सप्तरी । उपचारमा लागेको खर्चको रकम तिर्न नसकेपछि विराटनगरस्थित न्युरो अस्पतालले चार दिनदेखि ‘बन्धक’ बनाएर राखेको दलित अगुवा ३८ वर्षीय वीरेन्द सदाको शव शुक्रबार आफन्तले घर ल्याएर परम्पराअनुसार अन्त्येष्टि गरेका छन् ।
सिरहाको मिर्चैया नगरपालिका–५ का सदा अति विपन्न परिवारका हुन् । उनलाई ब्रेन ह्यामरेज भएपछि परिवारका सदस्यले उपचारका लागि २८ चैतमा विराटनगरको न्युरो अस्पतालमा पु-याएका थिए । २० दिनपछि उपचारकै क्रममा १९ वैशाखमा उनको मृत्यु भएको थियो ।
उपचारका क्रममा लागेको सम्पूर्ण रकम तिरेपछि मात्रै शव लैजान पाउने भन्दै अस्पतालले शव नदिएपछि सदा परिवार रकमको जोहो गर्न लागेका थिए । सुरुमा स्थानीय साहुसँग कागज गरेर २ लाख जुटाएर औषधि पसल र अस्पताललाई बुझाएको मृतककी पन्ती मालतीले बताइन् । आईसीयूमा राखेर लामो समय उपचार गर्दा अस्पतालको थप ३ लाख ३५ हजार तथा औषधि पसलको २ लाख ६५ हजार रुपैयाँ तिर्नुपर्ने भएको मृतकका भतिजा आशिषले सुनाए ।
ऋण खोजेको रकमले नपुगेपछि चन्दा संकलन गरेर बाँकी रकम जुटाइएको थियो । शुक्रबार अस्पताल र औषधी पसलको बक्यौता रकम बुझाएर बुबाको शव घर ल्याएको छोरा अंकितले बताए । अस्पतालबाट शव निकाल्न चन्दा अभियान सुरु गरेका पँचु माझीले शुक्रबार दिउँसोसम्म विभिन्न दाताबाट २ लाख २० हजार रुँपैयाँ सहयोगबापत प्राप्त भएको जानकारी दिए ।
अस्पताल प्रशासनका अधिकृत मातृका पोखरेलले सदा परिवारले औषधिबाहेक उपचार खर्चबापत थप ३ लाख ३५ हजार बुझाउन बाँकी रहेकामा सम्भव भएजति छुट गरेर आफन्तलाई शव बुझाइएको जानकारी दिए । उनले सदाको शव बन्धक नराखिएको दाबी गरे । औषधि र उपचार खर्च जुटाउन समाजसेवी दलित अगुवा पचु माझी मुसहरले समाजिक सञ्जालमार्फत अभियान चलाएको र त्यसपछि सहयोगी हात थपिँदै गएको अंकितले सुनाए । सदाको शुक्रबार नै अन्त्येष्टि गरिएको परिवारजनले जनाएको छ ।
समाजिक क्षेत्रमा सक्रिय रहेका सदा नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय सदस्यसमेत हुन् । शव ल्याउन परिवारजनले चन्दा सहयोग संकलन अभियान मात्र थालेनन् । उनले श्रीमान् गुमाएको पीडासँगै ऋणको अर्काे भार थपिएको व्यथा सुनाइन् ।