दाङ । दाङमा श्रीमतीको हत्या गरेर मलखादमा गाडने श्रीमान्लाई प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ । घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर घोराही उपमहानगरपालिका–१२ रतनपुर निवासी ४१ वर्षका मेघराज केसीलाई सार्वजनिक गरेको हो ।
पक्राउ परेका मेघराजले गएको १ वैशाखमा १० बजे राति ४० वर्षीया श्रीमती शारदा केसीको हत्या गरेर मलखादमा गाडेर श्रीमती हराइन् भन्दै गाउँमा खोजीदिनसमेत आग्रह गरेका थिए । छिमेकी महिलाले ६ वैशाखमा कटहर टिप्ने क्रममा हत्या गरिएकी महिलाको पैताला देखेपछि घटना बाहिर आएको थियो ।
आरोपीले पहिला चिर्पट हानेर ढालेपछि सलले घाँटी कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिए ।
मृतककी एउटी छोरीको बिहे भइसकेको छ । कान्छी छोरी र छोरा मामाघर गएका थिए त्यही बीचमा घटना घटेको डीएसपी गौतमले बताए । श्रीमान् श्रीमतीबीच एकअर्कालाई अनावश्यक शंका गर्दा घटना हुन पुगेको प्रहरीको अनुमान छ ।






