उही विरासत उही दशा

नेपाल आफैंमा कृषिप्रधान देश भनिए पनि धानको सिजनमै वीरगन्जको भन्सार नाकाबाट ५ अर्बको धान आयात गरिएको छ । नेपाल–भारत सीमा नाकामा भएका सबै भन्सार नाकाबाट भएको कुल आयात झन् कति होला ? देशका ६७ प्रतिशत मानिस कृषि पेसामा संलग्न छन् भन्ने देशका लागि यो कुल आयातको तथ्यांक देखाउन अवश्यै लज्जाको विषय बन्नेछ ।

त्यसैले पनि यसको आयात जम्मा सार्वजनिक गरिएको छैन । क्षेत्रफलमा सानो तर उर्वर भूमिले ढाकिएको देश नेपाल आफंैमा अन्न उत्पादनको भण्डार हो । तर, देशका शासकहरूको नालायकीका कारण विगत केही वर्षदेखि कृषि उत्पादनका लागि आवश्यक रासायनिक मल किसानले पाउन छाडिसकेका छन् । स्थानीय तहसम्म रहेका कृषि ज्ञानकेन्द्रमा अज्ञानी कार्यकर्ताको सोधभर्ना र हाली मुहालीका कारण ती कार्यालयमा मात्र सीमित छन् । वर्षे र हिउँदे सिजनमा किसानलाई बढी नै रासायनिक मल चाहिन्छ भन्ने कुरा कृषिमन्त्रीको कानमा परेको हुँदैन । त्यसो त घुम्ने कुर्सीमाथि अन्धा र बहिराको राज कायमै छ । बोरामा फलेको चामल र दुकानमा पोलिथिन कागजभित्र सजाइएका सागसब्जी खाने उच्च मध्यम तथा घरानियाँ शासकको हालीमुहालीका कारण देश खाद्यान्न निर्यातमा जमेर लागि परेको छ ।

जहिले पनि खेती गर्दाका बखत मल गोदाम र कृषिज्ञान केन्द्रका अगाडि किसानको भिडभाड देखिन्छ । तर, किसान निराश र खाली हात फर्कने गरेका हुन्छन् । यो नेपाली कृषकका लागि नियति नै बनिसकेको छ । परिणामतः धानको कुन्यु दाइँ लगाउन भ्याइनभ्याइ हुने कात्तिक महिनाको १५ कात्तिकदेखि पुसको १५ सम्म नेपालले एउटै नाकाबाट मात्र ५ अर्बको धान आयात गर्न बाध्य भएको छ । पेट पाल्नै प¥यो, यसको विकल्प छैन । तर, आठौं आश्चर्यको विषय त के भएको छ भने यो वास्तविकताले कोही पनि शासकलाई बिझाउने गरेको छैन । उनीहरू डनलप राखिएको खाटमाथि दिउँसै घुरिरहेका छन् । चार दशक पहिलेसम्म खाद्यान्न निर्यात गर्ने कृषिप्रधान देश नेपालका किसान अहिले छिमेकी देश भारतबाट बेसाहा बोकिरहेका छन् । बेसाहाको शाब्दिक अर्थ साहा वा सिजनले ठगेको भन्ने हुन्छ । तर, नेपालमा सिजनले ठगेको छैन । बरु शासकहरूले ठगिरहेका छन् । उनीहरूको गैरजिम्मेवारीपनले ठगिरहेको छ । ठग र कमिसनखोर प्रवृत्ति नेपालका लागि अफाफ सिद्ध हुँदै गएको छ ।

अहिले कोही पनि अचेत छैन, जनता सबै सचेत छन् । देश हाँक्ने अदूरदर्शी नेतृत्वको कमजोरीका कारण यो समस्या भोग्नुपरिरहेको सबैलाई ज्ञात छ । अहिले किसानको भकारी रित्तो छ, धान छैन । देशमा भकारी ‘भ’ होइन, भोकारी ‘भ’ सुरु भइसकेको छ । सबैभन्दा बढी त कमिसन खानेहरू नै भोका छन् । उनीहरू अहिलेसम्म अघाएका छैनन् । पालैपालो खाँदा सायद अघि खाएको फेरि पनि भोकाइ हाल्ने भएकाले पनि त्यसो हुन गएको होला । भारतले धान निर्यात खुला गरेसँगै नेपालका धान व्यापारीले विभिन्न भन्सार नाकाबाट करोडौंको धान आयात गरिरहेका छन् । अनुमान गरौं, यो अनुपात फाल्गुनदेखि साउनसम्म कति बढेर जाला ? देशले कहिलेसम्म खेप्ला उही विरासत, उही दशा !

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागार चलान

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
गठबन्धन विपरीत दिएका उम्मेदवारी फिर्ता लिन तीन दलको अपिल