खोटाङ । अनौपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक)ले खोटाङमा ६ वर्षअघि विभत्स तरिकाले हत्या गरिएका तीन महिलाको परिवारलाई न्याय दिलाउन राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ । इन्सेक प्रतिनिधि तारानाथ फुयाँलले आयोगका कामु सचिव मुरारीप्रसाद खरेललाई ज्ञापनपत्र बुझाउँदै २६ माघ २०७३ मा मृत फेलापरेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रिता तामाङ, धारिलो हतियार प्रयोग गरेर १६ जेठ २०७४ मा हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्मा र ४ साउन २०७४ मा हत्या गरिएकी जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विकको परिवारलाई न्याय दिलाउन ध्यानाकर्षण गराएका हुन् ।
इन्सेकले गरायो सरकारको ध्यानाकर्षण
आयोगसमक्ष महिलाको हत्याका विषयमा वस्तुनिष्ठ छानबिन गरी पीडित परिवारलाई न्याय दिलाउन र आमनागरिकलाई राज्य र मानवअधिकारको प्रत्याभूति दिलाउन माग गरिएको इन्सेक प्रतिनिधि फुयाँलले बताए ।
राष्ट्रिय महिला आयोगले तीन महिलाको विभत्स हत्यामा संलग्न दोषी पत्ता लगाउन गत ५ माघमा गृह मन्त्रालयलाई पत्राचार गरेको थियो ।
६ महिनाको अवधिमा भएका तीन महिलाको विभत्स र पासविक हत्याको घटना प्रकृति उस्तैउस्तै देखिन्छ । तर, हत्यामा संलग्न दोषीको विषयमा प्रहरीले हालसम्म मेसो पत्ता लगाउन सकेको छैन ।
लामो समय बित्दासमेत दोषी पहिचान नहुँदा निर्दोष महिलाको हत्या रहस्यमय बनेको छ । ‘घटनामा कसको संलग्नता थियो, घटनाको कारण के थियो ?’ भन्ने प्रश्नको जवाफ अझै गर्भमै छ । महिलाको हत्यामा संलग्न दोषी पत्ता लाग्न नसक्दा जिल्लामा प्रहरीको चर्को आलोचना हुने गरेको छ ।
दोषी पहिचान नभएको विषयमा विभिन्न सार्वजनिक कार्यक्रममा आवाज उठ्ने गरेको छ । हत्याको विषयमा अनुसन्धान जारी रहेको भए पनि ‘रिजल्ट’ प्राप्त हुन नसकेको प्रहरीले जवाफ दिने गरेको छ । जघन्य घटनामा संलग्न अपराधीको पहिचान नहुँदा पीडित परिवार त्रसित छन् भने दोषीको मनोबल बढाउन टेवा पुगिरहेको फुयाँलले बताए ।
होटलमा काम गर्दै आएकी रिता खोटेहाङ गाउँपालिका–८ सिमपानीस्थित कुसेऔंशी जंगलमा विभत्स अवस्थामा मृत फेला परेकी थिइन् ।
सिम्पानी बजारका होटल व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रीताको शव बाटोभन्दा करिब ४० मिटर तल भीरमा भेटिएको थियो । टाउको फुटेको, दाँत झारिएको, दाहिने आँखा फुटेको र चिउँडो ढुंगाले काटिएको अवस्थामा शव भेटिएकाले उनको हत्या गरिएको स्थानीयको दाबी छ । घटनास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामूहिक बलात्कारपछि हत्या गरिएको आशंका छ ।
यस्तै, स्याउला काटेर घर फर्कनेक्रममा ज्ञानीमायाको इलाका प्रहरी कार्यालय महादेवस्थानभन्दा करिब पैदल ५ मिनेटको दूरीमा हत्या भएको थियो । हलेसी मन्दिरतर्फबाट स्वास्थ्यचौकी जाने बाटोमुनि उनको शव विभत्स अवस्थामा भेटिएको थियो । ज्ञानीमायाको शव घाँटीको पछिल्लो भाग, देब्रे स्तनलगायतका ठाउँमा धारिलो हतियारको गहिरो चोट लागेको अवस्थामा भेटिएको थियो । उनको हत्यापछि १२ आनाको रिङ, १० आनाको सौभाग्य, २ आनाको फुली, पेटीको गोजीमा राखिएको २ आनाको औंठी लुटिएको श्रीमान डिकबहादुर विश्वकर्मा बताउँछन् । ज्ञानीमायाको साथमा ३ सय ८ रुपैयाँ मात्र फेला परेको थियो ।
जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित माइती पुगेर घर फर्कनेक्रममा सम्पर्कविहीन बनेकी देवी दोस्रो दिन ५ साउन २०७४ मा जन्तेढुंगा गाउँपालिका–३ काहुलेको छिमावास्थित नेप्टे जंगलमा मृत फेला परेकी थिइन् । देवीको शव सडकभन्दा करिब ५ सय मिटर तल कम्मरमुनिको कपडा खोलिएको, टाउकोबाट रगत बगिरहेको अवस्थामा भेटिएकाले घटनालाई त्यतिबेलै पनि शंकास्पद मानिएको थियो ।