साहित्यकार हरि खनालको ऐतिहासिक कथा संग्रह ‘पाइलाहरू’बजारमा आएको छ । विभिन्न व्यक्तिबाट विभिन्न कालखण्डमा घटित राष्ट्रिय महत्वका घटना र कामलाई पाइलाका रूपमा चित्रित गर्दै ‘पाइलाहरू’ नाम दिएको देखिन्छ । संग्रहमा विभिन्न समयका ऐतिहासिक घटनामा आधारित २६ कथा छन् ।
अधिकांश कथा संग्रहका विषयवस्तु सामाजिक भएता पनि पात्रहरू काल्पनिक हुन्छन् । तर यो संग्रहमा प्रस्तुत अधिकांश घटना र पात्र सत्यतामा आधारित छन् । यसमा प्रस्तुत प्रमुख पात्रहरूले तात्कालीन समय र परिवेशमा सकारात्मक वा नकारात्मक जे भए पनि कुनै न कुनै उल्लेखनीय काम गरेका छन् । तीमध्ये धेरैको योगदान समयको पर्दाभित्र हराउ“दै गएका थिए भने केहीको कामलाई कतैकतै धेरथोर उल्लेख भएको पाउछौं ।
कतिपय पात्रबाट देश र समाजका लागि गरेको उदाहरणीय योगदानको तात्कालीन शासक र समाजले सम्मान गर्नुको सट्टा तिनको अपमान र दुखान्त रूपमा जीवन समाप्त पारिएको घटना पढ्दा पाठकको मन र मुटु नराम्रोस“ग अमिलिएर आउँछ । लिच्छविकालीन शासक वरदेवदेखि राजा त्रिभुवनको शासनकालसम्मका घटना र पात्र’bout लेखिएको यस खोजमुलक कृतिका एकाधबाहेक सबै कथा दरबार, सत्ता र शक्तिकै सेरोफेरोमा घुमेका पाइन्छन् । तर विषयवस्तुको हिसाबले भने हरेक कथामा विविधता र फरक स्वाद पाइन्छ । संग्रहका कथाहरूलाई तिनले समेटेका विषयवस्तुका आधारमा विभिन्न समूहमा वर्गीकरण गर्न सकिन्छ ।
संग्रहमा प्रस्तुत २६ मध्ये ६ कथा तात्कालीन शासकहरूको सत्ता षड्यन्त्रमा आधारित छन्, जसमा ‘विश्वासघात’, ‘स्वाभिमानको मृत्यु’, ‘लाशलाई लात्ती’, ‘जोशमनी मठ’, ‘मसानमा रणोद्दीप’ र ‘सेतो दरवार’ पर्दछन् । ‘वीरता र वलिदान’, ‘योगमती’, ‘मृत्युदण्ड’,
‘खलंगाको गर्जन’, ‘गंगालाल र मैना’लाई देशभक्ति र वीरतामा आधारित कथाका रूपमा लिन सकिन्छ ।
तर ‘श्राप’, ‘बहादुरको अन्त्य’, ‘लुमडीमा काली, ‘वेत्रावतीर टिष्टा’समेत तीन कथामा भने एकाथरी पात्रको देशभक्ति र वीरताको वर्णन छ भने समानान्तर रूपमा अर्काथरी पात्रको सत्ता षड्यन्त्रको चरम दुरुपयोग पनि वर्णित छ । संग्रहमा त्याग र कर्तव्यमा आधारित ७ कथा छन् । यस समूहमा ‘आमा गुरुआमा’, ‘मितबा’, ‘आगो निभेपछि’, ‘पुतली’, ‘दादावीर सिंह’, ‘शिक्षाप्रेम’ र ‘ह्याप्पी कटेज’ पर्दछन् ।
यी कथामा वर्णित मुख्य पात्रहरूले व्यक्तिगत र पारिवारिक स्वार्थलाई तिलाञ्जली दिएर आफ्नो कर्तव्यलाई सर्वोपरी मान्दै उदाहरणीय हिसाबले पदीय र मानवीय भूमिका निर्वाह गरेका छन् । ‘प्रेम पागल सम्राट’ तथा ‘अश्रु चुम्बन’ शीर्षकका दुई कथामा भने अन्धोप्रेमको ज्वलन्त उदाहरण प्रस्तुत छ । बाँकी दुई कथा ‘मनका बाघहरू’ र ‘बेलुने पण्डित’ तात्कालीन शासकले समकालीन राष्ट्रिय प्रतिभाको सम्मान गर्नुको साटो तिरस्कार र अवमूल्यन गरिएको तीतो सत्यमा आधारित छन् ।
कथा पढ्दै जाँदा कहिले वीररसले पाठकको रगत उम्लेर आउँछ भने कहिले करुणाले मन र मस्तिष्क भरिएर नयन अनायास अश्रुपूर्ण हुन्छन् । कुनै कथामा निःस्वार्थ प्रेमको अनुपम उदाहरण भेटिन्छन् भने कुनैमा षड्यन्त्रपूर्वक निर्दोष मानिसको संहार गरिएका विभत्स घटनाले पाठकको मन आतंकित बनाउँछ । समष्टिमा यो एउटै कथा संग्रहमा साहित्यमा पाइने सबै नवरस धेरथोर आस्वादन गर्न पाइन्छ ।
मिठा–नमिठा विविध घटना, पात्र र विषयवस्तुलाई लिएर यति आकर्षक र पठनीय कथा लेख्ने लेखकीय शैली विशिष्ट र प्रशंसनीय छ । त्यस्ता घटना वर्णनमा प्रसंग, सन्दर्भ र परिवेशअनुसार भावना, कल्पना, दर्शन, विम्व, प्रतीक, प्रकृति र आदर्श वाक्यको समुचित प्रयोगले कथाको प्रस्तुतिमा सुनमा सुगन्ध थपेको पाइन्छ ।
पूर्वीय साहित्यका विद्वान्हरूले गद्य साहित्य लेखनलाई कवि÷लेखकको परीक्षाका रूपमा लि“दै ‘गद्यम् कवीनाम् निकषम् वदन्ति’ भनेको पाइन्छ । त्यसमाथि ऐतिहासिक सामग्री लेखनको लागि लामो समयको तथ्यपरक खोज र धैर्यपूर्ण अनुसन्धान आवश्यक पर्दछ भने कथा लेखनका लागि उपयुक्त विषयवस्तु, पात्र, घटना र संवादको उपयुक्त संयोजन आवश्यक पर्दछ । त्यसका अतिरिक्त कथाकारले उपयुक्त भावना र परिकल्पनालाई कथावस्तुमा आवश्यकताअनुसार जोडेर कथालाई जीवन्त बनाउनु पर्दछ । ती सबै गुण, विशेषता, साधना र लेखन कौशलको संयोजन यो कथा संग्रहमा पाइन्छ ।
कुशल चित्रकारले विविध रंगको सन्तुलित संयोजन गरेर सुन्दर चित्र बनाएझैं कथाकार हरि खनालले संग्रहमा इतिहासका विभिन्न कालखण्डमा लुप्तप्रायः हुन पुगेका राष्ट्रिय महत्वका विविध पात्र र घटना उजागर गर्दै आकर्षक शैलीमा प्रस्तुत गरेका छन् ।
मुद्रा राक्षसका कारण कतैकतै पदावलीको क्रमभंगताजस्ता सानातिना त्रुटिहरू पाइनुबाहेक पुस्तकमा खोट लगाउने कुनै ठाउँ भेटिन्न । त्यसैले यो कथा संग्रह पढ्न बसेपछि नसकिएसम्म छोड्नै मन लाग्दैन । बरु, एकपटक पढेपछि पनि पाठकको मनमा फेरि पढूँपढूँ लाग्ने बनाउनु यसको आकर्षक पक्ष हो ।
नीलकण्ठ–९ धादिङ स्थायी ठेगाना भएका लेखक खनाल नेपाली साहित्यमा नया“ नाम होइन । नेपाल सरकारको प्रशासकका रूपमा कार्यरत उनका अधिकांश कृति बाल साहित्य केन्द्रित छन् तापनि अन्य विधामा पनि उनको उत्तिकै लेखन दक्षता पाइन्छ । उनका हालसम्म बालकथा संग्रह, बाल नाटक संग्रह, बाल कविता संग्रह, बाल उपन्यास, कथा संग्रह, उपन्यास, व्यंग्य निबन्ध संग्रह, कविता संग्रह तथा संकलित र पुनर्लिखित पौराणिक कृतिलगायत तीन दर्जनभन्दा बढी कृति प्रकाशन भइसकेका छन् । दर्जनौं फुटकर रचना विभिन्न पत्रपत्रिकामा प्रकाशन भइरहेका हुन्छन् ।
उनका कृति संख्यामा मात्र धेरै नभएर त्यत्तिकै घनत्वपूर्ण पनि छन् भन्ने यस कथा अध्ययनबाट पनि पुष्टि हुन्छ । श्रीमद्भगवद् गीतामा वर्णित ‘कर्मण्येवाधिकारास्ते मा फलेषु कदा च न’ सिद्धान्तलाई विचार र व्यवहारमा अवलम्वन गर्ने लेखक खनालबाट विगत दुई दशकको अवधिमा तीन दर्जनभन्दा बढी पुस्तक लेखन र प्रकाशन गर्दा विज्ञापनको बाजा र विमोचनको तामझामतिर कहिल्यै पनि मन गएको देखिएन । सरकारी सेवाबाट बचेको बिहान बेलुकाको समय सदुपयोग गरेर साहित्य साधनामा एकाग्रतापूर्वक निरन्तर तल्लीन रहनु उनको विशेषता हो ।






