बितेको चुनावी पृष्ठभूमितिर फर्कनु सान्दर्भिक नहोला तर विमर्श हुनु असान्दर्भिक हुनेछैन । निर्वाचनको सबैभन्दा विकर्षण र आकर्षणका किस्सा निर्माणका संयोग एकपछि अर्कोगरी संख्यामा गन्ने हो भने अंकको धेरै खपत हुन्छ । यद्यपि, ती संयोग उछिन्ने अरू रोचक संयोग जसले छाडेर गएका अर्थपूर्ण सन्देश र अर्को निर्वाचनले पुनः सामना गर्नुपर्ने दलीय हैसियतको रोचक फेरबदलका संकेत के–के हुन् ? दलीय अमुक स्वार्थले थलाएको राजनीतिले साँघुरो पार्दै लगेको लोकतन्त्रलाई निर्वाचनमा युवापुस्ताको प्रत्यक्ष हस्तक्षेपले फराकिलो बनाउन गरेको भौतिक र मनोवैज्ञानिक जमर्कोबाहेक सम्झनुपर्ने आकर्षण के–के हुन् ? नरोकिएको राजनीतिक संक्रमणलाई झन् विषाक्त बनाएर लम्ब्याउन प्रेरित गर्ने निर्वाचन परिणामको यो सबैभन्दा विकर्षणबाहेक बिर्सनुपर्ने अरू पनि संयोग के–के हुन् ?
निर्वाचन परिणामपछि राष्ट्रिय राजनीतिमा हुनै पर्ने बृहत्तर विमर्शको यो साझा विषय दलीय प्राथमिकतामा न त विगतमा परेको थियो र आज पनि किन पर्न सकेन ? निर्वाचन स्वीकारेर संसदीय राजनीतिमा उपस्थित भएको दलीय प्रवृत्ति किन निर्वाचन आयो गयो र सकियोमा सीमित भयो ? के विप्लव माओवादीले दाबी गरेजस्तो यो निर्वाचन फगत लोकतान्त्रिक कर्मकाण्डीस्वरूप प्रदर्शन गरिएको दलाल संसदीय व्यवस्थाको उपज थियो ? होइन भने दलहरू किन संसदीय राजनीतिको दुर्गन्ध फैलाएर शंका र प्रश्नका पात हल्लाइरहेका छन् ? जसले संसदीय राजनीतिबाहिरका दलीय शक्तिलाई शीर ठाडो पारेर यो व्यवस्था नै बिथोल्नेसम्मको नीति, योजना र रणनीति बनाएर खुलेआम सक्रिय हुन प्रेरित गरिरहेको छ ? उनीहरूले समेत लडेर ल्याएको यो व्यवस्थाभित्रको राजनीतिमा संसदीय इतर शक्ति किन अटेनन् या अटाइएनन् ?
निर्वाचन परिणामको निर्मम समीक्षा गरेर सारमा निस्किएका कमजोरीलाई अवसरमा रूपान्तरण गर्ने र सफलताबाट महान् लक्ष्य प्राप्तिका निम्ति प्रेरित हुने राजनीतिक संकृति नेपालमा आज पनि छैन । यसरी सांस्कृतिक रूपमा राजनीतिक गतिको सामना गर्ने पूर्वतयारी नगर्नुको परिणाम मुलुकले झेलिरहनुपर्ने राजनीतिक अस्थिरताको निरन्तरता हो । जो आज हामीले भोगिरहेका छौं ।
दोस्रो स्थानीय तहको निर्वाचनबाट नेपाली राजनीति सांस्कृतिक रूपमा परिष्कृत भएर अविरल अघि बढ्छ भन्ने अनुमान सबैको थियो । किनकि, राजनीतिक वितृष्णाविरुद्ध नेतृत्वमा युवापुस्ताको दाबीले देशैभर लहरको रूप लिइरहेको थियो र त्यसैको बलमा हर्क, बालेन र गोपालले स्वतन्त्र शक्तिको जरा गाडे । जसको दबाब दलभित्र पनि प्रत्यक्ष प-यो । दोस्रो प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनसम्म आइपुग्दा त्यो शक्ति पुस्तान्तरणको अभियानमा रूपान्तरण भयो र यसै अभियानलाई मुख्य चुनावी एजेन्डा बनाएर छोटो समयमा खुलेका राजनीतिक दलका र स्वतन्त्रसहित ३१ जनाभन्दा बढी नयाँ अनुहार संसद् छिरे ।
फुलबुट्टे शब्दजालका दलीय घोषणापत्रको प्रदर्शन या रंगीन सपनाको महावृष्टिको आकर्षणभन्दा दलभित्रको लोकतान्त्रिक अभ्यास वा आन्तरिक विद्रोहले जन्माएका पात्रको चुनावी जितले नेपाली राजनीतिलाई नयाँ मोडमा पु¥याएको छ । राजनीतिक संक्रमणको घडीमा युवा पुस्ताको कदम सबै प्रकारका राष्ट्रिय संयोगबाट सुशासन र समृद्धिको इतिहास बदल्ने कोसेढुंगा हुन सक्छ । यो संयोग परिवर्तनको नाममा गरिने रक्तपातबिनाको राजनीतिक उपलब्धि हो ।
फुलबुट्टे शब्दजालले भरिएका दलीय घोषणापत्र र रंगीन सपनाको भाषणरूपी महावृष्टिभन्दा दलभित्रको लोकतान्त्रिक अभ्यासले नेतृत्व निर्माणमा सहयोग गर्छ
यसको श्रेय युवापुस्तालाई नै जान्छ तर पुस्तान्तरणको नाममा जिन्दावाद र मुर्दावादको भुमरीतर्फ मोडिने कुकर्मका निम्ति संसद्भित्रका नयाँ अनुहारले भौतिक हस्तक्षेपमा मात्र विश्वास राख्नुहुँदैन । बौद्धिक हस्तक्षेपले प्राप्त गर्ने उपलब्धि झन् महान् र सबैभन्दा शक्तिमान हुन्छन् । जसलाई असफल बनाउने ल्याकत वर्तमानसँग हुँदैन । किनकि, युवा पुस्ता भविष्यका प्रतिनिधि र वर्तमानका साक्षी हुन् ।
दोस्रो स्थानीय तहको निर्वाचनले स्वतन्त्र शक्तिको जरा गाड्न सुरु ग-यो भने दोस्रो प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनले पुस्तान्तरण अभियानको सूत्रपात ग-यो । दुवै आयामको फरक बिन्दुबाट मूल फुटे पनि समाहित हुनुपर्ने सर्त पुस्तान्तरण नै थियो । जसको उपलब्धिस्वरूप धेरै नयाँ र युवा संसद छिरे । तर, उपलब्धिभन्दा आश्चर्यको विरासत यसरी खडा भयो कि प्रतिनिधिसभामा युवाभन्दा तेब्बर वृद्धिको वर्चस्व हावी हुन पुग्यो ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा ४० वर्षमुनिका २८ युवा र ६० वर्षमाथिका ८८ जेष्ठ नागरिकको उपस्थिति तथा समानुपातिकमा ७१.४२ प्रतिशत युवा र प्रत्यक्ष निर्वाचन जितेर संसद् पुगेका ७१.५९ प्रतिशत जेठो पुस्ताले आफूहरूलाई नेतृत्वबाट विस्थापित गराउन निर्माण भएको पुस्तान्तरणको अस्त्रलाई सबैभन्दा असफल पारिदिए । एकअर्कालाई जसरी पनि विस्थापनको सिकार बनाउने युवा र जेठो पुस्ताको अघोषित युद्धको दोहोरो धक्काले पुस्तान्तरणको मर्म, भावना र भाष्यमाथि नै विचार गर्न बाध्य पारेको छ ।
पुस्तान्तरणको अर्थ हस्तान्तरणको जगमा सम्मानजनक बहिर्गमन हो । तर प्रकृतिबाहेक संसारभर मनुष्यले समाज विकास, सभ्यता निर्माण र राज्य सञ्चालनका निम्ति खडा गरेका विकसित प्रणालीमा पुस्तान्तरणको घडी उल्टो दिशातिर घुमिरहेको छ । बाराक ओबामा पहिलोपटक अमेरिकाको ४४औं राष्ट्रपति चयन हुँदा जम्मा ४८ वर्षका थिए । ४५औं राष्ट्रपतिमा चयन हुँदा ट्रम्प ७० वर्षका थिए भने ४६औं राष्ट्रपतिमा चयन हुँदा जो वाइडेन ७९ वर्षका थिए । चीनमा सि चिनफिङ, भारतमा मोदी, रुसमा पुटिनको पुनरागमनले पनि नेतृत्वमा पुस्तान्तरणको घडी जबर्जस्ती उल्टो घुमिरहेको देखाउँछ । विज्ञान, प्रविधि र बौद्धिक उद्योगले विकसित मुलुकका यी केही प्रतिनिधि उदाहरण मात्र हुन् ।
नेपालको राजनीतिमा हामीले आँखा चिम्लेर स्वीकारेको पुस्तान्तरणको उल्टो गति वर्षौंदेखि हावी भइरहेको छ । १४औं महाधिवेशनबाट कांग्रेसमा दोस्रो कार्यकालका लागि शेरबहादुर देउवा सभापतिमा निर्वाचित भए । ७६ वर्षे देउवा बारम्बार पार्टी सभापतिमा मात्र नभई प्रधानमन्त्रीमा समेत दोहोरिरहेका छन् । १०औं महाधिवेशनबाट एमालेको अध्यक्षमा केपी ओली दोहोरिएर निर्वाचित भए । तेस्रोपटक प्रधानमन्त्री भइसकेका उनी अहिले निर्विकल्प संसदीय दलको नेतामा चुनिएका छन् । आठौं राष्ट्रिय महाधिवेशनबाट माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड पुनः सर्वसम्मत चुनिए । ६८ वर्षे उनी ३६ वर्षदेखि पार्टी नेतृत्वमा छन् भने अहिले पनि सर्वसम्मत दलको नेतामा चुनिए ।
यी सबै तथ्यले नेपालमा पनि पुस्तान्तरणको गति सुल्टो घुमिरहेको देखिँदैन । पुस्तान्तरणको प्राकृतिक नियम मनुष्यले खडा गरेका प्रणालीको खिलाफमा जब शक्तिमान बन्दै जान्छ त्यसले विश्वमा राज्य सञ्चालनका उद्देश्यले निर्माण भएका विकसित प्रणालीलाई कमजोर बनाउँदै लैजान्छ । तर, शक्तिमान राष्ट्रहरूको नेतृत्वमा पुस्तान्तरणको घडी उल्टो घुमिरहे पनि संसारलाई आश्चर्य बनाउने सत्य सबै आयामको सम्पन्नता पछ्याउँदै ती राष्ट्रहरू विकासको चरणबद्ध कीर्तिमान राख्न सफल भइरहेका छन् । विकास र चमत्कारको कीर्तिमानी पदचापले पुस्तान्तरणको उल्टो गतिसमेत छायामा पार्न सफल भएका छन् ।
तर, अहिले नेपालको राजनीतिक प्रणालीमा प्रवेश गरेको पुस्तान्तरणको विमर्शलाई अन्तर्राष्ट्रियकरण गर्ने हो भने यसको प्राविधिक विसर्जन नेतृत्वको भन्दा कम उमेर प्रतिनिधित्व गर्ने व्यक्तिमा हुने हो कि विचारको गतिशीलतामा या पुस्तान्तरणको मानक विचार कि उमेर भन्ने तर्कका दुई विशाल ध्रुव खडा हुन्छन् । वैचारिक, मानसिक, प्राज्ञिक र अनुभवजन्य हिस्साको कमजोर धरातलमा पुस्तान्तरणको जटिल प्रक्रिया विसर्जन हुन सक्छ ? नेपालको परिपेक्षमा निश्चित नेतासमक्ष आत्मसमर्पण गरिसकेको तिनका दल र दलाल, पुँजीपति, सत्ता र शक्तिराष्ट्रको सेवक बनिरहेको राजनीतिको प्रदूषित गतिको धार परिवर्तन गर्न युवापुस्ता आवश्यक सबै आयामबाट परिपक्वताको साधन खडा गर्न कसरी सक्षम बनिरहेको छ ? किनकि, परिपक्कताको चरणबद्ध प्रक्रियाले मात्र पुस्तान्तरणको जीवनचक्रलाई प्राकृतिक बनाउँछ । तर, कुनै अवसरवादले ग्रसित विद्रोहले अप्राकृतिक ।
नेपालको परिवेशमा विमर्श भइरहेको पुस्तान्तरण अभियानले प्रशासनिक संरचनाभित्र युवा पुस्तासमेत अटाउन सक्ने वैचारिक, प्राज्ञिक र अनुभवजन्य परिपक्वताको धरातल खोजिरहेको छ । यसको अभावमा धेरै राजनीतिक उपलब्धि सकसबाट ग्रसित छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले परिकल्पना गरेजस्तो सुशासन र समृद्ध नेपालको सपना असफल बनाइ राख्न दलीय प्रवृत्ति जसरी हाबी भइरह्यो प्रतिउत्पन्नमा राजनीतिक वितृष्णाको जगमा पुस्तान्तरणको अभियान पेचिलो बनेको हो ।
आज नेपालीहरूले पाइला टेकिरहेको विश्व नेपालमा पेचिलो बनिरहेको पुस्तान्तरणको विमर्शप्रति आकर्षित बनिरहेको छ । प्रवासमा पसिना रगत बगाइरहेका युवा पुस्ताको ठूलो हिस्साले पछिल्लो निर्वाचन परिणामलाई पुस्तान्तरणको आँखीझ्यालबाट दूरगामी महत्वका साथ हेरिरहेको छ । देशको उदेकलाग्दो स्थितिबाट विचलित त्यो जनशक्ति जतिबेला पनि राजनीतिक हस्तक्षेपमा सहभागी हुन सक्छ । अतः सार्वजनिक निराशा कुनै चमत्कारले समेत सिध्याउन नसक्ने विषय हुन् ।
नेतृत्वको खोट उमेरमा होइन नैतिक स्वस्थतामा खोजिनुपर्छ भन्ने कुरामा युवापुस्ता सबैभन्दा पहिला स्पष्ट हुनुपर्छ
यद्यपि, पुस्तान्तरणको अभ्यासले लोकतन्त्रलाई जति फराकिलो बनाउँदै लैजान्छौं हाम्रा सार्वजनिक निराशा र असफलता क्रमशः अवसर र सफलतातिर रूपान्तरण हुँदै जान्छन् । लोकतन्त्रमा हामीले कोसिस नगरेको यो पुस्तान्तरणको अस्त्र अचानक युवाहरूमा विसर्जन हुन सक्दैन । मुखमा समाजवाद, मष्तिक्समा पुँजीवाद, व्यवहारमा सामान्तवाद, राजनीतिमा व्यक्तिवादबाट ग्रसित नेतृत्वले पुस्तान्तरणको उल्झनलाई विकसित बनाउँदै लगिरहेको छ । परिणामस्वरूप पुस्तान्तरणको प्रक्रिया उल्झनमा सीमित छ ।
परिवर्तनको जग निर्माणको बहानामा भोट माग्न दलहरूले बहुरंगी सपना बेचे । न्याय, सुशासन र समृद्धिको पुरानो नारा दोहो¥याए । राष्ट्रिय स्वतन्त्र पार्टीसहित स्वतन्त्र उम्मेदवारले राजनीतिबाट जेठो पुस्तालाई विस्थापनसहित नेतृत्वमा पुस्तान्तरण, समृद्ध र सुशासन स्थापनालाई चुनावी एजेन्डा बनाएर भोट मागे । आज संसद्मा तीनै पुस्ता अटाएका छन् । नयाँ संसद् तिनै पुस्ताले प्रतिनिधित्व गर्ने वैचारिक विद्रोहको सामना गर्न तयार हुनुपर्ने भयो । भोट माग्दा युवापुस्ताले विचार होइन विद्रोहलाई अघि सारेको थियो ।
तर, एउटा भ्रम जो छ नयाँ पुस्ताले दाबी गरेजस्तो जेठो पुस्ताको विस्थापन र नयाँ पुस्ता स्थापनाको चुनावी एजेन्डाको राजनीतिक रस्साकस्सीको आकर्षणले मात्र आजको संसद् बहुरंगी बनेको होइन । जातीय, क्षेत्रीय, लैंगिक, धार्मिक र अधिकार सम्पन्न उमेर समूहका तीन पुस्तालाई नै जनताले अनुमोदन गरेर संसद्मा पठाएका छन्् । जनताले सांसद बनाएर मात्र पठाएका छैनन् संख्यात्मक रूपमा तिनले प्राप्त गरेको मत बराबर आशा, अपेक्षा, विश्वास, भरोसा र सपना पठाएका छन् । तसर्थ, सबै कारणबाट आजको संसद्भित्रको बहुरंगी अनुहारमा पुस्तान्तरणको राजनीति सबैभन्दा भ्रमपूर्ण छ ।
नयाँ पुस्ताले दाबी गरेजस्तो आजको राष्ट्रिय समस्याको वैज्ञानिक र प्राविधिक समाधान राजनीतिक नेतृत्वबाट जेठो पुस्तालाई विस्तापन गर्नु र नयाँ पुस्ता स्थापना हुनु मात्र होइन । राजनीतिले विस्थापन गर्नुपर्ने आमविकृति र विसंगति आज जति छन् तिनको समाधानको योग्यता नेतृत्वमा युवा हुनु मात्र होइन । व्यक्तिको उमेरसापेक्ष हुन्छ भने चेतना निरपेक्ष हुन्छ । नेतृत्वको खोट उमेरमा होइन नैतिक स्वस्थतामा हुनुपर्छ भन्ने दुविधाबाट युवापुस्ता सबैभन्दा पहिला स्पष्ट हुनुपर्छ ।






