३७ दिनपछि ‘नयाँ राष्ट्रपति’

काठमाडौं । निर्वाचन आयोगले अबको ३७ दिनमा मुलुकले नयाँ राष्ट्रपति पाउनेगरी निर्वाचन मिति घोषणा गरेको छ । चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयन गर्न आगामी २५ फागुनमा मतदान गर्नेगरी सोमबार निर्वाचन कार्यक्रम घोषणा गरिएको हो । बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी २८ फागुनमा सकिँदै छ ।

आयोगले २०७४ सालको राष्ट्रपति निर्वाचनको मतभारलाई नै आधार मानेर नयाँ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गर्ने तयारी गरेको हो । २०७४ मा संघीय संसद्को मतभार ७९ र प्रदेश सांसदको ४८ कायम थियो ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐनको अनुसूचीनुसार देशको कुल जनसंख्या संघीय सांसदको कुल संख्याले भाग गर्दा आउने भागफललाई हजारले भाग गर्दा जुन नम्बर आउँछ, त्यो नै एक संघीय सांसदको मतभार हुन्छ । प्रदेशसभा सदस्यको मतभार पनि यही प्रक्रियाबाट तय हुन्छ । तर, पछिल्लो २०७८ सालमा सम्पन्न जनगणनाको अन्तिम विवरण औपचारिक रूपमा सार्वजनिक भइसकेको छैन ।

– निर्वाचनमा २०७४ कै मतभार

– उम्मेदवारी दर्ता १३ फागुनमा

आयोग प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले २०६८ सालको जनसंख्या आधार मानेर २०७४ को राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद्को मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम गरिएको बताए । उनका अनुसार अहिले २०७८ सालमा सम्पन्न जनगणनाको आधिकारिक तथ्यांक सार्वजनिक नभइसकेका कारण पुरानै मतभारमा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन गर्नुपर्ने अवस्था छ ।

‘२०६८ सालको जनसंख्या आधार मानेर २०७४ सालको राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद्को मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ कायम गरिएको थियो,’ थपलियाले भने, ‘अहिले २०७८ सालमा सम्पन्न जनगणनाको आधिकारिक तथ्यांक सार्वजनिक भएको छैन, त्यसैले आयोगले पुरानै मतभारमा निर्वाचन गर्नेगरी तयारी गरेको हो ।’

आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन २०७४ को दफा ४ र ५ अनुसार निर्वाचनको मिति घोषणा गरी सोको जानकारी नेपाल सरकारलाई दिनुपर्ने कानुनी व्यवस्था छ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएका व्यक्ति भने सो बन्दसूचीबाट नाम फिर्ता नलिँदासम्म राष्ट्रपतिको उम्मेदवार बन्न पाउनेछैनन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २५ फागुनमा राष्ट्रपतिको निर्वाचन सम्पन्न भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु हुने जानकारी दिए । उनका अनुसार उपराष्ट्रपतिको निर्वाचन भने ३ चैत्रमा हुनेछ ।

आयोगले राष्ट्रपति र उपराष्ट्रपति चयन गर्ने प्रक्रियाका लागि काठमाडौंमा नै मतदान हुने बताएको छ । देशका सातै प्रदेशमा मतदान गर्नेगरी यसअघि आवश्यक तयारी गरिए पनि आयोगले अन्ततः काठमाडौंमा नै मतदान गरिने जनाएको हो ।

आयोगले राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन कार्यक्रमसमेत सार्वजनिक गरेको छ । जसअनुसार मतदाता नामावली प्रकाशन १० फागुनमा हुनेछ । यस्तै, नामावलीउपरको दाबी विरोध, उजुरीलगायतका प्रक्रियाका लागि निवेदन दिन आयोगले १० र ११ फागुनको मिति तय गरेको छ ।

यसैगरी, निवेदन तथा उजुरीउपर छानबिन ११ र १२ फागुनमा हुनेछ भने अन्तिम मतदाता नामावली १२ फागुनमै प्रकाशित गरिने आयोगले जनाएको छ ।

निर्वाचनका लागि सबैभन्दा महत्वपूर्ण मानिने उम्मेदवार मनोनयन दर्ता भने १३ फागुनमा हुनेछ । मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची आयोगले सोही दिन प्रकाशन गर्नेछ भने १४ फागुनमा उम्मेदवारविरुद्ध उजुरी दिने समय निर्धारण गरिएको छ ।

आयोगले उम्मेदवारको मनोनयन र उजुरीउपर छानबिन गरी १४ र १५ फागुनमा निर्णय गर्नेछ भने १५ फागुनकै दिनमा साँझ उम्मेदवारको नामावली प्रकाशित हुनेछ ।

आयोगले उम्मेदवारले नाम फिर्ता लिन चाहेमा १६ फागुनमा फिर्ता गर्न समय निर्धारण गरेको छ भने १६ फागुनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ भने २५ फागुनमा राष्ट्रपति चुन्न निर्वाचन हुनेछ ।

त्यस्तै, उपराष्ट्रपति निर्वाचन आगामी ३ फागुनमा हुनेछ । संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन फरक–फरक मितिमा गर्नुपर्ने उल्लेख छ । उपराष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली प्रकाशित गर्नेदेखि अन्य निर्वाचन कार्यक्रमका काम भने राष्ट्रपति निर्वाचनकैलाई मानिनेछ ।

उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता २७ फागुनमा हुनेछ भने मनोनयन दर्ता भएको उम्मेदवारको सूची सोही दिन प्रकाशित गर्ने तथा उम्मेदवारको विरोधमा उजुरी दिन सोही दिन तोकिएको छ ।

यसैगरी, २८ फागुनमा उपराष्ट्रपतिको उम्मेदवार मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने आयोगको तयारी छ ।

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य मतदाता हुने संवैधानिक व्यवस्था छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभाका २ सय ७५ सदस्य, राष्ट्रिय सभाका ५९ सदस्य र प्रदेशसभाका ५ सय ५० सदस्य गरी कुल ८ सय ८४ मतदाता हुन्छन् ।

वर्तमान राष्ट्रपति भण्डारी २८ फागुन २०७४ मा राष्ट्रपति निर्वाचित बनेकी थिइन् । उपराष्ट्रपतिको पदावधि ३ चैतमा सकिनेछ । संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल पाँच वर्ष तोकिएको छ ।

देशको पहिलो राष्ट्रपतिमा डा. रामवरण यादव तथा उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित भएका थिए । त्यसपछि दोस्रो राष्ट्रपतिमा विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित भएका थिए ।

त्यस्तै, तेस्रो पटक २०७४ सालमा भएको निर्वाचनमा समेत राष्ट्रपति पदमा भण्डारी र उपराष्ट्रपतिमा पुन नै दोहोरिएका थिए । त्यसबखत राष्ट्रपति पदको निर्वाचन २०७४ फागुनमा र उपराष्ट्रपतिको निर्वाचन चैतमा भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मुठी खुम्च्याएरै बजेट बनाउने अर्थमन्त्री चाहिन्छ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – फागुन २०, २०७९
पोखरा महानगर : मेयरमा आचार्य र उपमेयरमा गुरुङ सुनिश्चित