कपिलवस्तु । सेवाग्राहीको सुविधाका लागि कपिलवस्तुको शिवराज नगरपालिकाले सेवाप्रवाह सञ्चालन केन्द्र स्थापना गरेको छ । सेवा लिन विभिन्न शाखामा जानुपर्ने समस्या खेप्दै आएका सेवाग्राहीको काम अब कर्मचारी स्वयंले सहजीकरण एवं सम्पन्न गर्नेगरी केन्द्र सञ्चालनमा आएको हो ।
नगरपालिकाले सेवाग्राहीका लागि चिया, चिसो पानी, टिभी र वाइफाईलगायत स्तनपान कक्षसमेत सञ्चालनमा ल्याएको छ । बुधबार संयुक्त रूपमा केन्द्रको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात व्यवस्थामन्त्री जानकीप्रसाद यादवले नगरले गरेको कार्य सराहनीय रहेको बताए । उनले नगरलाई थप मजबुत बनाउन प्रदेशले सक्ने सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
यस्तै, लुम्बिनी प्रदेश सदस्य अर्जुनकुमार केसीले सेवाग्राहीले प्रत्यक्ष महसुस हुनेगरी नगरले ल्याएको योजना उल्लेखनीय रहेको बताए । उनले आगामी दिनमा सेवा अझै प्रभावकारी हुने जनाउँदै निरन्तरताको शुभकामनासमेत दिए ।
शिवराजका नगरप्रमुख अजय थापाले कपिलवस्तुमै पहिलोपटक यस्तो सेवा प्रवाह गरेको दाबी गरे । नगरप्रमुख थापाले नगरले सार्वजनिक सेवाप्रवाहलाई नियमित, मितव्ययी, कानुनसम्मत, प्रभावकारी र औचित्यपूर्ण बनाई नागरिकमैत्री स्थानीय शासन सञ्चालन गर्न यो सेवा सुरु गरिएको धारणा राखे ।
नगरप्रमुख थापाका अनुसार शिवराजको ग्रामीण तथा बजार क्षेत्रमा बसोबास गर्ने आमनागरिकले नगरपालिका आएपछि कुन कामका लागि कसलाई भेट्ने थाहा नहुने हुँदा यस केन्द्रले ठूलो सहयोग पु¥याउने बताए । सहज केन्द्र सञ्चालन भएसँगै कर्मचारी र आमनागरिकबीचको सम्बन्ध प्रगाढ हुने नगरप्रमुख थापाले विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख शिवकुमारी थारूले कामका लागि जनता कर्मचारीकामा धाउने नभई कर्मचारी नै आवश्यक परेको खण्डमा जनतासामु आएर काम गर्ने वातावरण सिर्जना गर्न केन्द्र सञ्चालनमा ल्याएको बताइन् ।
सेतो गुराँस बाल विकास सेवा कपिलवस्तु संयोजक अनिता शर्माले स्तनपान कक्ष सञ्चालन गर्न नगरसँग समन्वय गर्दा सञ्चालनमा ल्याउन सफल भएको धारणा राखिन् ।






