काठमाडौं । सनुर्भी इन्टरनेसनल प्रालिको आयोजमा सम्पन्न ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२३’को उपाधि क्रमशः शिशिर वाग्ले र समा पराजुलीले जितेका छन् । काठमाडौंमा बुधबार बेलुकी भएको प्रतियोगितामा ‘मिस ग्लोब नेपाल २०२३’ रोशनी चन्द र ‘मिस्टर इन्टरनेसनल नेपाल २०२३’ प्रज्वल ताम्राकार घोषित भए । यीमध्ये’ मिस्टर एन्ड मिस नेसनल नेपाल’का विजेताले ’मिस्टर एन्ड मिस सुप्रानेसनल’ मा नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन् भने अन्यले सोही शीर्षकअन्तर्गतको अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२३’तर्फ उपविजेता साइरस विश्वकर्मा र सरोजी न्यौपाने, दोस्रो मिलन भट्टराई र सम्पदा घिमिरे र तेस्रो अंकित कातिला र सुम्निमा खापुङ लिम्बू घोषणा भए ।
समरोहमा युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन शुभकामना आग्रह गर्दै प्रतियोगीलाई शुभकामना दिए । ‘प्रतियोगिताका विजयीले आफूलाई अन्तर्राष्ट्रिय स्टेजमा अब्बल साबित गर्न सक्नुहोस् शुभकामना छ । तपाईंहरूसँग हामी छौं । देश चिनाउने अभिनयमा अगाडि बढ्न आग्रह गर्छु,’ मन्त्री लिम्बूले भने । उनले बजेटको विषयमा भइरहेको छलफलबाट समय निकालेर युवाको गतिविधिमा सहकार्य गर्न र प्रोत्साहन गर्न कार्यक्रममा आएको बताउँदै आफ्नो मन्त्रालयलाई खेलकुदमा मात्र जोडेर नबुझ्न आग्रह गरे ।
‘मिस्टर सुप्रानेसनल २०१८’का विजेता प्रथमेश मौलिंगकारले सहभागी सम्पूर्णको भविष्य उज्वल देखेको बताए । ‘म एक सातादेखि नेपालमा छु । प्रतियोगीको लगनशीलता र मेहनत देखेर म प्रभावित भएको छु । नेपालमा यसको सुरुवात गरेर प्रतियोगीलाई अन्तर्राष्ट्रिय यात्रा गराउने आयोजकलाई धन्यवाद,’ मौलिंगकारले भने ।
कार्यक्रम आयोजक डाक्टर सन्तोष उपाध्यायले आफैं ‘मिस्टर सुप्रानेसनल’मा सहभागी भएकाले युवाका लागि मञ्चको निर्माण गर्नुपर्छ भन्ने लागेर प्रतियोगिताको सुरुवात गरेको जानकारी दिए । ‘म विदेशमा पुगेर तेस्रो उपविजेता बन्न सक्छु भने मभन्दा ट्यालेन्ट नेपाली धेरै छन् । उनीहरूको प्रतिभालाई स्टेजसम्म ल्याउने कोसिस गरेको हुँ । मेरो उद्देश्य अन्तर्राष्ट्रिय मञ्चमा नेपाली पु¥याउने र जिताउने हो,’ डा. उपाध्यायले भने । सोको कोच तथा कोरियोग्राफर प्रशान्त ताम्राकार थिए ।
प्रतियोगितामा काठमाडौंसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनोट भएका १ सय ७० बाट छानिएका ३६ र त्यसबाट छानिएका २१ जना प्रतियोगीले अन्तिम प्रस्तिस्पर्धा गरेका थिएँ । त्यसबाट छानिएका अन्तिम सातबाट विजेता चयन भएका हुन् ।






