काठमाडौं । एसियाली व्यवस्थापन संस्थाहरूको (संगठन–आमो) ले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेसनल भिजनरी लिडरसिप अवार्ड दिएको छ । यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आईएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई आमो एसिएन लिडरसिप अवार्ड दिइएको छ । एसियाली नेतृत्व साँझ २०२०को आयोजना गरी आमोले सो अवार्ड दिएको हो ।
यसैंगरी, शुक्रबार ३९औं राष्ट्रिय व्यवस्थापन सम्मेलन तथा वार्षिक साधारण सभाको अवसरमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई र महिला व्यवस्थापन कदर २०१९ बाट मेगा बैंक लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँजेलीलाई दिइएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले विद्यालयसहितका सरकारी संस्थाहरूको व्यवस्थापनमा व्यापक सुधार गर्नुपर्ने खाँचो औंल्याएका छन् । ३९औं राष्ट्रिय व्यवस्थापन सम्मेलन तथा वार्षिक साधारण सभाको अवसरमा नेपाल व्यवस्थापन संघद्वारा आयोजित राष्ट्रिय व्यवस्थापन पुरस्कार तथा सम्मान कार्यक्रमलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै उपराष्ट्रपति पुनले सो कुरा बताएका हुन् ।
उपराष्ट्रपति पुनले हरेक व्यवस्थापकमा ज्ञान, सीप, दक्षता, उत्साह, लगनशीलता र धैर्य हुनुपर्ने उल्लेख गर्दै भने, ‘असल व्यवस्थापक त्यो हो, जसले जस्तोसुकै प्रतिकूल समयमा पनि उत्कृष्ट नतिजा र उपलब्धि हासिल गर्दछ । त्यस्तो कला जसले बिग्रेर कुरूप भएकालाई पनि सुधार गरेर सुन्दर बनाउन सक्छ ।’
श्रेष्ठ र खुँजेली वर्षका उत्कृष्ट व्यवस्थापक
पुरस्कार तथा सम्मान कार्यक्रममा वर्षका व्यवस्थापक २०१९ बाट राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई र महिला व्यवस्थापन कदर २०१९ बाट मेगा बैंक लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँजेलीलाई सम्मानित गरिएको थियो ।
पुरस्कार तथा सम्मानका लागि उपयुक्त व्यक्ति चयन गर्न नेपाल व्यवस्थापन संघले प्रथम उपसभापति बमबहादुर मिश्रको संयोजकत्वमा प्रा. सुवास केसी, प्रा. डिल्लीराज शर्मा, उद्योगपति सतिशकुमार मोर, उमेशलाल श्रेष्ठ, संघका महासचिव मोहनकुमार ओझा र संघका प्रमुख कार्यकारी अधिकृत यादव पौडेल सदस्यसचिव रहेको एक पुरस्कार तथा सम्मान छनोट समिति गठन गरेको थियो ।
समितिले खुला सूचनाद्वारा आवेदन मागेर विभिन्न चरणमा मूल्यांकन गर्र्दै सम्बन्धित व्यक्तिहरूको अन्तर्वार्तासमेत लिएर दुबै श्रेणीमामा उत्कृष्ट अंक हासिल गर्ने तीन÷तीन जना व्यवस्थापकको सूची व्यवस्थापन संघको केन्द्रीय समितिसमक्ष पेस गरको थियो ।
फाइनलिस्टका रूपमा वर्षका व्यवस्थापकतर्फ किरणकुमार श्रेष्ठ (राष्ट्रिय वाणिज्य बैंक), चन्द्र टन्डन (सिटी एक्सप्रेस मनी ट्रान्स्फर) र हरिराज शर्मा (अल्फा बिटा)का प्रमुख कार्यकारी अधिकृतहरू पुगेका थिए । महिला व्यवस्थापन कदर सम्मानतर्फ अनुपमा खुँजेली (मेगा बैंक), अनुपा बुढाथोकी (अनुपा डिस्ट्रिब्युसन सिस्टम प्रालि) र उमा पाठक (सेनेका एजुकेसनल कन्सल्टेन्सी) पुगेका थिए ।
कार्यक्रममा संघका सभापति तथा राष्ट्रिय योजना आयोगका सदस्य ई. सुशील भट्टले विगतमा राजनीतिक अस्थिरता, दिगो शान्तिको अभाव र आवश्यक तथा भरपर्दो ऊर्जाको अभाव जस्ता प्रतिकूलतासँग जुध्दै उत्कृष्ट नतिजा ल्याउन सक्ने नेपाली व्यवस्थापकहरूका लागि अहिले राजनीतिक स्थायित्व, दिगो शान्ति र आवश्यक तथा भरपर्दो विद्युत्को उपलब्धताले अपेक्षित नतिजा ल्याउन धेरै सघाएको बताए ।