सरुवाविरुद्ध शिक्षक आन्दोलनमा

वीरगन्ज । मध्यतराईको ४० डिग्रीभन्दा बढीको तापक्रम छ । जहाँ पर्साका सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी खलखली पसिना बगाउँदै वीरगन्ज महानगरपालिकाको मूलगेट अघि खुला आकाशमुनि ५ घण्टा बिताए ।

वीरगन्ज महानगरपालिकालगायत पर्साका केही पालिकाले शिक्षक कर्मचारीको सरुवा गर्ने भएपछि तातो घामको पर्वाह नगरी नेपाल शिक्षक महासंघको अगुवाइमा धर्नामा बसेका हुन् ।

महासंघको पूर्वघोषित कार्यक्रमअनुसार सोमबारबाट उनीहरू वीरगन्ज महानगरको मूलगेटमा मध्याह्न १ बजेदेखि ५ बजेसम्म धर्नामा बसे । शिक्षक महासंघले शिक्षा ऐन (संशोधन सहित) २०२८ र शिक्षा नियमावली (संशोधनसहित) २०५९ हालसम्म जीवित रहेकै बखत शिक्षकको किताबखानामा रेकर्डसमेत दर्ज नहुनेगरी मनोपोली ढंगले पालिकाले शिक्षक सरुवा र घटुवा गरेको आरोप लगाएको छ । ‘हामी जुन विद्यालयमा पनि गएर पढाउने नै हो । तर, युक्तिसंगत तवरले सरुवा हुनुपर्छ भन्ने मात्र हाम्रो माग हो,’ आन्दोलनमा सहभागी एक शिक्षकले भने ।

पर्साका केही स्थानीय सरकार प्रमुख र शैक्षिक प्रशासन महाशाखा तथा शाखाको मनोमानी ढंगले सामुदायिक विद्यालयका शिक्षकको लगत राख्ने किताबखानामा रेकर्ड दर्ज नहुनेगरी मात्र कार्य सम्पादन नहोस् भन्ने माग रहेको नेपाल शिक्षक महासंघका अध्यक्ष तीर्थराज यादवले बताए ।

वीरगन्ज महानगरपालिकाका महानगर प्रमुख राजेशमान सिंहले भने आफूहरूले स्थानीय स्वायत्त शासन ऐनअनुसार शिक्षकको हेरफेर गर्न थालेको दाबी गरे । महानगरले आफ्नो वैधानिक तवरले कदम चालेकाले यस विषयमा जस्तोसुकै आन्दोलन भए पनि आफू कसैसँग कुरा गर्ने पक्षमा नै नरहेको उनले दाबी गरे ।

‘वर्षौं एउटै विद्यालयमा बसेर विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने शिक्षकलाई अब छुट हुन्न,’ प्रमुख सिंहले भने । वीरगन्ज महानगरपालिकाले अहिले माविका १३ र निमाविका १७ गरी ३० जना प्रधानाध्यापक तथा शिक्षकको सरुवा गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

epaper

ताजा समाचार

एनपीएल: लुम्बिनी प्लेअफमा पुग्ने पहिलो टोली