बुटवल । नेपाल पत्रकार महासंघले लुम्बिनीमा आयोजना गर्न लागेको ‘राष्ट्रिय मिडिया सम्मेलन’मा सदस्यता शुद्धीकरणलाई प्रमुख एजेन्डाका रूपमा अगाडि सारेको छ । यही १७ चैतमा लुम्बिनीमा आयोजना गरिने सम्मेलनमा सदस्यता शुद्धीकरण, सञ्चारकर्मीका समस्या र सञ्चारमाध्यममा देखिएको आर्थिक संकट तथा पत्रकारितासँग सम्बन्धित कानुनका विषयलाई प्रमुख एजेन्डाका रूपमा अगाडि सारिने बुधबार बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले बताए ।
‘महासंघमा सदस्यता शुद्धीकरणको मुद्दा सधैं उठ्ने गरेकाले सदस्यताको प्रारम्भ र अन्त्यसम्म शाखाको भूमिका हुन्छ,’ अध्यक्ष पोखरेलले भने, ‘शाखाले नै निर्णय लिनसक्ने हो भने केही न केही गर्न सकिन्छ भन्ने हाम्रो विश्वास हो ।’ सञ्चारकर्मीका समस्या र सञ्चारमाध्यममा आर्थिक संकटका सम्बन्धमा पनि कुरा उठाइने अध्यक्ष पोखरेलले बताए ।
पछिल्लो समयमा मुलुकमा आर्थिक संकट सिर्जना भएको र त्यसकारण वा अन्य कारणबाट सञ्चारकर्मीमा परेको समस्या पहिचान गरिने र समाधानका लागि पहल गरिनाका साथै सञ्चारमाध्यममा उत्पन्न आर्थिक संकट समाधानका लागि के गर्न सकिन्छ भन्ने’bout समेत खोजी गर्न लागिएको उनको भनाइ थियो ।
यसैगरी, अहिले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट सञ्चारकर्मी र सञ्चारमाध्यमसँग सम्बन्धित विधेयक तयार गर्न लागिएको र कतिपय विधेयक तयार भइसकेकाले तयार भइसकेका विधेयकमा सञ्चारकर्मीको हितविपरीतका विषय केलाउने र तयार हुनेक्रममा रहेका विधेयकलाई कसरी सञ्चारकर्मी र सञ्चारमाध्यममैत्री बनाउन सकिन्छ भन्ने विषयमा बहस गरिने अध्यक्ष पोखरेलले उल्लेख गरे ।
सो सम्मेलनमा ४० शाखाका अध्यक्ष, प्रदेश समितिका अध्यक्ष र महासचिव, केन्द्रीय समितिका पदाधिकारी तथा सल्लाहकार, सञ्चार क्षेत्रका विज्ञ, प्रतिनिधिमूलक रूपमा सञ्चारमाध्यमका लगानीकर्ता र सरकारी निकायका प्रतिनिधि गरी २ सयभन्दा बढीको सहभागिता रहने भएको छ ।
सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा प्रमुख आतिथि रहने सो सम्मेलनमा संघीय सरकारका अन्य मन्त्री तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री पनि सहभागी हुने महासचिव रोशन पुरीले जानकारी दिए ।
नेपाल पत्रकार महासंघको बिहीबार ६८औं स्थापना दिवस मनाइँदै छ । महासंघले यसपटक उपत्यकाबाहिर स्थापना दिवस मनाउने तयारी गरेको हो । स्थापना दिवसका अवसरमा परासीमा प्रभातफेरी कार्यक्रम, दिउँसो पूर्ण बैठक र साँझ गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन गरिने गरिने उनले जानकारी दिए । स्थापना दिवसकै अवसर पारेर लुम्बिनीमा ‘राष्ट्रिय मिडिया सम्मेलन’ गर्न लागिएको हो । पत्रकार सम्मेलनमा महासंघका जिल्ला शाखा अध्यक्ष रामराज पोख्रेलले सदस्यता शुद्धीकरणको अभियानमा जिल्ला शाखा महासंघसँगै रहेको बताए ।






