कस्तो थियो, कस्तो भयो कालेश्वर

२०७९ अन्त्यतिर २८ चैतमा दक्षिण ललितपुर गोटीखेल हुँदै कालेश्वर उकालो लाग्दै गर्दा प्याङगाउँबासी चरसुन्दर महर्जन ‘चनढुंगा’निर पुगेर टक्क रोकिए । उनका आँखा परतिर देखिइरहेको बडेमान ढुंगामाथि नाचिरहेका थिए ।

‘ऊ…त्यहा“ सानो विद्यालय थियो, त्यहीँबाट निर्माण सामग्री बोकेर हामी कालेश्वरसम्म पुग्थ्यौं,’ ६८ वर्षीय महर्जन अहिले मोटर गुड्ने बाटो देखाउ“दै सम्झिन थाले, ‘यस्तो बाटो कहाँ थियो र ? सानो बाटो थियो । चनढुंगाबाट सामान बोकेरै हामीले कालेश्वर मन्दिर बनायौं । अहिले सम्झि“दा नि अचम्म लागेर आउँछ ।’

त्यसो त, तत्कालीन चापागाउँ गाउँ विकास समिति अध्यक्ष महर्जन अहिले कालेश्वर महादेव क्षेत्र विकास समिति अध्यक्ष छन् । २५ सय मिटर उचाईमा अवस्थित कालेश्वरलाई यो (माथि तस्बिर हेर्नुस्) अवस्थासम्म ल्याउन उनले जीवनको आधाभन्दा बढी समय लगाए । उनलाई लाग्छ,
‘काम अझै गर्न बाँकी छ ।’ महर्जनका अनुसार मन्दिर बनाउन प्याङगाउँलेबाट सहयोग रकम संकलन गरिएको थियो ।

२०७१ तिरको घटना हो । महर्जनका अनुसार अक्षय तृतीयको दिन पारेर पुरानो मन्दिर भत्काइयो । ‘तर, मान्छे नै उडाउ“लाझैं गरी अचानक ठूलो हावाहुरी चल्यो, हामी स्तब्धजस्तै भयौं,’ उनी भन्छन्, ‘आकाश कालै भइदियो । दिउँसै अन्धकार हुन पुग्यो, तर, एकैछिनपछि मौसम सफा हुँदै आयो, त्यसदिन अचम्मै भयो, दैवीशक्ति अनुभूत ग-यौं ।’

नयाँ मन्दिर बनाउनकै लागि पुरानो भत्काउनेक्रममा ‘असोचनीय क्षण’ आइपरेको प्याङगाउँबासी अझै पनि सम्झिरहन्छन् । प्याङगाउ“बासीकै आस्था र पहलकै कारण मन्दिरले अहिले आकर्षक स्वरुप पाएको छ ।

अब लागौं किंवदन्तीतिर ।

प्राचीनकालमा ‘कालपुरुष’ नामक व्यक्तिले सकुन्दा पर्वतमा शिवलिंग स्थापना गरे । उनी घर्घरा र मसान खोलाको संगमस्थल वैतर्णी नदीको जल र चनढुंगामा चन्दन घोटेर शिवलिंगमा चढाउने गर्थे । एकदिन शंखु (अहिलेका प्याङगाउँ)बासीले गिम्दी र आश्राङको संगमस्थल देउताखोलामा लहराबाट दूध चुहिरहेको देखे । लहरा पछ्याउँदै जानेक्रममा शंखुबासीले सकुन्दा पर्वतमा शिवलिंग फेला पारे । जुन, तिनै कालपुरुषले स्थापना गरेको धार्मिक विश्वास छ । यही शिवलिंगलाई शंखुबासीले आफ्नो कुलदेवताका रूपमा पुज्न थालेका हुन् ।

कालपुरुषको घोर तपस्यापछि पौष शुक्ल मध्यरात महादेव प्रकट भए । कालपुरुषलाई तत्काल वरदान प्राप्त भयो, ‘यो मन्दिर तिम्रै नामबाट प्रख्यात हुनेछ ।’ महादेवको दर्शनपछि मूर्ति स्थापनासहित उनले घर्घरा, मसान र वैतर्णी खोलाको जल चढाउने र चनढुंगाको चन्दन घोटेर लगाउने गर्न थाले । आज उनै कालपुरुषको नामबाट ‘कालेश्वर’ प्रसिद्ध छ । प्याङगाउ“बासी अनिवार्य वर्षमा एकपटक यहाँ आएर धुमधाम
पुजा गर्ने गर्छन् ।

मासिक दुई दिन प्याङगाउँस्थित ‘आँग छें’ अर्थात् ‘देवस्थल’मा औंशी चतुर्थी बिहान र राति कालेश्वरको ‘विशेष पुजा’ हुँदै आएको छ । जहा“ गुठीयारबाहेक अन्य जान निषेध छ । चैत पूर्णिमाको दिन ललितपुर महांकाल गाउँपालिकास्थित सिसवनमा अवस्थित कालेश्वर मन्दिरमा ठुलो मेला लाग्ने गरेको छ । श्रद्धालु रातभर जागा बसेर महादेवको आराधना गर्ने परम्परा छ ।

कालेश्वरमा सतीदेवीको कण्ठ खसेको धार्मिक किम्दन्ती छ । त्यसैले कालेश्वर महादेव स्थापना श्रीस्वस्थानी व्रतकथाअघि नै भएको हुनसक्ने विश्वास गरि“दै आएको छ । महांकाल गाउ“पालिकामा सिनवनलगायत मानिखेल, चन्दनपुर, ठूला दुर्लुङ र बुखेल पर्छन् । यी गाउ“को केन्द्र हो, गोटीखेल ।

कसरी पुग्ने कालेश्वर ?
कालेश्वर मन्दिर पुग्न गोटीखेलबाट ६ किलोमिटर उकालो हि“ड्नुपर्छ । तर, अहिले मौसम सफा भएकाले मन्दिर फेदसम्मै गाडी पुग्छ । गाडीबाट थुम्कोमा रहेको मन्दिर पुग्न बढीमा २० मिनेट उकालो चढ्नुपर्छ । आउन जान झन्डै ६ घण्टा पदयात्रा गरेपछि गोटीखेल वा सिसवन ‘होमस्टे’मै बास बस्दा पनि फरक पर्दैन । नत्र, सिसवन बास बस्नेगरी भोलिपल्ट बिहानै मन्दिर दर्शन गरेर फर्कंदा झनै राम्रो हुन्छ ।

कालेश्वर देब्रेतिर अग्लो बुर्जा डाँडा छ । जहिल्यै आफूभन्दा माथि बस्ने पार्वतीको गुनासोपछि त्यो डाँडा बनाइदिएको धार्मिक कथन रहिआएको छ । कालेश्वर मन्दिरकै कारण महांकाल गाउँपालिकाअन्तर्गत सिसवन गाउँमा ‘होमस्टे’ अवधारणा विकास भएको हो । झन्डै २९ घरपरिवार रहेको सिसवन गाउँ ‘होमस्टे’को विशेषता मकैको ढिंडो र सिस्नु हो ।

तपाइको प्रतिक्रिया
(Visited 713 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ