पोखरा । क्याम्पसले भोगचलन गर्दै आएको जग्गाबाट सेती नदीमाथि पुल निर्माण गर्ने कार्य सुरु हुन थालेपछि पृथ्वीनारायण क्याम्पसका विद्यार्थी एवं प्राध्यापक आन्दोलित भएका छन् ।
क्याम्पसले भोगचलन गर्दै आएको कित्ता ८३३ को झन्डै २२३ रोपनीमा सो विवाद देखिएको हो । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पुल सेक्टरले पोखरा वडा १ र ११ जोड्न निर्माण हुन थालेको सो पुलको लागि निर्माणस्थलसम्म सामग्री पु¥याउन बाटो मागेपछि सो कुरा बाहिर आएको हो ।
क्याम्पसले बिहीबार पत्रकार सम्मेलन गरी पुल निर्माण बन्द गर्न र क्याम्पसको हितविपरीत काम नगर्न चुनौती दिएको छ । निर्माणाधीन पुल सो जग्गा भुमाफियाले १ सय ६२ जनाको ३ सय १८ वटा कित्ताकाट भएकोले प्रशासन तर्सिएको हो तर सो कित्ताकाट २०५८ सालमा मालपोत कार्यालयले खारेज गरेको छ ।
क्याम्पस प्रमुख सरोज कोइरालाले भने, ‘जग्गा क्याम्पसको भोगचलनमा रहेको र दर्ता प्रक्रियामा समेत अगाडि बढेकाले क्याम्पसकै हो । पुल बनाउने हो भने क्याम्पसकै दर्ताभित्रको जग्गाबाट पुल निर्माणका लागि सहमतिमा दिन सकिन्छ ।’
क्याम्पस रहेको जग्गा तत्कालीन समयमा रत्नाखर पराजुलीले १८७७ मा विर्ता पाएको जग्गा हो । सो जग्गा क्याम्पसको नाउँमा पराजुली परिवारले दिएका थिए तर जग्गाको मूल्यसँगै महत्व बढ्दै गएपछि २०४५ सालमा सोही परिवारबाट दर्ता छुट भनि कित्ता काट गरेकोमा पछि कुनै प्रमाण नपुग्ने भन्दै विभिन्न अदालतको निर्णयबाट क्याम्पसकै भोगचलन दिने देखिएको छ । पुल बनेमा पोखरा–२० भलाम, पोखरा–११ फूलबारी र पोखरा–१ र ३ का नागरिकले फाइदा पाउने छन् ।
क्याम्पसको स्वामित्वमा झन्डै ७ सय १६ रोपनी छ । २०१७ भदौ १७ गते स्थापना भएको सो क्याम्पस अग्रणी शिक्षण संस्था हो । क्याम्पसमा ५ संकायका ३३ वटा विभाग र ३४ विषयमा झन्डै १५ हजार विद्यार्थी पढ्छन् ।