काभ्रे । बालबालिकाको समग्र विकासका लागि अभिभावक, शिक्षक तथा विद्यालयको भूमिका विषयमा धुलिखेलमा पुष्पाज्जली किन्डरगार्टेन तथा तालिम सेन्टरले एकदिने कार्यशाला आयोजना गरेको छ । सो कार्यशालामा काभ्रेका बनेपा, धुलिखेल, पनौतीलगायत भक्तपुर र ललितपुरका स्कुलका प्रिन्सिपल, शिक्षक तथा अभिभावकको सहभागिता रहेको सेन्टरकी प्रिन्सिपल रोजिना केसीले बताइन् ।
बालबालिकासँग सकारात्मक रूपमा कसरी सञ्चार गर्ने, अभिभावक र शिक्षकबीचको सम्बन्धले बालबालिकाको विकासमा कस्तो भूमिका रहन्छ लगायतका विषयमा कार्यशाला प्रभावकारी भएको सेन्टरका प्रबन्ध सञ्चालक जयराम बञ्जाराले बताए । बालबालिकाको भावनात्मक विकासमा कार्यशालाले ठूलो सहयोग पुग्ने अभिभावकले महसुस गरेका थिए । कार्यशालाको सहजीकरण सञ्चारकर्मी तथा एनएलपी कोच रामसूदन तिमल्सिनाले गरेका थिए ।
बालबालिकाको शारीरिक, भावनात्मक, सामाजिक, आध्यात्मिक र बौद्धिक विकासलाई प्रोत्साहन गर्न केन्द्रले अभिभावक तथा शिक्षकसँगै राखेर गरिने कार्यशालालाई निरन्तरता दिनुपर्ने उनले बताए ।
कार्यक्रममा किडजोन मन्टेश्वरी, समुन्नत पाठशाला, काठमाडौं विश्वविद्यालय हाइस्कुल, काभ्रे इग्लिस सेकेन्डरी स्कुल, सेमराक निस्ट, सिद्धार्थ वनस्थली, डिस्कभर मन्टेश्वरी, एसओएस चिल्डेन भिलेजन, बनेपा हिकारी किन्डरगार्डेन, नवरत्न स्कुल, विकटेश्वर फोरगिङ द फ्युचर एकेडेमी, सरस्वतीकुञ्ज बोडिङ स्कुल, ओए टु विजडम मन्टेश्वरी, बाटिका दि गार्डेन, विद्यासागर इग्लिस सेकेन्डरी स्कुल, न्यु राइजिङ इग्लिस सेकेन्डरी स्कुल, शिक्षा दर्पण प्रिस्कुलका शिक्षकको सहभागिता रहेको थियो ।






