अघिल्लो दिन दैलेखबाट हामी बुटवल बास बस्न पुगेका थियौं । भोलिपल्ट बुटवलबाट उकालो लाग्दा बिहानको ८ बजिसकेको थियो । पाल्पा तानसेन र स्याङ्जा हु“दै पोखरातिर लाग्यौं । पाल्पा र स्याङ्जाबीच कालीगण्डकी हिउँको चिसो बोकेर हिँडिरहयौं । बाटैमा भालुपहाड पर्छ । त्यसनजिकै लामो झोलुंगे पुल छ । पारि पुगेपछि मानव निर्मित पार्क र भालुको कलात्मक शालिक छ ।
पोखरा पुग्दा दिउ“सोको १ बज्यो । पोखराको सौन्दर्यमा हराउँदै हामी साँझको ६ बजे मुस्ताङ यात्राका लागि उकालो लाग्यौं । पर्वत, बाग्लुङ बजार हुँदै म्याग्दीको बेनी बजारमा राति ९ बजे बास बस्न पुग्यौं । भोलिपल्ट बिहान साढे ८ बजे तातोपानी, दाना, रुप्से, घाँसा, लेते, छारताङ, ताङसरा, तार्जुङ, खन्ति, टुकुचे, मार्फा, जोमसोम हुँदै मुक्तिनाथ प्रस्थान ग¥यौं । कालीगण्डकी तलतिर ठूल्ठुला पहाड र चट्टानबीच सेती नदीझैं गहिरिएर साँघुरोस“ग बहे पनि मुस्ताङ सिमाना प्रारम्भ भएदेखि केही माथिबाट तराई जसरी ठूलो फाँटमा बालुवा र मसिना ढुंगाबीच हराएर कलकल गर्दै बगिरहेको देखिन्छ । कालीगण्डकीले बनाएको विशाल फाँट अत्यन्त सुन्दर लाग्छ । वारिपारि विशाल बालुवा र ढुंगा माटोका पहाड बुट्टा भरेझंै कलात्मक देखिन्छन् ।
मुक्तिनाथ बजार माथि मन्दिर परिसरसम्म पुग्न हिँड्न नसक्ने तथा अशक्त व्यक्ति कोही घोडामा त कोही मान्छेद्वारा स्टे«चरमा बोकाएर गइरहेका थिए । केही मानिसका अक्सिजन नपुगेर निला भएका ओठ प्रस्टै देखिन्थे । उनीहरू उकालोमा हिँड्दा सिढीमा विश्राम लि“दै हि“डिरहेका थिए । हामी विस्तारै हि“डेर मन्दिर परिसरमा पुगेको एकै छिनपछि फुर्रफुर्र हिउँ पर्न थाल्यो ।
मुक्तिनाथ बजारबाट कागबेनी झर्दा साँझको ६ बजिसकेको थियो । माथिल्लो मुस्ताङ लोमान्थाङ हुँदै हामी चिनको सिमा कोरला नाकासम्म पुग्न चाहन्थ्यौं । सवारी चालकलगायत हामी अपर मुस्ताङका लागि नयाँ थियौं । कागबेनीमा सवारी चालकस“ग अगाडिको बाटो र स्थान’bout जानकारी लिएर हामी अगाडि बढयौं । कालीगण्डकी तिरैतिर पक्की पुल तरेर बायाँतर्फ उकालो लागेपछि मुस्ताङको भूगोल’bout थप जानकारी हुने रहेछ । जताततै बालुवाको थुप्रो र ढुंगा माटो कम देखिने भिमकाय पहाड, तिनै पहाडमा प्रकृतिले कोरिदिएका कलात्मक बुट्टा र आकृति अलि माथि सेतो तन्ना ओढेर लमतन्न सुतिरहेका अग्ला हिमशृंखला देख्दा ‘धर्ती स्वर्ग यही नै हो’जस्तो लाग्छ ।
कागबेनीबाट हिँडेको दुई घण्टामा ‘समर’ भन्ने ठाउँमा बास बस्न पुग्यौं । त्यसदिन त्यहाँ विद्युत् थिएन । होटेल साहुनी भन्दै थिइन्, ‘हिजोसम्म बिजुली थियो, आज छैन । बत्ती बाल्न सोलरमात्रै छ ।’ दुई विदेशी महिला पर्यटक र एक पुरुष नेपाली गाइड फलामको चुल्होमा आगो तापेर बसिरहेका थिए । ती जर्मन पर्यटक जोमसोमबाट ट्रेकिङ गरेर छैटौं दिन आइपुगेका रहेछन । उनीहरू हिँडेरै लोमान्थाङ जाँदै थिए । भोलि हामी नयाँ र रमणीय स्थान अपर मुस्ताङ लोमान्थाङ अनि नेपाल चिन सिमा कोरलानाकासम्म जाँदै थियौं । उच्च स्थानमा लेक लागेर हो वा के कारण हो ? मलाई राति खासै निन्द्रा परेन । बेलाबेला व्युँझिरहें । मेरो मुटुको चाल बढिरहेको थियो । हल्का टाउको पनि दुःखिरहेको थियो ।
एक किसिमले भन्नुपर्दा ननिदाई उज्यालो भयो । घडी हेरें, बिहानको ५ बजेको थियो । झ्यालको पर्दा उघारें । बायाँतर्फ नवदुलही मुस्कुराएझैं हिमाल मुस्कुराइरहेको थियो । दायाँतर्फ नवदुलाहा मुस्कुराएझैं अर्को हिमाल । त्यो ठाउँ गगनचुम्बी हिमालको काखमा शान्त र सौम्य थियो । रातैभर विद्युत् आएन । मोबाइल र क्यामरा चार्ज थिएन । होटेलबाहिर सानो जेनेरेटर छोपेर राखिएको थियो । मैले ‘त्यो जेनेरेटर स्टार्ट गरेर चार्ज गरिदिनु न’ भनेर होटेल साहुनीस“ग अनुरोध गरें । उनले आफूलाई ‘जेनेरेटर स्टार्ट गर्न नआउने र साहुजी बाहिर गएको’ सुनाइन् । मैले ‘हामी स्टार्ट गरेर एकछिन चार्ज गर्छौं’ भनें । उनी सहमत भइन् । लामो प्रयासपछि जेनेरेटर स्टार्ट भयो । हाम्रा क्यामरा र मोबाइल चार्ज भए । विदेशी पर्यटक वाल्ल परेर हेरिरहेका थिए ।
भोलिपल्ट बिहान पौने ८ बजे यात्रा सुरु भयो । बाटोमा वारिपारि जताततै हिमाल, तल मरुभूमिजस्तो बालुवा र माटोका ढिस्का अनि कलात्मक पहाडका थुम्का थिए । भनिन्छ, हजारौं वर्षअघि अहिलेको हिमालय पर्वतशृंखला टेथिस सागरभित्र थियो । पृथ्वी उथलपुथलका कारण त्यो भूभाग उठन गयो र हिमालय बन्यो । हुन पनि त्यहाँ जताततै खोलाको बगरजस्तै खिइएका गोला ढुंगा र बालुवाका थुप्रा देखिन्थे । ठूलाठूला माटोका थुम्का हिउँले चिरेर कलात्मक बुट्टा भरेझैं देखिएका थिए । कतै मन्दिरका टुण्डालजस्ता त कतै मन्दिर र गुम्बाजस्ता आकृति ।
समरबाट गाडीमा हिँडेको दुई घण्टामा अपर मुस्ताङको लोमान्थाङ पुग्यौं । जहाँ प्राचीन शैलीका हिमाली बजार र संस्कृति पाइन्छ । यहाँ अन्तिम मुस्ताङी राजा जिग्मे प्रवल विष्टको दरबार, केही गुम्बा, सांस्कृतिक संग्रहालयलगायत छन् । गुम्बाभित्र बुद्धका विशाल मूर्ति छन् ।
काठ प्रयोग गरेर बनाइएका कलात्मक गुम्बामाथि ध्वजापताका फर्फराइरहेका देखिन्थे । ८ सय वर्ष पुरानो स्थान, झोङ गुफा परम्परागत शैलीका घर ,पन्ध्रौं शताब्दीका नामग्याल गुम्बा, ऐनी गुम्बा हेर्न लायक प्राचीन स्थान हुन् ।
लोमान्थाङबाट दिउँसो १२ बजे कोरला नाकातर्फ प्रस्थान ग¥यौं । बाटोमा रोकिँदै फोटो खिच्दै अगाडि बढ्यौं । चिनतर्फको भूभागमा जान र फोटो खिच्न निषेध गरिएको छ । लेकमा गाडीको गतिसमेत कम हुने रहेछ । दिउँसो २ बजेमात्र हामी कोरला नाका पुग्यौं । हिमालको काखमा फाँटैफाँट परेको समथर भूभाग रहेछ । चिनियाँ भूभागतिर ठूलाठूला भवन छन् । नेपालको भूभागमा भने २४ नम्बर लेखिएको एउटा सिमेन्टको पिल्लर छ । हामी त्यहाँसम्म मात्र पुग्यौं । हिमालमा हावा धेरै चल्ने
रहेछ । त्यहाँ धेरैबेर बस्न सकेनौं । चिसो हावा निरन्तर चलिरहेको थियो । एकछिन फोटो खिचेर लारजुङ बास बस्न आइपुग्यौं र भोलिपल्ट बिहानै पोखरा हुँदै फर्कियौं ।






