गण्डकी प्रदेश सरकारद्वारा १५ करोड रुपैयाँको कोष स्थापना

मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालय भवन ।

पोखरा । गण्डकी प्रदेश सरकारले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि १५ करोड रुपैयाँ बराबरको कोष स्थापना गर्ने भएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले सो बराबरको कोष स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले हिजो बुधबार जानकारी दिए ।

उनका अनुसार सो कोषमा प्रदेशका मुख्मन्त्री सहित सातै जना मन्त्रीहरुले एक महिना बराबरको तलब राख्ने निर्णय भएको छ । राष्ट्रिय वाणिज्य बैंकमा सोको खाता खोलिने र निर्वाचित जनप्रतिनिधि, राष्ट्र सेवक कर्मचारी, निजी क्षेत्र तथा विभिन्न संघसंस्थालाई सो राहत कोषमा सहयोग गर्न आग्रह गरिने निर्णय गरेको छ ।

यस्तै, प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको संयोजकत्वमा पाँच सदस्यीय कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापन समितिसमेत गठन गरिएको छ । सो समिति सदस्यमा गृहमन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत, सामाजिक विकास मन्त्री नरदेवी पुन र प्रदेश सरकारका सदस्य सचिव हरिप्रसाद बस्याल छन् ।

यस्तै, सरकारले गण्डकीका ११ वटै जिल्लाका जिल्ला अस्पतालमा कोरोना रोकथामका लागि आवश्यक सामग्री खरिदका लागि थप ५ लाख रुपैयाँ पठाउने निर्णय गरेको छ । यसअघि सरकारले प्रत्येक जिल्ला अस्पतालमा ५÷५ लाख रुपैयाँ पठाइसकेको थियो ।

गण्डकी सरकारले यसअघि, पोखरा–५, मालेपाटनमा ६० बेडको क्वारेन्टाइन बनाउने निर्णय गरिसकेको छ भने लेखनाथको सामुदायिक अस्पतालालाई डेडिकेटेड अस्पतालको रुपमा विकास गर्ने भएको छ । देशभर लकडाउनको दोस्रो दिन पोखरा क्षेत्रको जनजीवन पनि ठप्प बन्यो । पहिलो दिनको तुलनामा मानिसहरुको संख्या सडकमा अत्यन्तै न्यून थियो । सुरक्षाकर्मीले सडकमा कोही सर्वसाधारण हिडेको देखे केरकार गर्ने गरेका छन् ।

सधैँ व्यस्त हुने पोखराका मुख्य बजार क्षेत्र दुई दिनयता सुनसान छन् । मुख्यचोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । पोखरामा ठूला–ठूला सपिङ मल तथा कम्प्लेक्स बन्द छन् भने फाट्टफुट्ट रुपमा मात्र किराना, चिया पसल, मेडिकल पसलहरु मात्र खोलेका छन् । सुरक्षाकर्मी, दूध बोकेका गाडी, पानीका गाडी, एम्बुलेन्स, संचारकर्मी, मानव अधिकारकर्मी लगायतका केही व्यक्तिहरु चढेको गाडीमात्र देख्न सकिन्थ्यो ।

कोरोना नभै मुटुरोगबाट मृत्यु
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल), पोखरामा उपचारक्रममा मृत्यु भएका ५० वर्षीय एक व्यक्ति मुटुरोगी भएको बताइएको छ । क्वारेन्टाइनमा बसेका र कोरोनाकै कारण उनको मृत्युको आशंका गरिएकोमा सो नभै उनी मुटुरोगी भएकै कारण ज्यान गुमाउनुपरेको रुपा गाउँपालिकाका प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार ती नागरिक १२ दिनअघि भारतको हैदरावादबाट फर्किएकोमा मंगलबारमात्र रुपामै क्वारेन्टाइनमा बसेका थिए । उनको अवस्था जटिल बनेपछि थप उपचारका लागि पोखरा ल्याइएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 379 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम