काठमाडौं । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट देशको चौंथो शक्तिसहित राष्ट्रिय दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी भएको ४२औं दिनमा नै सरकारबाट बाहिरिएको छ ।
१० पुसमा प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले ११ पुसमा उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी दिँदै रास्वपालाई सरकारमा सहभागी गराएका थिए । त्यसबखत रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दै सरकारमा गएका थिए ।
त्यसपछि ३ माघमा मन्त्रिपरिषद् विस्तार हुँदा रास्वपाबाट दुई सांसद मन्त्री र एक सांसद राज्य मन्त्रीका रूपमा सरकारमा प्रवेश गरेका थिए । उनीहरूले मन्त्री बनेको २० दिनमा नै राजीनामा दिएका छन् । रास्वपाले आइतबार केन्द्रीय सदस्य र सांसदको संयुक्त बैठकमार्फत् सरकारबाट बाहिरिने तर सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय लिएको हो ।
रास्वपाको सो निर्णयसँगै सो दलबाट ३ माघमा सरकारमा श्रममन्त्री बनेका डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल तथा स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले आइतबार साँझ नै प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् ।
यसअघि नागरिकता मुद्दामा १३ माघमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि रास्वपा सभापति रहेका लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।
नेपाली नागरिकता पुनः प्राप्तिपछि उनले पुनः पुरानै जिम्मेवारीसहित सरकारमा सहभागी हुने इच्छा राख्दै आइरहेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले चौतर्फी दबाबपछि रास्वपा र लामिछानेलाई गृह मन्त्रालय नदिने निर्णय लिएपछि रास्वपा सरकारबाटै बाहिरिएको हो ।
– तीन मन्त्रीले दिए राजीनामा
– सरकारलाई दिएको समर्थन कायमै
रास्वपा सभापति लामिछानेले आइतबार पत्रकारसम्मेलनमार्फत आफूले गृहमन्त्री नपाएर सरकार छाडेको नभई आफ्नो दललाई नै गृह मन्त्रालय नदिएकाले सरकार छाडेको बताए ।
‘मैले गृहमन्त्री नपाएर सरकार छाडेको होइन, सहमतिअनुसार रास्वपालाई सो मन्त्रालय नदिँदा हामीले सरकार छाड्ने निर्णय गरेका हौं,’ लामिछानेले पत्रकारसम्मेलनमा पत्रकारको जिज्ञासालाई सम्बोधन गर्दै भने ।
पासपोर्ट दुरुपयोग गरेको छैन : लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी (पासपोर्ट) लिएको तर त्यसको दुरुपयोग नगरेको बताएका छन् ।
आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा लामिछानेले अमेरिकाबाट नेपाल बस्ने गरी फर्केपछि नेपालमा बसोबास गर्दा चाहिने कागजात बनाएको स्पष्ट पारे ।
‘नेपालमा बस्नेका लागि केके चाहिन्छ त्यो लिन थालें, त्यसको सदुपयोग, दुरुपयोग, उपयोग केही पनि गरिनँ, जुन दिन अमेरिकी पासपोर्ट र सिटिजनसिप (नागरिकता) बुझाएपछि मात्र त्यसबाट ट्राभल गरें ।’
१२÷१४ वर्ष बसेको देश अमेरिकाको कागजात च्यातेर हिँड्न नमिल्ने भन्दै उनले त्यहाँ आफ्नो व्यापार, व्यवसाय, दायित्व र ऋण रहेको बताए । तर, स्थायी रूपमा नेपाल फर्किएपछि भने अत्यावश्यक कागजात बनाउन थालेको उनको भनाइ छ । ‘आफ्नो देशका लागि चाहिने पासपोर्ट बनाउँदै गर्छु भनेर सोझो चिताएर काम गरेको हुँ, त्यसको कुनै दुरुपयोग गरेको छैन,’ लामिछानेले भने ।
उनले आफूलाई पासपोर्टको विषय लिएर फसाउन खोजेको भन्दै अघि भने, ‘मैले कसको कहाँ के बिराएँ ? भोलि कानुन संशोधन गरेर पनि सजाय दिइयोस्, म तयार छु, नयाँ कानुन बनाएर सजाय दिए पनि हुन्छ, म आममान्छेका रूपमा मुद्दा लड्छु,’ लामिछानेले भने ।