‘यो मन्दिर कुन देउताको हो बा ?’
ललितपुर चापागाउँ क्वे गणेशको सतलमा बसिरहेका स्थानीय ज्येष्ठ नागरिकसँग शुक्रबार बिहान सोधियो । मन्दिरतिर हेरेर एकैछिनपछि उनले जवाफ दिए, ‘देउतै छैन, के भन्ने ? उहिल्यै चोरी भइसक्यो । अहिले भित्र स–साना मूर्तिमात्रै छन् ।’
मन्दिरभित्र मूर्ति छैन । ढोका बन्द छ । स्थानीय प्रत्येक बिहान बाहिरैबाट पूजा–आराधना गरेर फर्कन्छन् ।
हुन त, मन्दिर स्वयं पनि जीर्ण भइसक्यो । त्यसो त, जीर्णोद्वार वा पुनर्निर्माण पर्खाइमा छन्, चापागाउ“का अधिकांश मठ–मन्दिर र फल्चा (पाटी) । लिच्छविकालीन बस्ती मानिने चापागाउँका सम्पदा जीर्ण शरीर लिएर मौन हाँसिरहेझैं लाग्छन् ।
प्राचीन वस्ती ‘चम्पापुर’ (चापागाउँ)मा अस्तित्वमा रहेका सम्पदासँग स्थानीय रहनसहन, कला, संस्कृति र परम्पराको प्रत्यक्ष सम्बन्ध रहिआएको पाइन्छ । तर, अहिले यिनै सम्पदा जीर्णप्रायः छन् ।
लिच्छविकालीन वस्तीले मल्लकालमा कला, संस्कृति र सम्पदा अझ बढी संरक्षित भएको इतिहास बताउँछ ।











