कहाँ चुके हाम्रा विश्वविद्यालय ?

हाम्रो देशमा अहिले दर्जनको संख्यामा विश्वविद्यालय सञ्चालनमा छन् । यीमध्ये देशको जेठो विश्वविद्यालय हो त्रिभुवन विश्वविद्यालय (त्रिवि) । देशमा त्रिविअन्तर्गत सयौंको संख्यामा आंगीक कलेज छन् । त्रिविको इतिहासले मुलुकका विभिन्न क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको पुष्टि गर्छ । देशका राजनीतिज्ञ, प्रशासक, लेखक, बुद्धिजीवी, पत्रकार, डाक्टर, इन्जिनियर, वकिल, शिक्षक, प्राध्यापक अनुसन्धानकर्तालगायतका विभिन्न क्षेत्रका दक्ष जनशक्ति उत्पादनमा त्रिविको ठूलो योगदान रहेको छ । आफूले पनि यस विश्वविद्यालयबाट उच्चशिक्षाका साथै शिक्षाचार्य वारिधि एवं विद्यावारिधि गरेकाले यसको नाम सुन्दा र लोगो देख्दा श्रद्धाले शिर निहुरिन्छ ।

२०१६ सालमा स्थिापित यो विश्वविद्यालयले देशमा मात्र नभएर अन्तर्राष्ट्रिय जगत्मा पनि देशको शिर ठाडो पार्न सफल भएको छ । तर, आजको दिनमा आइपग्दा त्रिभुवन विश्वविद्यालयको शाख घटेको छ । शैक्षिक गुणस्तरसम्बन्धी थुपै प्रश्न उठ्ने गरेका छन् ।

त्यसो त देशका हरेक विश्वविद्यालय समयसापेक्ष रूपान्तरण हुन नसकेको प्राज्ञिक बहस छ । अझै देशको गरिमाका रूपमा रहेको जेठो त्रिभुवन विश्वविद्यालय राजनीतिक हस्तक्षेपले तहस नहस भएको छ । शैक्षिक अनुशासन खल्बलिएको छ । प्राध्यापकदेखि विद्यार्थी तहसम्म राजनीतिक गर्ने मैदान बनेको छ यो विश्वविद्यालय । एकातिर विश्वविद्यालयका माथिल्लो पदमा राजनीतिक भागबन्डाका आधारमा नियुक्ति गर्ने संस्कृति नै बसिसकेको छ ।

अर्कोतिर अनावश्यक रूपमा विद्यार्थी संघसंगठनले पठनपाठनमा अवरोध गर्ने, अमर्यादित नाराबाजी गर्ने, युनिभरसिटी बन्द गर्ने, उच्च पदस्थ पदाधिकारीलाई थुन्ने, कालो मोसो लगाउने, चिट गर्न नपाएको रिसमा प्राध्यापकमाथि प्रहार गर्ने, उच्च पदस्थका कार्यालय बन्द गर्ने, तोडफोड गर्नेजस्ता क्रियाकलाप हुने गरेका छन् । यसरी हेर्दा नैतिक चरित्र भएका जनशक्ति उत्पादन गर्न विश्वविद्यालय चुक्यो । प्राज्ञिक वर्ग चुक्यो । आदर्श जीवन निर्माण गर्न विद्यार्थी चुके ।

देशका विश्वविद्यालयमा विभिन्न विषय एवं संकाय सञ्चालनमा छन् । मानवीकी, सामाजिकशास्त्र, शिक्षाशास्त्र, अर्थशास्त्र, दर्शनशास्त्र, वाणिज्यशास्त्र, विज्ञानशास्त्र, चिकित्साशास्त्र, इन्जिनियरिङलगायतका विषय अध्ययन तथा अध्यापन हुने गरेको छ । संख्यात्मक एवं विषयगत रूपमा विद्यार्थीलाई विश्वविद्यालयमा रोजीछानी विषय अध्ययन गर्ने सुविधा छ । किन्तु छानीरोजी पढेका विषयबाट आर्जन भएको ज्ञान एवं सीपले व्यक्ति, समाज र समग्र देशलाई योगदान गर्न सक्यो कि सकेन ? हाम्रा विश्वविद्यालय वैज्ञानिक, रोजगारमूलक एवं जीवनोपयोगी शिक्षा प्रदान गर्न नसकेको अवस्था छ कि छैन ?

विश्वविद्यालयसम्मको अध्ययन पूरा गरेपछि किन शिक्षित युवा बेरोजगार बन्नुपरेको छ ? शिक्षित युवापुस्ता रोजगारीका लागि अन्तर्राष्ट्रिय बजारमा जान बाध्य किन बाध्य भए ? हाम्रा विश्वविद्यालय सिर्जनशील, अनुसन्धानमुखी, वैज्ञानिक एवं नवचिन्तक नागरिक उत्पादन गर्न किन सक्षम भएनन् ?उल्लेखित सवालको जवाफले हाम्रा विश्वविद्यालयको शैक्षिक गुणस्तरलाई उजागर गर्छ ।

राजनीतिक थाक्रोबिना आफ्नै क्षमताले उच्चपदमा पुग्ने मेरिटोक्रेसी विकास गर्न विश्वविद्यालयका प्राज्ञिक चुके

हाम्रो देशमा नितिगत रूपमा नै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री हुने प्रावधान छ । प्रधानमन्त्री एवं शिक्षामन्त्री राजनीतिज्ञ हुन् । शिक्षा विज्ञ होइनन् । राज्यले शिक्षा क्षेत्रलाई प्रत्यक्ष प्रभाव पार्न सक्ने उच्च पदहरूमा विश्वविद्यालयका सक्षम विज्ञ एवं विशेषज्ञलाई बनाउने नीति बनाए के बिग्रन्छ ? विश्वविद्यालयका उपकुलपति पनि राजनीतिक प्रभावका आधारमा नियुक्त गरिन्छ । राजनीतिले मेरिटोक्रेसीलाई आधार बनाएको देखिँदैन । त्यसैले राइटम्यान इन राइटल्पेस हुन सकेको छैन ।

राजनीतिक दाउपेचकै कारण त्रिविका उपकुलपतिको कार्यालयमा ताला लागेको एउटा दृष्टान्त हो । महिनौंसम्म त्रिविका उपकुलपतिका कार्यालयमा ताला लगाएको टुलुटुलु हेरेर बस्ने राज्यले कसरी विश्वविद्यालयलाई गुणस्तरीय बनाउन सक्छ ?

राजनीति र शिक्षा फरक क्षेत्र हुन् । जसले जे काम गर्न सक्छ उसले त्यही गर्नुपर्छ । प्रधानमन्त्री वा शिक्षामन्त्री हुनका लागि कुनै पनि शैक्षिक मापदण्डको व्यवस्था नभएको हाम्रो जस्तो देशमा जोसुकै प्रधानमन्त्री वा शिक्षामन्त्री भए पनि विश्वविद्यालय कुलपति र सहकुलपति हुने व्यवस्था वैचारिक, सैद्घान्तिक वा प्राज्ञिक कुनै पनि दृष्टिकोणबाट उपयुक्त देखिँदैन ।

यति मात्र होइन । विश्वविद्यालयका विशिष्ट पद भिसी, रजिस्टार, रिडर, डिनलगायतका शैक्षिक प्रशासन र समग्र शैक्षिक व्यवस्थापनमा प्रत्यक्ष प्रभाव पार्ने प्रशासनिक ठाउँहरूमा क्षमताबिना नै आप्mना राजनीतिक आस्थाका व्यक्ति एवं व्यक्तित्व नियुक्ति गर्दै आएको कोही कसैबाट छिपेको छैन । राजनीतिक शक्ति र भक्तिको अगाडि वरीयता र मेरिटोक्रसी छायामा परेको छ । यसरी हेर्दा विश्वविद्यालयलाई मेरिटोक्रेसीका आधारमा सञ्चालन गर्न राज्य चुक्यो । विश्वविद्यालय चुके ।

आज युरोप, अमेरिकालगायत एसिया महादेशका कतिपय राष्ट्र विकासको चरम बिन्दुमा पुग्नुको पछाडि त्यहाँका विश्वविद्यालयको ठूलो भूमिका रहेको पाइन्छ । विकसित देशहरूले पहाडमा सुरुङ बनाएर सडक सञ्जालको विकास गरेका छन् । समुन्द्रमा हिँडेका छन् । आकासमुनि घुमेका छन् । विभिन्न ग्रहमा मानवबस्तीको लागि अनुसन्धान गरिरहेका छन् । आप्mनो देशमा भएको प्राकृतिक स्रोत र साधनको पूर्णरूपमा उपयोग गरेका छन् । कृषि र पशुपालन क्षेत्रको आधुनिकीकरण गरेका छन् । यान्त्रीकीकरण गरेका छन् । उल्लेखित चमत्कारपूर्ण काम गर्नका लागि दक्ष जनशक्तिको आवश्यकता हुन्छ ।

त्यो दक्षशक्ति उत्पादन गर्न सिर्जनशील, मौलिक एवं वैज्ञानिक शिक्षाको आवश्यकता हुन्छ । यो आवश्यकताको देशका उच्च शिक्षालयबाट उत्पादित दक्ष मानवस्रोतले गर्ने हो । दक्ष मानवस्रोत उत्पादन गर्नुपर्ने हाम्रा विश्वविद्यालय राजनीतिक चपेटामा परेका छन् । न त राज्य दुदर्शी बन्न सकेको छ । न त प्राज्ञिक वर्गले राजनीतिक दलको झोला बोक्न छाडेका छन् । एकातिर राजनीतिक दलहरूले प्राज्ञिक वर्गलाई पदको चास्नीमा डुबाउन सफल भएको देखिन्छ भने अर्कोतिर राजनीतिक थाक्रोबिना आप्mनै क्षमताले उच्चपदमा पुग्ने मेरिटोक्रसीको विकास गर्न विश्वविद्यालयका प्रज्ञिक चुके ।

राज्यले उच्च शिक्षामा ठूलो धनराशि खर्च गरेको छ । ठूलो संख्यामा शिक्षार्थीले विभिन्न विषय रोजी खोजी पढ्ने अवसर पनि पाएका छन् । आर्थिक लगानी अनुरूप हाम्रा विश्वविद्यालय अब्बल जनशक्ति उत्पादन गर्न सक्ने क्षमता राख्न सकेको पाइँदैन । बरू यिनीहरू राजनीतिक दलका कार्यकर्ता र वेरोजगार जनशक्ति उत्पादन गर्ने शैक्षिक केन्द्रजस्ता बनेका छन् । विश्वविद्यालयलाई अब्बल बनाउने हो भने विद्यार्थीलाई सिद्घान्तका ठेली घोकाउने, विषयगत दर्शन र शास्त्रका किताब कण्ठ गर्ने, गराउने, कण्ठ नै गरेका आधारमा परीक्षामा श्रेणी बढाउनेजस्तो शैक्षिक संस्कृति बदल्नुपर्छ ।

सक्षम नागरिक उत्पादन गरी देश विकासमा प्रभावकारी भूमिका खेल्न विश्वविद्यालयलाई राजनीतिक अतिक्रमणबाट अलग राख्न सफल हुनुपर्छ

डिग्री हासिल गर्ने तर आपूmले केही गर्न नसक्ने शैक्षिक जनशक्ति आजको आवश्यकता होइन । घोकन्ते विद्यामा सिर्जना हँुदैन । मौलिकता मुर्झाउँछ । नयाँ चिन्तनको विकास हुँदैन । शिक्षा आर्जनमा नयाँ संस्कार, नयाँ विचार, नयाँ विश्वास, नयाँ आविष्कार र सिर्जनाशिलता हुनुपर्छ । यही मौलिकता र सिर्जनशिलता विद्यार्थीलाई हस्तान्तरण गर्न हाम्रा विश्वविद्यालय चुके ।

आज हामीहरू एक्काइसांै शताब्दीको तेस्रो दशकमा सफर गरी रहेका छौं । आजको अवस्थामा विकसित देशहरूले हरेक क्षेत्रमा खोज, अनुसन्धान एवं उपयोग गर्न सक्ने प्रविधिको विकास गरिसकेका छन् । आज विश्व बजारमा पाइने वैज्ञानिक उपकरण प्राप्त गर्न विकसित राष्ट्रहरूले सयौं वर्ष खर्चेका छन् । खर्बाैं खर्च गरेका छन् । यातायात र सञ्चारको विकासका कारण अहिले विश्व एउटा गाउँजस्तो भएको छ । हरेक ठाउँका खबर मिनेटभरमा भूगोलको कुना काप्चामा पुग्न सक्ने भएको छ ।

एक देशको प्रविधि अर्को देशले सहजै उपयोग गर्न सक्ने अवस्था छ । यस्तो युगमा सञ्चालित हाम्रा विश्वविद्यालयले विश्वबजारमा उपलब्ध वैज्ञानिक प्रविधिको उपयोग गर्न सक्ने जनशक्ति मात्र उत्पादन गर्न सकेमा देशले विकासको गति लिन सक्छ । देशमा भएको प्राकृतिक स्रोत र साधनको पहिचान, उत्खनन तथा उपयोग हुन सक्छ । यति गर्न र गराउन पनि हाम्रा विश्वविद्यालय चुकेका छन् ।

आज दुनियामा हरेक क्षेत्रको विकास गर्न रेडिमेड उपकरण विश्व बजारमा तयारी अवस्थामा छन् । नहर बनाउन डोजर उपलब्ध छन् । बाँध बनाउन आधुनिक मेसिन बनेका छन् । जलस्रोतको विकास गर्न टर्वाइन तयारी अवस्थामा छन् । सुरुङ बनाउने उपकरण छन् । खनिज सम्पदा पत्ता लगाउने वैज्ञानिक यन्त्र छन् । कृषि, पशुपालनलगायतका क्षेत्रको विकासका लागि औजार, औषधि, बीउ, विजन, नश्लसुधारलगायतका सुविधा उपलब्ध छन् । कपडा बनाउने मेसिन छन् । वस्तु उत्पादन गर्ने औजार छन् ।

उल्लेखित उपलब्धिको पहिचान तथा ठाउँ र गाउँअनुसार ज्ञान र सीपका आधारमा प्रविधिको उपयोगगरी व्यक्ति, समाज र देशको उन्नति गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्न अब हाम्रा विश्वविद्यालय नचुकून् । सक्षम नागरिक उत्पादनगरी देश विकासमा प्रभावकारी भूमिका खेल्न सफल होउन् । विश्वविद्यालयलाई राजनीतिक अतिक्रमणबाट अलग राख्न सफल होउन् ।

तपाइको प्रतिक्रिया
(Visited 407 times, 1 visits today)

epaper

ताजा समाचार

विपद् व्यवस्थापनमा सामुदायिक प्रहरीसमेत परिचालन