छ । माओवादीका तर्फबाट उम्मेदवारी दिएका रवीन्द्र पटेल (धिरज)लाई पार्टीले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिसकेको छ ।

स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सत्तारूढ गठबन्धनले समर्थन गरेको छ । माओवादी केन्द्रले साहलाई समर्थन दिँदै पटेललाई ‘उम्मेदवारी फिर्ता लिन’ निर्देशन दिएको थियो । तर, उनले नमानेपछि साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको माओवादी केन्द्र सचिव एवं मधेस प्रदेश कमिटी इन्चार्ज गणेश साहले बताए ।

रौतहट ३ मा पूर्वमन्त्री प्रभु साह र उद्योगपति ओमप्रकाश जैसवालबीच प्रतिस्पर्धा रोचक प्रतिस्पर्धा छ । कुनै पनि दलका उम्मेदवार नभएकाले ‘कुन स्वतन्त्र उम्मेदवार विजयी हुने ?’ भन्ने चासो बढेको छ ।

– पूर्वमन्त्री प्रभु साह र उद्योगपति ओमप्रकाश जैसवालबीच प्रतिस्पर्धा

– राष्ट्रिय मान्यता प्राप्त ६ वटै दलबाट उम्मेदवार नभएकाले स्वतन्त्र विजयी निश्चित

माओवादी जनयुद्धदेखि सक्रिय साह तत्कालीन नेकपा विभाजन हुँदा एमालेमा लागे । एमाले स्थायी कमिटी सदस्य रहेका साहलाई उम्मेदवार बनाउन पार्टीले टिकट दिए पनि अन्तिम समय उनले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराए । माओवादीले आफ्ना उम्मेदवारलाई ‘ब्याक’ गर्दै साहलाई समर्थन गरिसकेको छ ।

२०६३ मा माओवादीबाट अन्तरिम व्यवस्थापिका संसद् सदस्य बनेका साह २०६४ र २०७० को संविधानसभा सदस्यमा रौतहट–३ बाट निर्वाचित भएका थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाटै निर्वाचित साह पटकपटक मन्त्री भएका छन् ।

रौतहट ३ मा पर्ने मौलापुर नगरपालिका प्रमुखमा साहपत्नी रिना गत निर्वाचनमा विजयी भएकी थिइन् । गत साता जसपा जिल्ला अध्यक्ष धर्मेन्द्रप्रसाद पटेलसमेत पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेर साहको प्रचारप्रसारमा लागेका छन् ।

साहका प्रतिस्पर्धी जैसवाल उद्योगपति हुन् । उनका छोरा सोही क्षेत्रमा पर्ने कटहरीया नगरपालिका प्रमुखमा कांग्रेसका तर्फबाट विजयी भएका थिए । कांग्रेस जिल्ला सभापति जितेन्द्र यादव जैसवालको प्रचारप्रसार गरिरहेका छन् । साहलाई पराजित गर्न सो क्षेत्रमा रहेका एमालेले समेत जैसवाललाई नै आन्तरिक समर्थन छ ।

आर्थिक रूपले सम्पन्न जयसवालको कटहरिया नगरपालिकास्थित डुमरिया टोलमा बैजनाथ सुगर मिल र बाबा डिस्टलरी उद्योग सञ्चालनमा छन् । एक समय उनका व्यापारिक साथी पूर्वप्रहरी महानिरीक्षक प्रदीपशमशेर जबरा हुन् । जबराको घर पनि रौतहटकै गरुडा नगरपालिका–८, जिंगडियामा छ । जबरा र जयसवालको संयुक्त लगानीमा कारोबार हुने गरेको स्थानीय बताउँछन् । जयसवालले आर्थिक बलमा मात्र साहलाई हराउन नसक्ने निष्कर्षसहित उनीविरुद्ध महागठबन्धन बनाउनुपर्ने विश्लेषण स्थानीय नेताको छ ।

उता, माओवादीका उम्मेदवार पटेललाई पार्टीले कारबाही गरे पनि उनी छुट्टै मत मागिरहेका छन् । सत्ता गठबन्धनले विज्ञप्ति जारी गरेर साहलाई समर्थन गरे पनि निर्वाचन आयोगले ‘आफूलाई नै आधिकारिक उम्मेदवार मानेकाले मत मागिरहेको’ पटेलको तर्क छ ।

‘अब गठबन्धनको विज्ञप्तिले केही हुनेवाला छैन । सम्पूर्ण जनता मलाई सहानुभूति व्यक्त गरिरहेका छन्,’ पटेल भन्छन्, ‘सत्ता गठबन्धनबाहिर जयसवाललाई समर्थन गरेको भनेर हल्ला चले पनि भित्रभित्रै मलाई नै उहाँहरूले समर्थन गरिरहनुभएको छ ।’

एकातर्फ साहले सत्ता गठबन्धनको मतको पनि आशा राखेका छन् भने अर्कातर्फ उनले आफूसँगै प्रदेशसभामा स्वतन्त्र उम्मेदवारद्वय केशवराय चौधरी र कुन्दन कुशवाहाका लागि पनि मत मागिरहेका छन् । त्यसकारण गठबन्धनमा आबद्ध दलले आफ्नै आधिकारिक प्रदेशसभा सदस्यका लागि मत मागिरहँदा साहको पक्षमा मत माग्नचाहिँ अप्ठ्यारो परेको कांग्रेसका एक नेता बताउँछन् ।

रौतहट ३ (ख)मा कांग्रेस जिल्ला सभापति यादव पनि उम्मेदवार हुन् । सोही क्षेत्रमा फेरि सत्ता गठबन्धनकै एकीकृत समाजवादीका नागेन्द्र यादव पनि उम्मेदवार छन् । उनी अहिले पनि मधेस प्रदेश सरकारमा बहालवाला राज्यमन्त्री छन् ।

तपाइको प्रतिक्रिया
(Visited 121 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नु भएको हो थाहा छैन : रबि लामिछाने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
नेम्वाङको गृह नगरमा काँग्रेसका उम्मेदवार निर्वाचित