राजविराज । सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–६ का १२ वर्षीय बालक अजय मण्डल ६ महिनाअघि गम्भीर बिरामी परे । गएको छठ पूजाकै दिन गम्भीर बिरामी भएका उनको मृत्यु भइसकेको धेरैले लख काटे । नाडी चिसो थियो, हात खुट्टा चलेका थिएनन् । आँखा बन्द थिए । श्वास चले÷नचलेको अधिकांशले ठम्याउन सकेनन् ।
मृत्यु भएको ठानी उनको दाहसंस्कारको तयारी गर्न थालियो । घर परिवार र छिमेकीमा रुवाबासी मच्चियो । बालक मण्डलको मृत्यु भएको जानकारी पाएपछि परिवालाई समवेदना दिन र ‘मृतक’प्रति श्रद्धाञ्जलि अर्पण गर्न पुगेका वडा नम्बर–६ का वडाध्यक्ष तेजनारायण यादवले शरीर चलेको चाल पाएपछि उनलाई तत्कालै स्थानीय छिन्नमस्ता अस्पताल पु¥याए । सो अस्पतालमा ६ महिनाको निरन्तर उपचारपछि ती बालक अहिले आफंै हिंड्न सक्ने अवस्थामा पुगेका छन् ।
वडाध्यक्ष यादवले त्यसबेलाको घटना सम्झिँदै भने, ‘छठ पर्वको दिन थियो, टोलमा अजयको मृत्यु भयो भनी हल्ला चलेपछि हतार हतार उसको घर पुगेको थिएँ, त्यहाँ अन्तिम संस्कारको तयारी भइरहेको रहेछ । तर, मैले शरीर चलेको चाल पाएपछि उनलाई मेरै पहलमा अस्पतालमा लगें । दाहसंस्कारको तयारी भइरहेको अजयको शरीरमा हलचल देखिएपछि माहोल नै अर्कै बनेको थियो ।’
अस्पताल पु-याइएपछि डा. मुकुन्द देव र डा. माधव देवले उनको उपचार प्रक्रिया थालेका थिए । स्वास्थ्य परीक्षणका क्रममा जापनिज इन्सेप्mलाइटिस रोग लागेको पत्ता लाग्यो । त्यसपछि आईसीयूमा राखेर उनको उपचार थालिएको थियो ।
‘उपचारका लागि ल्याउँदा उनको स्वास्थ्य अवस्था निकै जटिल थियो, बचाउन पनि चुनौतीपूर्ण थियो, श्वासप्रश्वासमा समस्या, हात खुट्टा शिथिल तथा अचेत अवस्थामा थिए,’ उपचारमा खटिएका डा. मुकुन्द देवले भने, ‘अहिले उनी बोल्न र सामान्य हिडडुल गर्न सक्ने अवस्थामा पुगेका छन् ।’
उपचारमा खटिएका अर्का चिकित्सक डा. माधव देवले बालकको स्वास्थ्यमा ९० प्रतिशत सुधार भइसकेको बताउँदै केही दिन निगरानीमा राखेर डिस्चार्ज गर्ने तयारी भइरहेको बताए । उनले बालकको शरीरका केही भाग चलायमान बनाउन अझै उपचार तथा पोषणयुक्त खाना जरुरी रहेको बताए ।
बालक मण्डल अत्यन्तै गरीब परिवारमा जन्मिएका हुन् । मागेरै जीवन गुजार्नु उनको अभिभावकको दैनिकी हो । भीक्षा मागेर दुई सन्तानको लालनपालन गर्दै आएकी आमा नर्मदा देवी भन्छिन्, ‘अहिले छोराको अवस्थामा धेरै सुधार आएको छ । मरेको ठानेको छोरा निको हुन लागेको देख्दा निकै खुसी लागेको छ ।’
अजयका बाबु फिरंगी मण्डलको दुई वर्षअघि नै निधन भइसकेको छ । अस्पतालले परिवारको आर्थिक अवस्था कमजोर देखेर अहिलेसम्म उपचार खर्चवापत ताकेता गर्न नसकेको र मानवीय संवेदनशीलताका कारण चिकित्सक र नर्सहरूले उपचारलाई निरन्तरता दिएको अस्पतालका सञ्चालक शैलेन्द्रमोहन झाको भनाइ छ ।
अस्पतालका स्वास्थ्य समन्वयकर्ता दीपेन्द्र यादवले बालक अजयको उपचारमा अहिलेसम्म औषधिसमेत गरी १२ लाख रुपैयाँ खर्च गरिसकेको बताए । ‘औषधिको मात्रै ५ लाख नाघिसक्यो,’ उनले भने, ‘आईसीयू, भेन्टिलेटर, बेड र अन्य शुल्क जोड्दा १२ लाख रुपैयाँ पुग्छ ।’
उनले औषधिहरू महँगो भएकाले किनेर ल्याउँदा अस्पताललाई थप आर्थिक भार बढ्दै गएकाले बालकले बसोबास गरिरहेका पालिका तथा अन्य दातालाई सहयोगका लागि अनुरोध गरिएको समेत बताए ।
‘सघन उपचार कक्षमा भर्ना भएका कतिपय बिरामीका औषधि महँगा हुन्छन् । कति दिनसम्म हामीले मात्र किनिदिने त्यस्ता औषधि ?’ उनले चिन्ता व्यक्त गरे । यता वडाध्यक्ष तेजनारायण यादव अस्पतालले अहिलेसम्म गरेको सहयोग सराहनीय रहेको बताउँछन् । उनले भने, ‘१२ लाख रुपैयाँ तिर्न त सम्भव छैन, तर गाउँपालिकाबाट औषधि खर्चसम्म अस्पताल प्रशासनलाई बुझाउने गरी आवश्यक पहल थालेका छांै ।’ उनले पनि गरिब परिवारका अजयको उपचार खर्चमा सहयोग गर्न दातालाई आग्रह गरेका छन् ।






