सिड्नी । गोरखा घर भई हाल अस्ट्रेलियाको सिड्नी बस्दै आएका मिलन गुरुङको मृत्यु भएको हो । हिजो मंगलबार बिहान ४ बजेतिर स्टार्थ फिल्ड स्टेशनमा उनलाई मृत अवस्थामा प्रहरीले फेला पारेको थियो । न्यूसाउथ वेल्स (एनएसडब्लु) प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । ट्रेन स्टेशन तथा रेलको सीसीटीभी बरामद भएको तथा मृतकको फोनको अध्ययनपछि मात्र मृत्युको कारण खुल्न सक्ने बताइएको छ ।
सोमबार राति साथीभाइसँग सिड्नीको अबर्नमा रहेका गुरुङ बिहान ४ बजेतिर सुत्नका लागि आफ्नो घरतर्फ जाने क्रममा उक्त दुर्घटना भएको जानकारी दिइएको छ । बताइएअनुसार अबर्नमा मिलन गुरुङसहित पाँच जना साथीभाइ अबेरसम्म खानपिन तथा रमाइलो गरी बसेका थिए ।
ट्रेनको लिकमा हाम्फालेर उनले आत्महत्या गरेको शंका गरिएको छ । घटना थाहा पाएपछि उनका साथीभाइहरू स्टेशन पुगेका थिए । कुनै पनि हालतमा मिलनले आत्महत्या गर्न नसक्ने दाबी उनका साथीभाइले गरेका छन् । उनी ढलेको स्थानभन्दा टाढा उनको फोन भेटिनु, साथीभाइसँग रमाइलो गरी सुत्नका लागि घर हिँडेका उनी ट्रेनको लिकमा मृत अवस्थामा भेटिएका कारण घटना रहस्यमय बनेको छ ।






